• वि.सं २०७६ कार्तिक २८ बिहीबार
  • Thursday, 14 November, 2019
  • Archive

प्रश्नैप्रश्नको घेरामा जागरण अभियान

पार्टी केन्द्रका सम्पूर्ण समस्या यथावत् राखेर कर्मकाण्डी जागरण अभियान लिएर फेरि आइरहन जरुरी छैन भन्ने कांग्रेस कार्यकर्ताको सुझाब छ

२०७६ जेठ २७ सोमबार ०८:४२:००
प्रदीप पौडेल

अभियानअघि नै जब चुक्यौँ ः हामीले पार्टी पदाधिकारीसमक्ष कांग्रेसलाई गतिशील बनाउने कार्यक्रम र एजेन्डा मागेको अहिले होइन, पहिल्यै हो । बारम्बारको हाम्रो आग्रहमा पार्टीले राष्ट्रिय जागरण अभियान कार्यक्रम ल्यायो । ढिलै आए पनि कार्यक्रमप्रति कसैको विरोध र असहमति थिएन । तर, यति ठूलो र प्रभावकारी हुने कार्यक्रमपूर्व नै हामी तयारीमा चुक्यौँ । आन्तरिक संरचनालाई पहिले चुस्तदुरुस्त बनाउनतिर हामी लागेनौँ ।

पार्टीको प्राथमिकता यसतर्फ केन्द्रित होस् भनेर हामीले निरन्तर ध्यानाकर्षण गरायौँ । चुनाव सकिएको डेढ वर्ष भयो । कांग्रेस केन्द्रदेखि प्रदेशसम्मै सत्तामा छैन । कांग्रेस पूर्ण फुर्सदमा छ । यतिवेला संगठनका अनिवार्य विषय किन पूरा गरिएनन् ? डेढ वर्षमा संघीयताअनुसार सीमा परिवर्तन भएका संरचनाको अधिवेशन गर्नुपथ्र्यो । समयमै अधिवेशन गर्न सकेको भए हाम्रो संगठन थप प्रभावकारी हुन्थ्यो । ६,७४३ वडा, ७५३ स्थानीय तह र ३३० प्रदेशमा हाम्रा समिति छैनन् ।

१६५ निर्वाचन क्षेत्रमध्ये एक निर्वाचन क्षेत्र भएका र काठमाडौँ उपत्यकाका १५ बाहेक ११३ निर्वाचन क्षेत्रमा हामीले समिति बनाउनुपर्ने छ । निर्वाचन क्षेत्रको सीमा परिवर्तन हुँदा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिले काम गर्न पाएको छैन । हामीले सातवटा प्रदेश समिति किन बनाएनौँ ? सात प्रदेश समिति नबनाउँदा संघीयतामा कांग्रेसको बफादारी देखिएन । हामीलाई संघीय संरचनामा जान केले रोक्यो ? केले 
छेक्यो ? प्रदेश समिति नहुँदा प्रदेश संसद् प्रभावकारी हुन सकेनन् । हामीले प्रभावकारी भूमिका खेल्न सकिरहेका छैनौँ । 

भ्रातृसंस्थाको उही ताल : हामीले नेविसंघ विघटन नगरौैँ भनेर धेरै जोडबल ग¥यौँ । तर, कमिटी विघटन गरेको चार महिना बित्न लाग्दा पनि पार्टीले विकल्प दिन सकेन । तरुण दल चारजनाबाट चल्नुपरेको छ । दलित संघ, किसान संघ, आदिवासी जनजाति संघको अधिवेशन नभएको वर्षौं भइसक्यो । अधिवेशन र यी भ्रातृसंस्था सञ्चालनका लागि केन्द्रीय समितिले किन प्रभावकारी समन्वय गर्न सकेन ? पहिलो काम यी विषय टुंग्याउनु नै हो । यी विषय टुंग्याएर जागरण अभियान सुरु गरेको भए हाम्रो संगठन गतिशील हुन सक्थ्यो भन्ने सुझाब राष्ट्रिय जागरण अभियानमा कार्यकर्ताबाट आएको छ । 

