१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २७ शनिबार १o:o६:oo
Read Time : > 2 मिनेट
साहित्य प्रिन्ट संस्करण

साहित्यकार विक्रम सुब्बालाई मनपरेका पाँच पुस्तक 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २७ शनिबार १o:o६:oo

द प्रफेट : खलिल जिब्रानको काव्यात्मक र दार्शनिक कृति ‘द प्रफेट’ प्रेम, स्वतन्त्रता, दुःख, धर्म र मृत्युजस्ता जीवनका गहन विषयमाथि प्रवचनात्मक शैलीमा लिखित छ । ‘यो राम्रो छ, तर जीवन भोग्दै जाऊ, अनुभवको आधारमा पुस्तकलाई पटक–पटक पुनर्लेखन गर । जब चित्तबुझ्दो लाग्छ, अनि मात्र प्रकाशन गर्नू’ पुस्तक पढेपछि उनकी आमाले भनिन् । सोहीअनुसार गिब्रानले १७ वर्षसम्म पटक–पटक पुनर्लेखन गरे । सन् १९२३ मा मात्रै प्रकाशित भयो । पुस्तक एक सय भाषामा दश करोडभन्दा बढी बिक्री भइसकेको छ । मानव भावना र आत्म–चिन्तनलाई काव्यात्मक शैलीमा प्रस्तुत यसले पाठकलाई जीवनको आफ्नै अर्थ खोज्न प्रेरित गर्छ । जस्तैः प्रेमले तिमीलाई बाँध्छ, तर बन्धनमा राख्दैन, किनभने प्रेमका पखेटा हुन्छन् र तिनले अँगालो हाल्छन्, निचोर्दैनन् । जिब्रान जीवनका जटिल प्रश्नहरूको सरल जवाफ दिन्छन् । 

कम्युनिस्ट मेनिफेस्टो : मार्क्स र एंगेल्सको ‘कम्युनिस्ट मेनिफेस्टो’ पुँजीवादी किल्लामा हानेको अजेय बम हो । यसले संसारमा पहिलोपटक मानिसले मानिसलाई गर्ने शोषणको कुरा उजागर गरेर शोषणविहीन समाजका लागि क्रान्तिको बाटो देखायो । वर्गसंघर्ष नै इतिहासको चालक शक्ति (प्राक्टिकलभित्र एटोमिक र सबएटोमिक तहका इलेक्ट्रोन र प्रोटनजस्ता विरोधी तत्वको अन्तरद्वन्द्वले गति पैदा गरेको वैज्ञानिक प्रणाली) हुन् भन्ने आधारमा समाजका दुई वर्गबिचको अन्तरद्वन्द्वले सामाजिक गति (परिवर्तन) हुन्छ भन्ने खाका प्रस्तुत गर्‍यो । संसारका आधाभन्दा धेरै मानिसलाई एउटा दस्ताबेजले जीवनको नयाँ अर्थ दिन सक्छ, क्रान्ति गर्न प्रेरित गर्न सक्छ भन्ने प्रमाण हो यो, मेनिफेस्टो । दुई सय भाषामा बिक्री भइसकेको यो लेखोटले मानिसको दिमागमा संसारको नयाँ परिभाषा छापिदियो । ५० करोडभन्दा धेरै प्रति बिक्री भएको यो पुस्तक आज जुनसुकै विषय पढ्ने र पढाउने विद्वान्ले पढ्नैपर्ने भएको छ । दुनियाँको राजनीतिलाई लेफ्टिस्ट र राइटिस्टमा विभाजन यसैले गरेको हो । कम्युनिस्ट मन पराउने तर आफूलाई ‘कम्निस्ट’ भन्न डराउनेले पनि ‘समाजवादी’ वा ‘कल्याणकारी सरकार’ आदि शब्दावली ओढेर कम्युनिस्टको तत्वलाई घुमाएर स्वीकार गरिरहेछन् । यही मेनिफेस्टोले आजका नयाँ ‘मजदुर’ डाक्टर, इन्जिनियर, शिक्षक, म्यानेजर, कर्मचारीसमेतलाई कलेक्टिभ बार्गेनिङ गर्ने सिकाएको हो । 

चंगेज खान एन्ड द मेकिङ अफ द मोडर्न वर्ल्ड : ज्याक वेदरफोर्डको यो पुस्तकले चंगेज खान र मंगोल साम्राज्यको विश्व इतिहासमा पुर्‍याएको योगदानलाई पुनव्र्याख्या गर्छ । चंगेज खानलाई व्यापार, सांस्कृतिक आदानप्रदान र प्रशासनिक सुधारका प्रणेताका रूपमा उनका योगदान उजागर गरेर युद्धमा सामेल योद्धाले पनि आधुनिक विश्वको निर्माणमा देन दिन्छ भन्ने नयाँ दृष्टिकोण पेस गर्छ । लगभग १८ वर्ष एन्थ्रोपोलोजिकल रिसर्चको आधारमा लेखेको यो पुस्तक भन्छ– मंगोलहरूले सिल्क रोडलाई पुनर्जन्म दिए, जसले युरोप र एसियालाई जोड्यो । चंगेज खानले कुनै पनि एकलाई राज्यधर्म बनाएनन्, बरु सबैलाई स्वतन्त्रता दिए । मंगोलहरूले कागजी मुद्रा (पैसा) र डाक प्रणाली (युद्धका वेला सिर्जित)को प्रयोगलाई विश्वव्यापी बनाए । पुस्तकले चंगेज खानले युरोप र एसियाको साझा समृद्धि सुरुवात गरेकोमा मंगोल साम्राज्यप्रति कृतज्ञ र आधुनिक विश्वको जटिलताप्रति सचेत बनाउँछ । भनिन्छ, संसारमा दुई सय मानिसमध्ये एकजनाले चंगेज खानको डिएनए बोकेको हुन्छ । अर्थात्, चंगेज खानका अनुवांशिहरू एक करोड ६० लाखजति धर्तीमा छन्, यसलाई जेनेटिक साइन्समा अतुलनीय उदाहरण मानिन्छ । 

