Skip This
अस्ट्रेलियामा एन्थोनी अल्बानिजको ‘कम ब्याक’को अर्थ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
हिलारी ह्वाइटम्यान/अंगुस वाटसन
Invalid date format o९:३५:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अस्ट्रेलियामा एन्थोनी अल्बानिजको ‘कम ब्याक’को अर्थ

Read Time : > 3 मिनेट
हिलारी ह्वाइटम्यान/अंगुस वाटसन
नयाँ पत्रिका
Invalid date format o९:३५:oo
  • व्यापार उथलपुथलपछि अस्थिरताको समयमा प्रधानमन्त्री एन्थोनी अल्बानिज देशमा स्थिरता कायम गर्न सफल भए । अस्ट्रेलियामा कर वृद्धि गर्ने ट्रम्पको निर्णयविरुद्ध उनी दृढ रूपमा उभिए ।

स्ट्रेलियालीले गत साता एउटा आश्चर्यजनक चुनावी नतिजा दिए । यो प्रधानमन्त्री एन्थोनी अल्बानिज र उनको मध्य–वामपन्थी लेबर पार्टीका लागि बलियो सुधारको संकेत हो, जुन यस वर्षको सुरुमा कमजोर हुँदै गएको थियो । पछिल्लो समयमा लेबरले जटिलताको सामना गरेको थियो, जसरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सुरुवातमा क्यानडका रुढिवादीले यस्तै जटिलता सामना गरेका थिए ।

प्रस्तुत छ, अल्बानिज जितका पाँच आधार :

ट्रम्प फ्याक्टर
विपक्षी गठबन्धनका नेता पिटर डटनलाई एन्थोनी अल्बानिजको लेबर पार्टीले पराजित गर्नुमा ट्रम्प फ्याक्टरले पनि भूमिका खेलेको छ  । महत्वपूर्ण राजनीतिक पुनरुत्थानमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको लिबरल पार्टी अफ क्यानडाले पियरे पोइलिभ्रेको कन्जर्भेटिभलाई पराजित गरेपछि चर्को शुल्क र छिमेकी राष्ट्रलाई गाभ्ने ट्रम्पको धम्कीले लेबरको भाग्य परिवर्तन गर्‍यो । अस्ट्रेलियाले क्यानडाले जस्तो आफ्नो सार्वभौमिकताको अपमान सहनुपरेको छैन, तर यस्तै चुनावी नतिजाले घरेलु राजनीतिमा ट्रम्पको प्रभाव देखाउँछ ।

प्रमुख विपक्षी लिबरल पार्टीका नेता पिटर डटनलाई उनका आलोचकले ‘डुप्लिकेट ट्रम्प’ भनेर चित्रित गरेका  थिए, जुन चित्रणले अस्ट्रेलियामा उनीप्रतिको अविश्वास र उनको अलोकप्रियतालाई संकेत गरेको हुन सक्छ । हालैका केही सर्वेक्षणले अमेरिकाप्रति अस्ट्रेलियालीको विश्वास गुम्दै गएको देखिन्छ । आफू आफ्नै शैलीको व्यक्ति भएको दाबी गरे पनि डटनमाथि संस्कृति युद्ध भड्काएको आरोप लगाइएको थियो । उनले ट्रम्प शैलीमा आप्रवासीलाई निसाना बनाएका थिए । अस्ट्रेलियामा गैरकानुनी ढंगले आप्रवासी बसोवास गरेको भन्दै उनीहरूलाई नियन्त्रण गर्नुपर्ने बताउँदै आएका थिए, जुन चुनावमा महँगो सावित बन्यो । डटनले कर वृद्धि गर्ने अमेरिकी नीतिबाट आफूलाई टाढा राख्न कोसिस त गरिरहे तर विश्वव्यापी उथलपुथलको यस क्षणमा देशको नेतृत्व गर्न उनी उचित व्यक्ति हुन् भनेर अस्ट्रेलियाली मतदातालाई विश्वस्त पार्ने पर्याप्त आधार थिएन ।

