१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ७ आइतबार
  • Sunday, 20 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ७ आइतबार o५:५४:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : उपयुक्त समय !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ७ आइतबार o५:५४:oo

औँसीको दिन थियो । एक व्यक्ति सोही दिन स्नान गर्न भनी समुद्रको किनारमा पुगे । तर, उनी स्नान गर्नुको साटो चुपचाप समुद्रको लहर कम हुने र त्यहाँको भिड घट्ने प्रतीक्षामा बसे । कसैले उनलाई सोधे पनि– भाइ तिमी स्नान गर्न आएका हौ भने किनारमै किन बसिरहेका छौ ? स्नान कहिले गर्छौ ? कि विनास्नान नै फर्किन्छौ ?
ती व्यक्तिले समुद्रतिर देखाउँदै रुखो स्वरमा जवाफ फर्काए– देख्नुहुन्न, यतिखेर समुद्र कति अशान्त छ ? समुद्रमा कति अग्ला–अग्ला छाल उठिरहेका छन् । फेरि किनारमा मानिसको भिड पनि ठुलो छ ।

त्यसैले, जब समुद्रको छाल शान्त हुन्छ र मानिसको भिड कम हुन्छ, तब म स्नान गर्छु । आखिर तत्काल स्नान गर्नैपर्ने त्यस्तो चटारो पनि के नै छ र ? उनको जवाफ सुनेर प्रश्नकर्ता सज्जनलाई हाँसो उठ्यो । उनले हाँस्दै प्रश्न गरे– भाइ, समुद्रका छाल पनि हाम्रा लागि भनेर कहिल्यै रोकिएलान् र ? यी त आइरहन्छन्, गइरहन्छन् । समुद्रमा त छालको धक्कामुक्की सहेरै स्नान गर्नुपर्छ । नत्र त स्नान कहिल्यै गर्न सम्भव हुँदैन । उता हेर त, अरू पनि त्यसैगरी त स्नान गरिरहेका छन् ।

मित्रहरू, हामी सबै यही सोच्छौँ कि सबै प्रकारका अनुकूलता प्राप्त हुन्छ अनि मात्र आफ्नो संकल्पअनुरूप कुनै सत्कर्म गरौँला । तर, सबै प्रकारका अनुकूलता जीवनमा कसैलाई प्राप्त हुँदैन । यो संसार समुद्रजस्तै छ । यहाँ बाँधारूपी छाल हमेसा उठिरहन्छन् ।

एउटा समस्यापछि अर्को समस्या आउँछ । त्यसैले, कुनै पनि सत्कर्म या शुभकर्मका लागि उपयुक्त समयको पर्खाइमा नबसौँ । प्रत्येक दिन र प्रत्येक क्षण सत्कर्मका लागि अनुकूल हुन्छ । सबै ठिक भएपछि मात्र सत्कर्म गर्छु भन्ने सोच्नु मूर्खतासिवाय केही होइन ।