केही नभएको होइन : मुख्य विषय थाती राखेर जागरण अभियान गर्दा केही नभएको होइन । सीमा परिवर्तन भएका ठाउँमा एउटा क्रियाशील सदस्यले अर्को सदस्य पनि आफ्नै वडामा पर्छ भन्ने थाहा पायो । धेरै लामो समय भेट नभएका कार्यकर्ताले आपसमा भेट्ने मौका पाए । नेपालका सबै वडामा कांग्रेसको कार्यालय खुल्यो । आफूलाई परेका अप्ठ्यारालाई कांग्रेस कार्यालय गएर व्यक्त गर्ने मौका जनतालाई प्राप्त भयो । नियमित ढंगले कांग्रेस बैठक हुने प्रक्रिया अगाडि बढेको छ । यसैले जागरणले केही गरेन भन्ने होइन । तर, जागरण अभियानले ठूलै उथलपुथल र तरंग ल्यायो भन्नुचाहिँ अस्वाभाविक हो । 

प्रश्नको घेराबन्दी : तल्लो तहसम्मका साथीले सरकारका विषयमा भन्दा कांग्रेसकै विषयमा बढी प्रश्न उठाउनुभएको छ । निर्वाचनलगत्तै किन जागरण सुरु नगरेको ? संरचना किन नबनाएको ? भ्रातृसंस्थालाई यो अवस्थामा किन राखेको ? कांग्रेसका नेताहरू किन विधानसम्मत ढंगबाट नचल्नुभएको हो ? भनेर निरन्तर प्रश्न गर्दै आउनुभयो । किनकि, हाम्रा सबै समस्याको हल विधानले दिएको छ । एउटै विषयमा केन्द्रीय समितिका नेताको फरक–फरक धारणा किन आएको ? भन्ने अनगिन्ती प्रश्नले हामी घेरिनुप¥यो । सरकारले सांसदलाई ६ करोड दिने भनी गरेको निर्णयमा कांग्रेसका केही नेताले ठीक हो अझै बढाउनुपर्छ भने । कसैले बेठीक हो भने । एउटै विषयमा यसरी जिम्मेवार नेताहरूबाट अलग–अलग धारणा किन आउँछ ? सभापतिजीले भारतका विदेशमन्त्रीलाई हाइ-यार्की नमिल्ने गरी किन बधाई दिनुभयो ?


संसद् अवरुद्ध गरेर कांग्रेसले कतिपय विषय उठायो । परिणाममा पु-याउने र सरकारलाई केही विषयमा झुकाउन बाध्य पनि पा-यो । तर, खास मुख्य विषयमा त्यही रवैया किन देखाइँदैन भन्ने महत्वपूर्ण  प्रश्न हाम्रा कार्यकर्ताले उठाएका छन् । विषय उठाउने र परिणाममा नपु-याउने शैलीले हामीमाथि प्रश्न उठेको छ । विपक्षीले कांग्रेसलाई अनावश्यक ढंगले मुछेर भ्रष्टाचारका काण्डमा राष्ट्रिय सहमति छ भन्ने गर्छन् । यसको किन गम्भीर ढंगले खण्डन गरिँदैन ? मिलेमतो नभएको भए त्यसलाई पार्टी नेतृत्वले किन पुष्टि गर्दैन ? 

