
धनकुटाको साँगुरीगढी गाउँपालिका– ६, भेडेटारबाट सुनचाँदीका गरगहना र नगदसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। मोटरसाइकलमा धनकुटाबाट धरानतर्फ जाँदै गरेका मोरङ जिल्ला लेटाङ नगरपालिका– ८, जाँतेका ३० वर्षीय मनोज विश्वकर्मा र १९ वर्षीय धीरज विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले बताए ।
गएराति धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्र.१–०२–०५४ प २१६५ नम्बरको मोटरसाइकलमा रहेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्ने क्रममा बिलबिजक नभएको सुनचाँदीका गरगहना र नगद फेला पारिएको प्रहरीले बताएको छ ।
पक्राउ परेकाहरूको साथबाट पाँच लाख ४१ हजार मूल्यभन्दा बढीको चाँदीको गरगहना (३१४९.१३) ग्राम, दुई लाख आठ हजार ६ सयभन्दा बढीको सुन (१२.७१) ग्राम बरामद गरेको प्रहरीले जनाएको छ। उक्त गरगहना सुनचाँदी व्यवसायी महासंघसँगको समन्वयमा तौल गरिएको थियो भने नगद ८५ हजार पाँच सय रुपैयाँ बरामद गरिएको डिएसपी खनालले बताए ।
प्रहरीले बरामद गरेको सुनचाँदीका गरगहना र नगदसहित आवश्यक कारबाहीका लागि आज बिहान राजस्व अनुसन्धान कार्यालय इहटरीलाई जिम्मा लगाएको प्रहरीले बताएको छ।