चुनावी नतिजाले के संकेत गर्छ ?
चुनावी नतिजाले अस्टेलियामा राजनीतिक स्थिरताको नयाँ युगको संकेत गर्छ । अल्बानिजलाई २० वर्षपछि लगातार दुईपटक चुनाव जित्ने पहिलो अस्ट्रेलियाली प्रधानमन्त्री बन्ने अवसर मिलेको छ ।  सार्वजनिक प्रसारक एबिसीको पछिल्लो गणनाअनुसार अल्बानिजले १५० सिट भएको तल्लो सदनमा ८५ सिटसहित आफ्नो दोस्रो कार्यकाल सुरु गर्दैछन् (सुविधाजनक बहुमत ) भने डटन नेतृत्वको लिबरल गठबन्धनले ३७ सिटमै चित्त बुझाउनुपरेको छ ।

विगत १८ वर्षमा अस्ट्रेलियामा  छ जना फरक–फरक प्रधानमन्त्री भएका छन्, जसमध्ये धेरैजसो अस्ट्रेलियाको चुनावको आवृत्तिअनुरूप लगभग तीन वर्षसम्म पदमा रहे । तर, सुविधाजनक बहुमतले अल्बानिजलाई अर्को तीन वर्ष वा त्योभन्दा बढी समयका लागि स्थापित गर्‍यो । यस नतिजाले सम्भावित रूपमा उनलाई देशको राजनीतिलाई आकार दिने अवसर दिएको छ । वास्तवमा सन् १९९० को दशकको अन्त्य र २००० को दशकको सुरुमा लिबरल पार्टीका नेता जोन हावर्डपछि कुनै पनि नेताले यस्तो अवसर पाएको थिएन, जुन मौका अल्बानिजलाई मिलेको छ । व्यापार उथलपुथलको समयमा अल्बानिज स्थिरता कायम गर्न सक्षम थिए । ट्रम्पले अस्ट्रेलियामा १० प्रतिशत कर लगाउने निर्णयविरुद्ध उनी दृढ रूपमा उभिएका थिए ।

क्यानडासँग मिल्दोजुल्दो नतिजा
लिबर नेतृत्वको गठबन्धनका नेता डटन राष्ट्रिय प्रतिस्पर्धामा मात्र पराजित भएनन्, उत्तरपूर्वी राज्य क्विन्सल्यान्डको आफ्नै निर्वाचन क्षेत्रमा पनि हार व्यहोर्नुपर्‍यो । यो क्यानडामा विकसित घटनाक्रमको अर्को प्रतिध्वनि थियो, जहाँ विपक्षी नेता पोइलिभ्रे ग्रामीण ओटावामा आफूले लामो समयदेखि जित्दै आएको क्षेत्रमा पराजित भए । डटन दुई दशकभन्दा बढी समयदेखि डिक्सनमा विजय हुँदै आएका थिए । यसअघि उनी दुईपटक लेबर नेतृ फ्रान्स अलीबाट कडा टक्करको सामना गर्नु परेको थियो । पूर्वपत्रकार तथा प्यारा एथलेट अलीले सन् २०११ को दुर्घटनामा एउटा खुट्टा गुमाएकी थिइन् ।  डटनले आफ्नो एक भाषणमा अलीलाई बधाई दिएका छन् । उनको जितपछि अलीले गत वर्ष ल्युकेमियाबाट मृत्यु भएका आफ्ना छोरा हेनरीलाई श्रद्धाञ्जली अर्पण गरिन् । ‘मेरो छोरा, हेनरी मैले जितेको हेर्न चाहन्थे । उनी विश्वस्त थिए कि मैले जित्नेछु,’ आफ्नो जितपछि अलीले स्काई न्युजलाई भनिन् ।