किन चुक्यो कांग्रेस नेतृत्व ः वाइडबडी, फोरजी होस् वा बालुवाटारको जग्गाको विषय नै किन नहोस्, हामीले यी विषयलाई गम्भीरतापूर्वक लिएनौँ । यी विषयमा छानबिन गर्न प्रक्रिया अघि नबढाएसम्म हामी संसद् चल्न दिँदैनौँ, संसद्मा उठाइरहन्छौँ, संसद् बहिष्कार गर्छौं भनेर हामीले किन भनेनौँ ? टुँडिखेलमा सटर भत्काएर मात्रै भएन, सटर बनाउन आदेश दिने को हो, खोजेर त्यसलाई कारबाही गराउनसम्म हामीले दबाब दिनुपथ्र्यो । तर, हामी यस्ता मुद्दामा निरन्तर चुकिरहेका छौँ । ५० अर्बभन्दा बढीको ठेक्का प्रधानमन्त्रीले सीधै दिन पाउने विषयमा पनि हामी खरो उत्रिएनौँ । संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेताका रूपमा हाम्रो सभापतिले उपस्थित भएर किन ‘नोट अफ डिसेन्ट’ लेख्नुभएन ? उहाँले किन

बैठक बहिष्कार 
गर्नुभयो ? नजाँदा जिम्मेवारीबाट भागेको सन्देश गएन ? बैठकमा गएर ‘नोट अफ डिसेन्ट’ लेख्नुपथ्र्यो, गम्भीर ढंगले आफ्ना कुरा राख्नुपथ्र्यो, असहमति राख्नुपथ्र्यो, मिडियालाई भन्नुपथ्र्यो । तर, नेतृत्वमा यस्तो प्रभावकारिता किन देखिएन ? काण्डैकाण्डैले सरकार घेरिएको छ, तर प्रतिपक्षी सुन्दैन र जोडदार ढंगले किन बोल्दैन भन्ने यो हामीमाथिको प्रश्न हो । जागरण अभियानका क्रममा हाम्रा साथीले उठाएका जायज प्रश्न हुन्, यी । प्रदेश संसद्मा हामी उस्तै कमजोर छौँ । प्रतिपक्षीका रूपमा हामी सशक्त बन्नै सकेका छैनौँ । हामीले जितेका स्थानीय तहमा पनि हाम्रो रणनीति छैन । जितेका ठाउँमा नयाँ र उदाहरणीय ढंगले काम गर्न हाम्रा साथी किन चुकिरहेका छन्, गुनासो एकातिर छ । जित्नेको गुनासो पार्टीले हामीलाई गाइड नै गरेन भन्ने छ । हामी कसरी जाने भनेर निर्देशन नै दिएन भन्ने छ । हाम्रो उपस्थिति कतै पनि देखिने भएन भन्ने प्रश्न हामीमाथि उठेको छ । 

यस्तोमा मूल नेतृत्व मुख्य दोषी हुन्छ । केन्द्रीय समिति दोषी हुन्छ । किनकि, केन्द्रीय समितिले रणनीति बनाउने हो । संघीय संसद्, प्रदेश संसद् र स्थानीय तहमा प्रभावकारी हुने गरी केन्द्रले किन कार्यक्रम दिन सकेन ? संरचनालाई पूर्णता दिने उद्देश्यमा किन काम अगाडि बढेनन् ? संसद्देखि सडकलाई प्रभावकारी बनाउन, सरकारलाई खबरदारी गर्न र आमकार्यकर्तालाई उत्साहित बनाउन पार्टीले परिचालन गर्नै सकेन । 

संविधान हामीले नै जारी गरेकोमा गर्व गर्ने, तर संविधानकै मूलभूत विषय संघीयता र धर्मनिरपेक्षतामाथि प्रश्न गर्ने काम नेताहरूबाट भयो । जस पनि लिन खोज्ने र सँगसँगै संविधानका महत्वपूर्ण उपलब्धिमा प्रश्न गर्दा हामी विरोधाभासमा देखियौँ । संविधान आत्मसात् गरेर यसप्रति इमानदार बन्न यसका मूलभूत मान्यताबारे कहीँ कतै भ्रम नपर्ने गरी आफूलाई प्रस्तुत गर्न आवश्यक छ । नेपालमा संविधान बदल्न आवश्यक छैन, यही संविधानले नेपाललाई समृद्धि दिन सक्छ । तर, यही नेतृत्वले नेपाललाई समृद्धि दिन सक्दैन । त्यसैले नेतृत्वको विकल्प खोज्न आवश्यक छ । संविधानका व्यवस्थाका विकल्प खोजिरहन जरुरी छैन । 

