१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ८ सोमबार
  • Monday, 21 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ८ सोमबार १८:४७:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

गोल वर्षा गर्दै एपिएफ लुम्बिनी कपको सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ८ सोमबार १८:४७:oo

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार बाँकेको नेपालगन्ज रंगशालामा भएको खेलमा एपिएफले कर्णाली प्रदेश फुटबल संघलाई ६–० ले हरायो। एपिएफको जितमा रश्मीकुमारी घिसिङ, रेनुका नगरकोटे, गीता राना, अनिता केसी र सविता रानामगरले गोल गरेका हुन्। खेलमा रेनुका नगरकोटे प्लेयर अफ द म्याच घोषित भइन्।

भगवती थापाको प्रशिक्षणमा रहेको एपिएफ प्रतियोगिताको उपाधि दाबेदार हो। प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। एपिएफ यस सिजनको चौथो उपाधि जित्ने दाउनमा छ। टोलीले राष्ट्रिय लिगसहित इलाम र चितवनमा भएको प्रतियोगिताको उपाधि जितेको थियो। तीनै उपाधि जित्दा प्रशिक्षकमा जीवेशकुमार पाण्डे थिए।

कर्णालीविरुद्ध एपिएफले राष्ट्रिय टोलीका ९ खेलाडी मैदान उतारेको थियो। गोलकिपर अञ्जना रानामगरले भने एपिएफको लागि डेब्यु नै गरिन्। विभागीय टोली त्रिभुवन आर्मी क्लब छाडेपछि एपिएफमा अनुबन्ध भएकी अञ्जनाको यो पहिलो खेल हो। दोस्रो हाफमा अञ्जनाको स्थान सावित्री किसनले लिएकी थिइन्।

खेलको पहिलो गोल भने आत्माघाती रह्यो। कर्णालीकी टिना रावतले आफ्नै पोस्टमा गोल गरेकी थिइन्। यसअघि सविता रानामगरको प्रहार टिनालाई लाग्दै गोल भएको थियो। दोस्रो गोल राष्ट्रिय टिमकी मिडफिल्डर रेनुकाले गरिन्। उनले ३५औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता २–० बनाएकी थिइन्। राष्ट्रिय टोलीकी अर्की खेलाडी अनिताले दुई मिनेटपछि नै तेस्रो गोल गरिन्।

एपिएफले कर्णालीविरुद्ध पहिलो हाफमा तीन गोल गरेको थियो। कर्णालीकी गोलकिपर लीला जोशीले सानदार प्रदर्शन गरेपछि एपिएफले गोलअन्तर बढाउन सकेन। नेपालको यू–१६ र यू–१९ टिमबाट खेलेकी लीलाले लगातार एपिएफको प्रहार रोकेकी थिइन्।

खेलको ५०औँ मिनेटमा एपिएफले चौथो गोल गर्‍यो। अनिता केसीको पासमा गीता रानाले हेडर गोल गरिन्। एक मिनेटपछि नै रश्मीकुमारीले टोलीलाई ५–० को अग्रता दिलाएकी थिइन्। ५५औँ मिनेटमा सविता रानामगरले एपिएफको लागि छैटौँ गोल गरिन्।

पहिलोपटक आयोजना भएको लुम्बिनी कपमा आठ टोली सहभागी छन् । घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ, सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लबले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्। आयोजक बाँकेसँगै सुदूरपश्चिम प्रदेश र भारतको सिलिगुरी एफसी बाहिरिएका छन्।

अब, पहिलो सेमिफाइनलमा मंगलबार विभागीय टोलीहरू नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब खेल्नेछन्। १० वैशाखमा हुने दोस्रो सेमिफाइनलमा एपिएफ र रौतहटबिच प्रतिस्पर्धा हुनेछ। रौतहटले फाइनल प्रवेशको लागि वैशाख १० गते विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग खेल्नेछ।