सेपियन्स : अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड : युभल नोह हरारीद्वारा लिखित यो पुस्तकमा मानव प्रजातिको विकास र सभ्यताको इतिहासलाई संज्ञानात्मक, कृषि, वैज्ञानिक र औद्योगिक क्रान्तिमार्फत प्रस्तुत गरिएको छ । पुस्तकले मानवले रचेका काल्पनिक कथाहरू (जस्तै– धर्म, राष्ट्रवाद, पैसा, ईश्वर)ले र मानिसबिचको ‘सहकार्य’ले सभ्यताको निर्माण गरेको हो भन्ने शोध पेस गर्छ । जस्तै– होमो सापियन्सहरूले अनेक काल्पनिक कथा सिर्जना गरे, जसले ठुला समूहलाई एकजुट गर्‍यो । कृषि क्रान्तिले मानवलाई स्वतन्त्र सिकारीबाट बाँधिएको किसान बनायो । विज्ञानले मानवलाई प्रकृतिमाथि नियन्त्रण दिन्छ, तर नैतिक प्रश्न पनि ल्याउँछ । धन, राष्ट्र र धर्म मानवका काल्पनिक कथा मात्र हुन् ।

पुस्तकले मानव इतिहासप्रति विस्मय र जिज्ञासा जगाउँछ, साथै सभ्यताको कमजोरी र भविष्यका जोखिमबारे सचेत पनि गराउँछ । आफ्ना विद्यार्थीलाई पढाउन टिपेको ‘टिपोट’लाई पुस्तकको रूपमा प्रकाशित गर्दा यो पुस्तक विश्वप्रसिद्ध भएकोमा हरारी आफैँ पनि छक्क परेका छन् । हरेक वर्ष दुई महिना विपश्यना ध्यान गर्न भारतको इगातपुरी आउने र घरमा हरेक बिहान–साँझ एक–एक घण्टा ध्यान गर्ने इतिहासका इजरायली प्रोफेसर हरारी विपश्यना ध्यानले नै आफ्नो लेखनको गुणवत्ता कायम रहेको स्वीकार गर्छन् ।

स्नेक्स इन द गंगा – ब्रेकिङ इन्डिया २.० : यो पुस्तक राजीव मल्होत्रा र विजया विश्वनाथनले संयुक्त रूपमा लेखेका हुन् । पुस्तकले भारतको सांस्कृतिक र बौद्धिक अखण्डतामाथि पश्चिमी प्रभाव र वैचारिक हस्तक्षेपको विश्लेषण गर्छ । पुस्तकले सदा अरूको उपनिवेश रहेको भारतमा उपनिवेशीकरणको सट्टा विदेशी पोषित संस्थाहरू र शैक्षिक हस्तक्षेपले परम्परागत मूल्यमाथि आक्रमण गरेको छ भन्दै भारतीय सभ्यताको संरक्षणको आह्वान गरेको कुरा उल्लेख छ । जस्तै– भारतको सांस्कृतिक ज्ञानलाई पश्चिमी ढाँचामा विकृत गरिएको छ । एनजिओहरूले भारतको सामाजिक एकता भत्काउने काम गरिरहेछन् । भारतीय विश्वविद्यालयमा पश्चिमी विचारधाराले प्रभुत्व जमाएको छ । भारतको सभ्यताले विश्वलाई योगदान दिएको छ, तर यसलाई कमजोर पार्ने प्रयास भइरहेको छ । भारतले आफ्नो मूल्य र पहिचानको रक्षा गर्नुपर्छ, नत्र भारत पुनः कसैको उपनिवेश बन्नेछ ।

पुस्तकले भारतीयको पहिचान नै संकटमा रहेको कुरा गर्दा हरेक देशका पाठकलाई पनि आफ्नो राष्ट्रिय पहिचान के हो ? भनेर सोच्ने बनाउँछ । विदेशी प्रजातन्त्र र औद्योगिक क्रान्तिले स्थापित गरेका उद्योगका लागि चाहिने जनशक्ति उत्पादन गर्ने पाश्चात्य शिक्षालाई हुबहु गरेकाले शिक्षण संस्थाहरू बेरोजगार उत्पादन केन्द्र बनेर मौलिक पहिचान नष्ट भएकोप्रति पुस्तकले सचेत गराएको छ ।