सरकारबारे कार्यकर्ता र जनताको बुझाइ : सरकारविरुद्ध तलका कार्यकर्ता आक्रोशित छन् । जनताबीच उनीहरूले यस्तो आक्रोश लगिरहेका छन् । अपेक्षाअनुसार सरकारले काम गरिरहेको छैन भन्ने बुझाइ तल छ । घोषणापत्र जनतालाई झुक्याउन मात्र प्रस्तुत गरेको रहेछ । प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्षको बोली जनता झुक्याउने खालका मात्रै छन् भन्ने छ । नेकपा मत लिन मात्रै लोकतान्त्रिक बनेर आएको, तर यसको खास उद्देश्य अधिनायकवाद नै रहेछ भन्ने बुझाइ छ ।

कम्युनिस्टले जिते रुन पनि पाइँदैन भनेर हाम्रा सभापतिले बोलेका कुरा हामी बल्ल बुझ्दै छौँ र जनताले पनि बुझ्दै छन् भन्ने कार्यकर्ताको भनाइ छ । हाम्रो अभियानमा जनतालाई जोडेर लान हामीमाथि उठेका प्रश्नको चित्तबुझ्दो जवाफ पहिलो आवश्यकता हो । यस्तो अवस्था पार्टी नेतृत्वले नबनाउने हो भने कांग्रेसलाई जनताले वैकल्पिक शक्तिका रूपमा मान्न सक्दैनन् । सरकारले यति धेरै मसला उत्पादन गर्दा, ज्यादती र कमजोरी गर्दा, जनता नै सरकारप्रति आक्रोशित हुँदा कांग्रेसको जागरणमा कांग्रेसप्रति जनताको आकर्षण किन भएन ? यस्तो देखिनु हामी सुध्रिएका छैनौँ, सुध्रिने बाटामा छैनौँ भन्ने नै हो 

महाधिवेशनको प्रश्न : जागरण अभियानमा उठेको अर्को विषय १४औँ महाधिवेशन किन सारिँदै छ भन्ने हो । देशमा संकटकाल लागेको छ कि महाधिवेशनबाहेक कांग्रेसका अरू प्राथमिक विषय छन् र महाधिवेशन सार्न खोजिँदै छ भन्ने प्रश्न उठेका छन् । चुस्त संगठन बनाएर सशक्त प्रतिपक्ष बन्नुपर्ने अवस्थामा कार्यकाल लम्ब्याउँदै अधिवेशन किन सार्नुप-यो ? अधिवेशन नगर्नुपर्ने कुनै कारण छैन भन्दै क्रियाशील सदस्यता वितरण र सदस्यता नवीकरण गरेर तत्काल १४औँ महाधिवेशन सुरु गर्नुपर्ने माग कार्यकर्ताको छ ।

साथीहरूले निर्वाचनलगत्तै किन जागरण सुरु नगरेको, पार्टी संरचना किन नबनाएको, भ्रातृसंस्थालाई यो अवस्थामा किन राखेको, कांग्रेसका नेताहरू किन विधानसम्मत ढंगबाट नचलेको भन्ने प्रश्न गर्नुभएको छ 
 

