
पाँच वर्षअघि कोरोना महामारीबाट श्रीमान् गुमाएकी सावित्रा कामीको गत ६ पुसमा गएको भूकम्पले घर पनि भत्कियो। बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका– १, ढाडाको दलितटोलकी ३० वर्षीया सावित्राले कोरोना महामारीमा श्रीमान् काशी कामीलाई गुमाएकी थिइन्। श्रीमान् गुमाएको केही वर्षमै सावित्रा पाठेघरको समस्याका कारण बिरामी भएर घरमै थला परेकी छिन्।
श्रीमान् गुमाएको पीडा हम्मेहम्मेसँग भोगिरहेकी थिइन्। श्रीमानविना दुई छोराको पालनपोषण कसरी गर्ने भन्ने चिन्ता छँदै थियो। त्यसमाथि ६ पुसमा जगन्नाथ गाउँपालिका–५, केन्द्रविन्दु भएर गएको भूकम्पले उनको घर चिराचिरा पारेपछि त उनी त्यसयता कुनै पनि रात निदाउनै सकिनन्।
तर, यससम्बन्धी समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित भएपछि उनका लागि सहयोग जुटेको छ। समाचार प्रकाशित भएपछि उनलाई विभिन्न व्यक्तिले नगद तथा लत्ताकपडा सहयोग गरेका छन्। ललितपुरस्थित ‘होप राइजिङ चिल्ड्रेन होम’ले उनका छोराहरूलाई पठनपाठनदेखि सम्पूर्ण जिम्मेवारी लिएको छ। नयाँ पत्रिकाले समाचार छापेपछि आफ्ना नाबालक छोराहरूको पढ्ने सपना पूरा भएको बताउँदै उनले बालगृहले आफ्नो पाठेघरको उपचारमा समेत सहयोग गर्ने भएको बताइन्।
होप राइजिङ चिल्ड्रेन होम’का सञ्चालक नन्दऋषि आचार्यले बजारमा कसैले पढिरहेको समाचार देखेपछि आफैँले पत्रिका किनेर त्यसबारे जानकारी लिएको बताए। उनले सावित्राको उपचार र उनका दुई छोरालाई उच्च शिक्षासम्म पढाउने गरी सम्बन्धित स्थानीय तहबाट आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई उद्धार गरी ल्याएको बताए।