१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 20 April, 2025
नवीन अर्याल काठमाडाैं
Invalid date format १o:५७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एफडिआई प्रतिबद्धता ९३ प्रतिशतले वृद्धि

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:५७:oo
  • गत आवको नौ महिनामा ३० अर्ब एफडिआई प्रस्ताव आएकोमा यस वर्ष ५८ अर्ब प्रस्ताव, साना उद्योग–परियोजनामा विदेशी लगानीकर्ताको चासो

लक्ष्यअनुसार लगानी भित्रिन नसके पनि विदेशी लगानीकर्ताले नेपालको उद्योग, कलकारखाना, पर्यटन तथा सेवामूलक आयोजनामा गरेको लगानी प्रस्तावमा उत्साहजनक वृद्धि देखिएको छ । चालू आर्थिक वर्षको पहिलो नौ महिना (साउन–चैत)मा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता ९३ प्रतिशतले वृद्धि भएको हो । 

नौ महिनामा विभिन्न देशका लगानीकर्ताले चार सय ८० उद्योगमार्फत करिब ५८ अर्ब रुपैयाँ लगानीको प्रस्ताव गरेको उद्योग विभागले जनाएको छ । चैतमा मात्रै ५३ उद्योगका लागि १३ अर्ब ३१ करोड लगानीको प्रस्ताव स्वीकृत भएको छ । फागुनमा १७ अर्ब ८० करोड रुपैयाँको एफडिआई प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । 

चैतसम्म स्वीकृत भएको कुल एफडिआईमध्ये दुई अर्ब ९० करोड रुपैयाँ अटोमेटिक रुलबाट र ५५ अर्ब आठ करोड रुपैयाँ नियमित रुटबाट स्वीकृत भएको छ । विभागले गत वैशाखदेखि ५० करोड रुपैयाँसम्म विदेशी लगानीको स्वीकृति अनलाइन प्रणालीबाट लिन सक्ने व्यवस्था गरेको छ । चैतसम्म एफडिआई स्वीकृत भएका चार सय ८० उद्योगमध्ये चार सय ६८ उद्योग साना लगानीका छन् । आठवटा मध्यम र चारवटा ठुला उद्योगको लगानी स्वीकृत भएको छ । विभागका अनुसार सबैभन्दा धेरै लगानी सेवामूलक उद्योगमा प्राप्त भएको छ । यो अवधिमा ६३ सेवामूलक उद्योगमार्फत ३४ अर्ब ९३ करोड रुपैयाँ लगानी प्राप्त भएको छ । पर्यटनमूलक एक सय ८९ परियोजनामा १८ अर्ब ३९ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ ।

यस्तै, उत्पादनमूलक ३४ परियोजनामा दुई अर्ब ७४ करोड, सूचना तथा प्रविधिमूलक एक सय ८५ परियोजनामा एक अर्ब ११ करोड, कृषिमूलक सात परियोजनामा ७६ करोड, ऊर्जामूलक एउटा परियोजनामा २५ करोड, पूर्वाधारमूलक एक परियोजनामा दुई करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ । 

प्रतिबद्धताको तुलनामा न्यून लगानी आकर्षण
नेपालमा विदेशी लगानी स्वीकृति र वास्तविक आप्रवाहबिच ठुलो खाडल देखिन्छ । प्रतिबद्धता रकमको एकतिहाइ पनि लगानी भित्रिन नसकेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । चालू आवको फागुनसम्म ४४ अर्ब ६६ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता प्राप्त हुँदा वास्तविक रूपमा आठ अर्ब ४९ करोड रुपैयाँ मात्र भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

विदेशी लगानीकर्ताको चासो बढेसँगै नेपालमा बिजनेस भिसा लिनेहरूको संख्या पनि बढेको छ । उद्योग विभागले साउनदेखि चैतसम्म दुई हजार पाँच सय ५५ विदेशी लगानीकर्ता, दुई सय ९७ विदेशी वैदेशिक लगानीका प्रतिनिधि र सात सय ७७ डिपेन्डेन्टलाई बिजनेस भिसाका लागि सिफारिस गरेको छ । जबकि, गत वर्षको सोही अवधिमा १७ सय २० लगानीकर्ता, दुई सय ५६ प्रतिनिधि र सात सय ३३ डिपेन्डेन्टलाई भिसा सिफारिस गरिएको थियो ।