अहिलेसम्म पार्टी नेतृत्वमाथि प्रश्न गर्ने ठाउँ पनि तलका साथीलाई थिएन । जागरण अभियानले कम्तीमा केन्द्रीय नेतृत्वलाई प्रश्न गर्ने र आफ्ना गुनासा सुनाउने मौका दियो । हामी प्रतिनिधिले कार्यकर्ताको जे प्रश्न पायौँ, त्यसलाई केन्द्रमा हुबहु ल्याउनुपर्छ । कार्यकर्ताको यस्तो भावनाअनुसार केन्द्रले आफूलाई सुधार्छ कि सुधार्दैन ? यो हेर्न बाँकी छ । महासमितिमा सभापति र वरिष्ठ नेताले प्रतिज्ञा गरेको विषय उल्टिएपछि साथीहरूले महासमिति ठूलो कि केन्द्रीय समिति भनेर प्रश्न गरेका छन् । 

कांग्रेसको अबको नियमित कार्यकाल नौ महिना मात्र बाँकी छ । आगामी फागुनमा महाधिवेशन गर्ने गरी काम सुरु गर्नुपर्छ । एक वर्ष लम्ब्याउने विशेष कारणको छुट र सुविधा पार्टी नेतृत्वलाई छैन । व्यक्तिगत रूपमा परिस्थिति अनुकूल छैन भन्ने लाग्छ भने यो फरक विषय हो । तर, समग्र पार्टीका लागि नौ महिनामा अधिवेशन गर्न नसक्ने कुनै कारण छैन । त्यसैले नौ महिनामा अधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्छ । होइन, १० महिनामा कुनै हालतमा गर्न तयार छैन भनेर अड्डी लिने हो भने चित्तबुझ्दो कारण आउनुपर्छ । नियमित अवस्थामा अधिवेशन नहुने हो भने संक्रमणकालीन व्यवस्थालाई टेकेर अन्तरिम अधिवेशन गर्न ढिलाइ गर्नुहुन्न ।

कार्यकाल बढाएपछि स्थानीय तहको निर्वाचननजिक पुग्दा हामी अधिवेशनतिर लाग्नुपर्ने हुन्छ । यस्तोमा अधिवेशन र निर्वाचनको तयारीमा जुट्ने दोहोरो कार्यभारमा हामी पुग्छौँ । त्यसैले अधिवेशन लम्ब्याउने, संरचना खाली राख्ने, पार्टीको नर्सरीका रूपमा रहेका भ्रातृसंस्थालाई अलपत्र पार्ने विषय पार्टी संगठन र कार्यकर्ताको पक्षमा छैन । यसरी कांग्रेसको अहित हुने कुरालाई यथावत् राखेर हामी कसरी बलियो कांग्रेस बनाउन सक्छौँ ? त्यसैले पहिले यी समस्यालाई समाधान गरौँ । आमनागरिक, मिडिया, बुद्धिजीवी र आमजनताले हाम्रो जागरण अभियानलाई उत्साहपूर्वक हेरेका थिए । तर, अभियानमा मुद्दाको प्राथमिकता छुट्याएर संगठन परिचालनलाई सशक्त बनाउन सकिएन । जनतालाई आकर्षित गर्ने गरी वातावरण निर्माण गर्न सकिएन । 

अन्त्यमा, राजनीतिमा एकैपटक सबै विकल्प बन्द हुँदैनन् । हामीले पहिलो चरणको जागरण कार्यक्रम सकेका छौँ । अब दोस्रो चरणमा यी प्रश्नको हल बोकेर आउनुस् भन्ने कार्यकर्ताको माग छ । नसुल्झेका सबै विषय सुल्झाएर मात्र आउन कार्यकर्ताको निर्देश छ । यी विषय थाती राखेरै आउने हो भने नआउनुस् भन्नुभएको छ । यसैले दोस्रो चरणमा रिक्त संरचनाले पूर्णता पाउनुपर्छ, पूर्णताको प्रक्रिया अगाडि बढ्नुपर्छ । पार्टी केन्द्रका सम्पूर्ण समस्या यथावत् राखेर कर्मकाण्डी जागरण अभियान लिएर फेरि आइरहन जरुरी छैन भन्ने कांग्रेस कार्यकर्ताको सुझाब छ । 
(पौडेल कांग्रेस केन्द्रीय सदस्य हुन्)