१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ८ सोमबार
  • Monday, 21 April, 2025
२o८२ बैशाख ८ सोमबार १२:३८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

हिमाली याकचौँरीपालन संकटमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ८ सोमबार १२:३८:oo

यहाँको थासाङ– २ घट्टेखोलास्थित हिमालयन याक नाकपालन उपसमितिका सदस्य एवं वडासदस्य भीमप्रसाद थकालीलाई पछिल्लो समय याकचौँरीका पाठापाठी हुर्काउन समस्या छ ।

उनका करिब ७० वटा याकचौँरी छन् । पुर्ख्याैली पेसा अँगाल्दै आएका थकालीले पछिल्लो समय याकचौँरीपालन व्यवसाय जोगाउनै गाह्रो परेको बताए । सरकारले हिमाली क्षेत्रका याकचौँरीपालन व्यवसायलाई संरक्षण गर्न अनुकूलनका कार्यक्रम ल्याउन आवश्यक रहेको उनको भनाइ छ । ‘सरकारले हिमाली याकचौँरीपालन संरक्षणका लागि अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकिरहेको छैन,’ उनले भने, ‘हिमालमा चरनक्षेत्रमा घाँस नहुने, वन्यजन्तुको जोखिम र सुख्खा खडेरीले पानीको अभाव हुँदा यो व्यवसायनै लोप हुने अवस्थामा पुगेको छ ।’

जिल्लाका पाँचवटै स्थानीय तहमा करिब चार हजार सात सयभन्दा बढी संख्यामा याकचौँरी छन् । याकचौँरीपालनको व्यावसायिक हकहित र उत्थानका लागि ०७६ सालमा हिमालयन याकचौँरीपालन तथा संरक्षण व्यवस्थापन समिति गठन भएको थियो । त्यसकै उपशाखाअन्तर्गत थासाङ– २ घट्टे खोलामा हिमालयन याकनाकपालन उपसमिति छ ।

थकाली जस्तै थासाङ– २ मा २२ घरधुरीले २२ वटा गोठ खडा गरी करिब सात सयभन्दा बढी संख्यामा याकनाकपालन गर्दै आइरहेका छन् । पुर्ख्याैली व्यवसाय याकचौँरीपालनबाट राम्रो आम्दानी हुने गरेको उनीहरूको भनाइ छ । याक नाकको दुधबाट घ्यू, छुर्पी र मासु उत्पादन हुने गर्छ । यसका अतिरिक्त याक नाकका रगत निकालेर सर्वसाधारणलाई बिक्री गरी वैकल्पिक आम्दानी लिने गरेका छन् ।

थासाङमा हिउँद र बर्खायाममा अलगअलग गोठ स्थान्तरण गरेर याकचौँरीको व्यवस्थापन गर्ने गरिएको छ । बर्खायामको चिसो मौसममा मुलीखर्क, मार्चे र बतासेडाँडा लगेर गोठ सारिन्छ । त्यसपछि बिस्तारै हिउँदयाम लागेपछि बस्ती नजिकको पट्के खर्क, छिप्लुङ खर्क, सेकुङ खर्क, खैक्यु खर्क र लुप्साङ खर्कलगायतका स्थानमा याकचौँरीको गोठ स्थान्तरण गरिने याकचौँरीपालक गौतम शेरचनले जानकारी दिए । याकचौँरीपालन गर्दा गोठालालाई वार्षिक दुई लाख र खाने, बस्ने र लत्ताकपडाको व्यवस्थापन गरिदिने चलन छ ।

पछिल्लो समय हिमाली क्षेत्रमा याकचौँरीपालन संकटमा पर्दै गएको हो । जलवायु परिवर्तनका कारण वातावरणीय क्षेत्रमा परेको असरले याकचौँरीपालन व्यवसाय समस्यामा परेको स्थानीयवासीको अनुमान छ ।

हिमाली क्षेत्रमा समयमा हिउँ नपर्ने, बेमौसममा हिमपात हुने र कुनै वर्ष हिउँ पर्दै नपर्नेजस्ता प्राकृतिक विपतले हिमाली याकचौँरीका लागि आवश्यक चरन क्षेत्रमा घाँस पाइन छाडेको हो ।

हिमालयन याकनाक उपसमितिका याकचौँरीपालक किसानले याकनाकको रगत सर्वसाधारणलाई बिक्री गरेर वैकल्पिक आम्दानी गर्ने गरेका छन् । याकचौँरीको आलो रगत निकालेर बिक्री गर्ने हिमाली क्षेत्रको सदियौँदेखिको सांस्कृतिक प्रचलन हो । प्राकृतिक उपचारका लागि याकचौँरीको आलो रगत सेवन गर्नाले दीर्घरोगीलाई उपचारमा उपयोगी हुने जनविश्वास छ । विशेषगरी ग्यास्ट्रिक, गानोगोला, हाडजोर्नी दुख्ने तथा पेटसम्बन्धी समस्या भएका बिरामीलाई याकचौँरीको आलो रगतले फाइदा पुग्ने बताइन्छ ।

एक वयस्क याकचौँरीबाट २५ गिलासदेखि ४२ गिलाससम्म याकचौँरीको आलो रगत निकाल्न सकिने हिमालयन याकनाकपालन उपसमितिले जनाएको छ । याकचौँरीको रगत सेवन गर्न आउने सर्वसाधारणलाई प्रतिगिलास रु. ३०० को दरमा बिक्री–वितरण गरिन्छ । रासस