१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 21 April, 2025
Invalid date format १७:२७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहा प्रादेशिक अस्पताल सुधारको माग गर्दै १९ बुँदे मागपत्र पेस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२७:oo

सिराहा जिल्ला सदरमुकाम सिराहास्थित प्रादेशिक अस्पतालमा सेवा प्रवाह, चिकित्सकको नियमित उपस्थिति, अस्पताल फार्मेसीको औषधि वितरण र स्टक विवरण सार्वजनिक गरिनुपर्नेलगायतका मागसहित स्थानीय जनप्रतिनिधिको अगुवाइमा युवाहरूले सोमबार अस्पताल प्रमुखलाई १९ बुँदे माग बुझाएका छन्। 

अस्पताल प्रशासनलाई पटक-पटक मौखिक तथा लिखित रूपमा ध्यानाकर्षण गराउँदासमेत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट र अस्पताल विकास समितिका अध्यक्षले अस्पतालको अनियमितता, बिरामीले पाउनुपर्ने सेवा सुविधा, औषधि खरिद र वितरणमा कमिसनको चलखेल नरोकिएको सिराहा– ६ का वडाध्यक्ष इन्द्रजित यादवले बताए। आफूहरूले गरेको माग सम्बोधन नभए तीन दिनपछि मे.सु. र अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरी प्रवेश निषेध गरिने उनले बताए।

मागपत्रमा पछिल्लो तीन आर्थिक वर्षमा अस्पतालबाट खरिद गरिएका औषधिहरूको हिसाब, बिरामीलाई वितरण भएको औषधिको विवरण, म्याद सकिएका औषधि, खरिद गरिएका ल्याबका सामानहरूको हिसाब विवरण सार्वजनिक गर्न आग्रह गरिएको छ। त्यस्तै, आमा सुरक्षा कार्यक्रम, एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)मार्फत् सेवा लिएका बिरामीहरूको विवरण र भएको खर्च, अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको नामावली र नियुक्तिसँग सम्बन्धित कागजात, अस्पतालका विभिन्न उपकरण, सटर, झ्याल, ढोकाजस्ता सामानहरू, बिरामीको पुर्जा काट्ने काउन्टर र फार्मेसी काउन्टरबाट रकम हिनामिना भएको भन्दै हिसाब मागिएको छ।

अस्पतालबाट वितरण गरिने निःशुल्क औषधि र शुल्क लाग्ने औषधिहरूको विवरण, त्यसमा भएको खर्चको तीन वर्षको बैंक स्टेटमेन्टसहित कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको तलब भत्ता हरेक महिना दिने व्यवस्था मिलाउन माग गरिएको छ। युवाहरूले अस्पतालमा कार्यरत हरेक कर्मचारीको ड्रेस कोडको व्यवस्था, सरसफाइ तथा सम्पूर्ण कर्मचारीको नामावली र समय तालिकासहित सूचना पाटीमा टाँस, विद्युत् तथा ब्लड बैंकको व्यवस्थापन, अस्पतालको स्तरीकरणको पारामिटर सार्वजनिक गरिनु पर्ने माग गरेका छन्।

मे.सु. र अध्यक्ष हरेक दिन कार्यालयमा बस्ने व्यवस्था, हरेक महिनामा उपचार सेवा लिएका, रेफर गरिएका बिरामीको विवरणसहित पूर्जी काट्ने काउन्टर, औषधि वितरण, शल्यक्रिया, उपचारको क्रममा मृत्यु भएका, ओपिडीमा जाँच गराएका बिरामीको विवरण सूचना पाटीमार्फत सार्वजनिक गरिनुपर्ने उल्लेख रहेको मागपत्रमा अस्पतालको शीर्षकबमोजिमको आम्दानी र खर्च विवरणको पारदर्शिता तथा अस्पतालमा दरबन्दी रहेका कर्मचारीहरूको काज फिर्ताको माग गरिएको छ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ४ वैशाखको राति अस्पताल अनुगमन गरेर फर्किएको चौथो दिन स्थानीय युवाहरूले अस्पताल सुधारको माग गर्दै तीनदिने अल्टिमेटमसहित मागपत्र बुझाएका हुन्। मुख्यमन्त्रीले अनुगमनको नाममा अस्पतालको भौतिक पूर्वाधार, रजिस्ट्रारलगायत सम्बन्धित कागजात मात्र हेरेर फर्किएको गुनासो गर्दै उनले भने, ‘अस्पतातको सेवा प्रवाह, औषधि वितरण, आमा सुरक्षा कार्यक्रम, प्रयोगशाला, ब्लड बैंकको अवस्था मुख्यमन्त्रीले हेर्नु भएन।’ त्यही कारणले अस्पताल प्रशासनलाई सेवा सुधारका लागि जवाफदेही बनाउन माग पत्र दिइएको उनले बताए। मागपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय सिराहा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाम, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिइएको छ।