
भारतीय क्रिकेट टोलीका सिनियर ब्याट्सम्यान विराट कोहलीले टेस्टबाट सन्न्यास घोषणा गरेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)लाई जानकारी दिँदै उनले सोमबार सन्न्यासको लिएका हुन् । कोहलीले सामाजिक सञ्जालबाट टेस्ट क्रिकेटबाट बिदा भएको जानकारी गराएका हुन् । ‘टेस्टबाट सन्न्यास लिनु त्यति सहज थिएन, तर मैले आजको दिनबाट यस फर्म्याटबाट बिदा लिएको छु,’ कोहलीले सोसल मिडियामा भनेका छन्, ‘मेरो विचारमा यही समय नै सन्न्यास लिँदा उपयुक्त हुन्छजस्तोे लाग्यो ।’ यसअघि बिसिसिआईले कोहलीलाई इंग्ल्यान्डविरुद्धको टेस्टपछि मात्र निर्णय लिन आग्रह गरेको थियो । तर, कोहलीले नयाँ खेलाडीलाई मौका दिन इंग्ल्यान्ड सिरिजअगाडि नै निर्णय लिएको जनाएका छन् । २० जुनदेखि भारत र इंग्ल्यान्डबिच पाँच टेस्ट सिरिज हुनेछ । अब कोहलीको सन्न्यासपछि भारतले मध्यक्रममा एक युवा खेलाडीलाई स्थान दिनुपर्नेछ । कोहलीले यसअघि नै टी–२० बाट सन्न्यास लिएका थिए । उनी अब भारतका लागि एकदिवसीय खेलमा मात्र उपलब्ध हुनेछन् ।
बोर्डसँग एक महिनादेखि छलफल
कोहलीले अचानक सन्न्यास घोषणा गरेका होइनन् । उनले यसको तयारी एक महिनाअघि नै गरेका थिए । उनले आधिकारिक रूपमा गत महिनामै बिसिसिआईलाई जानकारी दिएका थिए । तर, आसन्न इंग्ल्यान्डसँगको टेस्टमा कोहली टोलीमा हुनुपर्ने बोर्डको धारणा थियो । यसैगरी, व्यवस्थापन र छनोट समितिले उनको अनुभव इंग्ल्यान्ड सिरिजका लागि महŒवपूर्ण हुने बताएका थिए । बोर्ड, व्यवस्थापन र छनोट समितिले कोहलीलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेका थिए । तर, कोहलीले भने पूर्वयोजनाअनुसारै सन्न्यास घोषणा सार्वजनिक गरेको भारतीय मिडियाले जनाएको छ ।
टोलीका सिनियर रोहित शर्माले पनि हालै टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए । रविचन्द्रन अश्विनले पनि अस्ट्रेलियाविरुद्धको सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट छोडेका थिए । रोहितको सन्न्यासपछि अब भारतले इंग्ल्यान्ड सिरिजअघि नयाँ कप्तान घोषणा गर्नुपर्नेछ ।
टेस्टमा १४ वर्षको करिअर
कोहलीले भारतबाट १४ वर्ष टेस्टमा सहभागिता जनाए । उनले १२३ टेस्ट खेलमा ४६.८५ को औसतमा ९ हजार २ सय ३० रन बनाएका छन् । उनले ३० शतक बनाएका छन् । कोहलीले ६८ खेलमा भारतका लागि टेस्टमा कप्तानी गरेका थिए । पछिल्लो समय कोहलीले टेस्टमा राम्रो गर्न सकेका थिएनन् । २०२४–२५ मा अस्ट्रेलियामा भएको बार्डर–गवास्कर ट्रफीमा उनले पाँच टेस्टमा जम्मा १९० रन बनाए । यसक्रममा उनले पर्थमा एक शतक लगाएका थिए । बाँकी चार खेलमा अस्टे«लियाविरुद्ध उनले ८५ रन मात्र जोडे । यसैगरी, न्युजिल्यान्डविरुद्धको घरेलु सिरिजमा उनको प्रदर्शन निराशाजनक थियो । उनको सन्न्याससँगै इंग्ल्यान्डमा हुने सिरिजमा लोकेश राहुल, शुभमन गिल, यशस्वी जैसवाल र ऋषभ पन्तजस्ता युवा खेलाडीमा भारतले भरपर्नु पर्नेछ ।
कप्तानीका रूपमा ४० खेलमा जित
कोहलीले ६८ टेस्टमा कप्तानी गर्न अवसर पाए । यसक्रममा उनले ४० टेस्टमा भारतलाई जित दिलाए । उनको कप्तानीमा भारतले १७ खेलमा हारको सामना गरेको थियो । यसैगरी, उनले ११ खेलमा ड्रको नतिजा निकालेका थिए । सन् २०१४–१५ मा भारतले अस्ट्रेलियाको भ्रमण गरेको थियो । तत्काल महेन्द्रसिंह धोनीको कप्तानीमा भारत अस्ट्रेलियामा पुगेको थियो । तर, धोनीले अचानक सिरिजअगाडि नै सन्न्यास लिए ।