जलवायु परिवर्तनमा चासो 
अस्ट्रेलियाली मतदाताले डटनको ‘ट्रम्प–शैली’को वैचारिक दृष्टिकोणमाथि अल्बानिजको जीवनयापनको नीति र जलवायु परिवर्तनको उच्च लागतलाई सम्बोधन गर्ने योजनामा विश्वास राखे, जुन कहिलेकाहीँ नीतिगत प्रस्तावले समर्थन गरेको देखिँदैनथ्यो । डटनले आदिवासीलाई ‘देशमा गरिएको  स्वागत’ समारोहलाई ‘अति गरिएको’ टिप्पणी गरे । आदिवासीलाइ खेलकुद र सैन्य कार्यक्रममा प्रदर्शन गर्न नहुने उनको धारणा थियो । सन् २०२३ मा डटनले आदिवासी अस्ट्रेलियालीलाई संवैधानिक मान्यता दिने सरकारको एक प्रस्तावको विरोधमा अभियान नै चलाए । उनले अस्ट्रेलियाले धेरै आप्रवासी लिने गरेको बताउँदै त्यसको विरोध गर्दै आएका थिए ।  

डटनले ‘जागृत’ संस्कृतिलाई दबाउने वाचा गरे र विद्यालयमा ‘प्रवचन’ अन्त्य गर्ने वाचा गरे । तर, पाठ्यक्रम परिवर्तन गर्ने पार्टीको कुनै योजना नभएको उनले प्रस्टीकरण दिए । उता अस्ट्रेलियाली मतदाता जीवनयापनको लागतको चिन्ता र जलवायु परिवर्तनबाट बढी प्रभावित देखिन्थे । यी दुवै विषयमा डटनसँग पर्याप्त बलियो रणनीति नभएको देखिन्थ्यो ।

आफ्नो पहिलो कार्यकालमा बढ्दो जीवनयापन लागतलाई नियन्त्रण गर्न पर्याप्त कार्य नगरेको भन्दै अल्बानिजको आलोचना भए पनि आगामी वर्ष उनले कर कटौती, सस्तो औषधि र आवास संकट कम गर्न १२ लाख घर बनाउने वाचा गरेका छन् । त्यस्तैगरी, नयाँ कोइला र ग्यास परियोजनाको अनुमोदनको आलोचनाका बाबजुद अल्बानिजले आफ्नो पहिलो कार्यकालमा वातावरणीय एजेन्सी र अनुसन्धानमा नयाँ अमेरिकी प्रशासनले गरेको आक्रमणको विरोध गर्दै जलवायु कार्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याए । सबै अस्ट्रेलियालीलाई थाहा छ ‘नवीकरणीय ऊर्जा एउटा अवसर हो, जुन हामीले हाम्रो अर्थतन्त्रको भविष्यका लागि प्रयोग गर्न सँगै काम गर्नुपर्छ,’ अल्बानिजले भने ।

भद्र राजनीति हाबी
एकल आमाको छोराको रूपमा  अल्बानिजले लामो समयदेखि आफूलाई सामाजिक गतिशीलता र राजनीतिमा भद्र व्यक्तिको रूपमा प्रस्तुत गर्दै आएका छन् । ‘मेरी आमाको जीवन कठिन थियो र हामीले आर्थिक रूपमा संघर्ष गर्यौं । तर, उनले मलाई सधैँ सकारात्मक हुन र अस्ट्रेलियाको भविष्यको कुरा गर्दा मानिसप्रति राम्रो दृष्टिकोण राख्न सिकाउनुभयो,’ उनले भने । निर्वाचन अभियानका क्रममा उनले बारम्बार आफूलाई विपक्षीको आलोचना गर्नबाट सदैव टाढा राख्ने प्रयास गरे । अन्य सन्दर्भमा पनि उनी निकै शालीन ढंगले प्रस्तुत भए  । पार्टीका नीति र कार्यक्रम इमानदारीपूर्वक मतदातासमक्ष लैजानमा उनी निकै माहिर रहेको विश्लेषकहरू बताउँछन् । उनले कहिले द्वैध चरित्र देखाएनन् ।

वाटसन सिड्नीस्थित सिएनएनका प्रोड्युसर हुन् भने ह्वाइटम्यान स्वतन्त्र पत्रकार तथा लेखक हुन् ।

– सिएनएनबाट