
विभागीय टोली नेपाल पुलिस क्लब अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बाँकेको नेपालगन्ज रंगशालामा शनिबार भएको खेलमा पुलिसले भारतको सिलिगुडी एफसीलाई ४–० ले हरायो । पुलिसको जितमा निर्मला उपाध्यायले दुई तथा मिना देउवा र कप्तान निरु थापाले गोल गरेका हुन् ।
अब, पुलिसले फाइनल प्रवेशको लागि १ वैशाखमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मीले उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४–० ले नै जितेको थियो ।
सुमन सुवेदीको कप्तानीमा रहेको पुलिसले पहिलो हाफमै चार गोल गरेको थियो । मिनाले खेलको १३औं मिनेटमै पहिलो गोल गरिन् । पाँच मिनेटपछि नै निर्मलाले पुलिसको लागि दोस्रो गोल गरेकी हुन् ।
१८ मिनेटमै दोस्रो गोल बेहोरेपछि भारतीय क्लब दबाबमा आएको थियो । टोलीले २२औं मिनेटमा तेस्रो गोल बेहार्यो । रक्षकले बक्सभित्र हातले बल छोएपछि रेफ्री कृष्ण खत्रीले पुलिसलाई पेनाल्टी अवसर दिएका थिए । निर्मलाले ३०औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गरेकी हुन् ।
दोस्रो हाफमा भने सिलिगुडीले सुधारिएको खेल खेलेको थियो । यद्यपि, दुबै टोलीले गोल गर्न सकेनन् ।
नेपालगन्ज रंगशालामा पुलिसले राष्ट्रिय टिमबाट खेलिसकेका गोलकिपर उषा नाथ, समीक्षा घिमिरे, अमृता जैशी, सुस्मा तामाङ र निरुलाई मैदान उतारेको थियो ।
पहिलोपटक आयोजना भएको लुम्बिनी कपमा आठ टोली सहभागी छन् । घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ , सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लबले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएकोे प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले जनाएको छ ।
खेलको प्लेयर अफ दि म्याच पुलिसकी स्ट्राइकर निर्मला घोषित भइन् ।
आइतबार हुने खेलमा बाँके फुटबल संघ र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ ।