
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका– १ बराहक्षेत्र मन्दिरस्थित सप्ताकोशीमा नुहाउने क्रममा डुबेर साेमबार बिहान दुईजना बेपत्ता भएका छन्। उनीहरूकाे खाेजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ ।
खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका– ४ बस्ने ४० वर्षीय नवराज बास्तोला र सुनसरी जिल्लाको इटहरी नगरपालिका– १६ बस्ने १६ वर्षीय जेनिश आचार्य वैशाख ८ गते बिहान साढे ८ बजे नुहाउने क्रममा सो नदीमा डुबेर बेपत्ता भएको बताइएको छ ।
घटनापछि उनीहरूको खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराबाट सुरक्षाफौज खटिएर खोजी गरिरहेकोमा फेला नपरेपछि सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा पाँचजना गोताखोरसहितको सुरक्षा फौज परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।