
वसन्त ऋतुको हिमाल आरोहणबाट हालसम्म ७७ करोड रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म जम्मा ७७ करोड ३५ लाख ८७ हजार ९१५ रुपैयाँ राजस्व संकलन भएको हो।
२४० महिला र ८८७ पुरुषसहित एक हजार १२७ जना आरोहीले सगरमाथासहितका २६ वटा हिमाल आरोहणका लागि अनुमति लिएका छन्। तीमध्ये सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख नाै हजार २८ रुपैयाँ रोयल्टी उठेको विभागले जनाएको छ।
विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सगरमाथा आरोहणका लागि ५७ देशका आरोहीले आवेदन दिएका छन्। ४५ आरोही समूहमा ८४ महिला र ३७२ पुरुष छन्। सगरमाथापछि आमादब्लम, ल्होत्से, मकालु, कञ्चनजंघा, नुस्से र अन्नपूर्ण पर्वतहरूमा समेत उल्लेख्य संख्यामा आरोहण अनुमति लिइएको छ।
सगरमाथाबाहेक आमादब्लममा १० समूहबाट १०२ जना, ल्होत्सेमा नौ समूहबाट १०७ जना, मकालुमा आठ समूहबाट ७९ जना, कञ्चनजंघामा सात समूहबाट ७५ जना, नुस्सेमा ६ समूहबाट ७६ जना र अन्नपूर्णमा ६ समूहबाट ६६ जना आरोही छन्।
विभागका अनुसार वसन्त ऋतु हिमाल आरोहणका लागि सबभन्दा उपयुक्त मानिन्छ। मौसम अनुकूल हुने भएकाले यही समयमा सगरमाथालगायतका शिखरहरूमा चाप बढ्ने गर्दछ। आरोहण अनुमति जारी प्रक्रिया अझै चलिरहेकाले संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ। पर्यटन बोर्ड र विभागले यस वर्षको पर्वतारोहण सिजन उत्साहजनक रहेको निष्कर्ष निकालेका छन्।