
अमेरिकाले थप तीन नेपालीलाई चार्टर्ड विमानमा नेपाल ल्याएर छाडेको छ। अवैध रूपमा अमेरिका बस्दै आएका तीन युवकलाई शनिबार दिउँसो काठमाडौं ल्याएर छाडिएको हो।
दाङ, पर्वत र रुकुम पश्चिममा युवकहरू अवैध रूपमा अमेरिका पुगी टेक्सास बस्दै आएका थिए। अमेरिकाको इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले पक्राउ गरी उनीहरूलाई नेपाल ल्याएर छाडेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईका अनुसार चार्टर्ड विमानमा ल्याइएका उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाइएको छ। ब्युरोले सामान्य सोधपुछ गरी उनीहरूलाई छाडेको छ। चार्टर्ड विमानमा चार बंगलादेशीसमेत थिए। उनीहरूलाई ढाकामा छाडेर तीन नेपालीलाई काठमाडौंमा छाडिएको हो।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता त्यहाँ आप्रवासीविरुद्ध धरपकड भइरहेको छ। त्यसमा नेपाली पनि परेका छन्। गत २१ फागुनमा चार्टर्ड विमानमा आठ नेपालीलाई ल्याएर छाडिएको थियो। निष्कासन गरिएका कतिपय नियमित उडानमार्फत आउने गरेका छन्। अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार २० जनवरीयता अमेरिकाबाट ७२ जना नेपालीलाई निष्कासन गरिएको छ। ‘हाम्रो रेकर्डमा हालसम्म अमेरिकाबाट ७२ जना निष्कासन भएको देखिन्छ,’ उनी भन्छन्, ‘अरू केही हाम्रो जानकारीविना पनि आएका हुन सक्छन्।’ अमेरिकाका राष्ट्रपति ट्रम्पले २० जनवरीमा कार्यभार सम्हाल्नेसँगै आप्रवासीविरुद्ध धरपकड सुरु गरेका हुन्।