
बंगलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युतका क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन्।
बंगलादेशमा रहेकी प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानासँग आज सोमबार ढाकामा भएको भेटमा युनुसले बंगलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबिच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक भएको बताएका हुन्।
युनुसले भने, ‘बंगलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वीमा रहेका सातवटा राज्यबिचको एकीकृत आर्थिक योजना आवश्यक छ, यसबाट हामीले छुट्टाछुट्टैभन्दा सँगै भएर धेरै फाइदा लिन सक्छौँ।’
उनले नेपाल र बंगलादेशबिच जलविद्युतको क्षेत्रमा दरिलो सहकार्य गर्न सकिने उल्लेख गरेका थिए। गत अक्टोबरमा बंगलादेश–नेपाल–भारतबिच नेपालबाट बंगलादेशमा भारतीय ग्रिडमार्फत ४० मेगावाट विद्युत् ल्याउनका लागि त्रिपक्षीय सहमति भएको थियो।
उनले बंगलादेशले यस क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा प्रतिबद्धताका साथ काम गरिरहेको पनि उल्लेख गरे। ‘हामीले रंगपुरमा सुरु गर्न लागेको एक हजार शय्याको अस्पतालको सेवा नेपाल र भुटानबाट आउने बिरामीका लागि पनि लक्षित छ, क्षेत्रीय सहकार्यबाट स्वास्थ्य क्षेत्रमा समृद्धि हासिल गर्न सकिन्छ,’ उनले भने।
त्यस अवसरमा उपसभामुख रानाले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यका लागि नेपाल इच्छुक रहेको उल्लेख गरिन्। ‘नेपालका सबै सांसदहरूले बंगलादेशसँग नजिक रहेर काम गर्न चाहना राख्नुभएको छ, हामी दुई देशबिचमा आर्थिक सहकार्य र नागरिकस्तरमा सम्बन्ध विस्तारमा गम्भीर छौँ।’
उनले हाल बंगलादेशका मेडिकल कलेजमा दुई हजार सात सयभन्दा बढी नेपाली विद्यार्थी रहेको उल्लेख गर्दै यहाँको गुणस्तरीय शिक्षाको प्रशंसा गरिन्। साथै, उनले यसमार्फत दुई देशबिचमा शैक्षिक सहकार्य पनि गर्न सकिने सम्भावना औँल्याइन्।
त्यसअवसरमा दुवै पक्षबाट भौतिक अन्तरआबद्धताका विषयमा छलफल भएको उपसभामुख रानाको सचिवालयले जनाएको छ। प्रमुख सल्लाहकार युनुसले दुई देशबिच सडक सञ्जाल विस्तारबाट नेपालले उल्लेख्य मात्रामा व्यापारिक लाभ लिन सक्ने धारणा राखेका थिए।
सो अवसरमा बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारी, युनुसका दिगो विकास लक्ष्य कार्यक्रमका संयोजक लामिया मोरसेद र बंगलादेशका परराष्ट्र मन्त्रालयका महाप्रबन्धक इस्रात जहानलगायतको उपस्थिति थियो।