
स्तरोन्नति गर्न भन्दै राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द हुने भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि राम्रीसम्म स्तरवृद्धि गर्न भन्दै वैशाख ८ गतेदेखि १४ गतेसम्म एक हप्ता राजमार्ग बन्द हुने भएको हो ।
नियमित गाडी सञ्चालनमा आउँदा स्तरोन्नतिको काम प्रभावित भएको भन्दै बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक पाँच घण्टा सडक बन्द गरेर काम अघि बढाउने सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।
साना तथा अत्यावश्यक सवारीसाधनका लागि पैयाखोरिया सातावास किमुचौर कपुरकोट सडक प्रयोग गर्न सकिने विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । ठुला सवारीसाधन भने दैनिक जाममा पर्नेछन् ।
कपुरकोट–दाङ सडकखण्डको स्तरवृद्धिका लागि पटक–पटक यातायातका साधन बन्द गरेर काम गरे तापनि उक्त सडकले पूर्णता पाउन सकेको छैन । जसका कारण, सल्यान, दाङ, रोल्पा, रुकुमका नागरिकले बर्सेनि सास्ती खेप्दै आइरहेका छन् ।