
पुस्तक पढ्नु भनेको ज्ञान आर्जन गर्नु नै हो । पुस्तकका विधा धेरै छन् । सबै विधाका पुस्तक पढेर साध्य हुँदैन । चाख लाग्ने विधाका पुस्तक मात्र पढ्ने हो । नेपालसँगै विश्वबारे जानकारी लिन पुस्तक पढ्छु । विद्यालय जीवनदेखि नै उपन्यास, कथा पढ्थेँ । आइए र बिए सकेपछि जागिरको सिलसिलामा इतिहास, राजनीति, सामाजिक, पर्यावरण, संस्कृति र भूगोललगायत पुस्तक पढ्नुपर्थ्यो । पुस्तक पढ्ने क्रममा इतिहासका पुस्तक पढ्न रुचि जाग्दै गयो । अहिले इतिहास र संस्कृतिसँग सम्बन्धित पुस्तक धेरै पढ्ने गरेको छु ।
किराँत मुन्धुम
‘किराँत मुन्धुम’ पढेकामध्ये मलाई मनपर्ने पुस्तक हो । यो पुस्तकलाई इमानसिंह चेम्जोङले लेखेका हुन् । पुस्तक २०१८ सालमा प्रकाशित भएको हो । पुस्तकमा पृथ्वीको उत्पत्तिदेखि मानिसको उत्पत्तिसम्मका विषयमा चर्चा गरिएको छ । जन्मदेखि मृत्युसम्म गरिने क्रियाकलपबारे पुस्तकमा उल्लेख छ । लिम्बू संस्कृति र संस्कार कसरी मनाउने ? कसरी मनाउन थालियो ? भन्ने विषय पुस्तकबाट जानकारी लिन सकिन्छ ।
आदिवासी विद्रोहको इतिहास
यो पुस्तक राजकुमार दिक्पालले लेखेका हुन् । इतिहास लेख्ने गैरजनजाति धेरै छन् । त्यसैले जनजातिको इतिहास नै लेखिएन । लेखिए पनि ढाकछोप धेरै भयो । वि.सं. १६९०–१६९३ (अनुमानित) मा गोर्खामा भएको घले विद्रोह, १८४८ सालको चैनपुरको लिम्बू विद्रोह, १८५० को नुवाकोटको लच्याङमा भएको तामाङ विद्रोह, १८६४ को माझ किराँतमा भएको राईहरूको विद्रोह, १९०७ मा गोरखाको अठार सय क्षेत्रमा भएको भोटे विद्रोह केही प्रसिद्ध विद्रोह हुन् । तर, ती विद्रोहलाई लुकाइयो । सरकारविरुद्ध त्यस्ता धेरै आदिवासी विद्रोह भए, जुन लुकाइए । त्यस्ता लुकाइएका विद्रोहबारे जानकारी लिनका लागि यो पुस्तक पढ्नैपर्छ ।
सबै जातको फूलबारी
म इतिहासको विद्यार्थी पनि भएकाले डोरबहादुर विष्टले लेखेको यो पुस्तक मन परेकामध्ये एक हो । पुस्तक २०३० सालमा प्रकाशित भएको हो । म आइए पढ्दासम्म बाहुन, क्षेत्री, जनजाति, दलित भन्ने जानकारी थियो, तर उनीहरूको संस्कृति, संस्कारबारे अनविज्ञ नै थिएँ । यो पुस्तकले धेरै जातजातिको बसोवास क्षेत्र, संस्कृति, राजनीतिक, सभ्यता, रहनसहनबारे धेरै जानकारी दिन्छ ।
इतिहासप्रकाशमा सन्धीपत्रसंग्रह – भाग १
यो पुस्तक योगी नरहरिनाथले लेखेका हुन् । यो २०२२ सालमै प्रकाशित भएको पुस्तक हो । उनले यो पुस्तक पूर्वदेखि पश्चिम महाकालीसम्म पैदलै हिँडेर लेखेका हुन् । पुस्तकमा थुप्रै लिखित दस्ताबेज संकलन छन् । नेपाल भोट युद्ध, नेपाल इस्ट इन्डिया कम्पनी युद्धबारे उल्लेख छ । यो नेपालका इतिहास जान्न उत्सुक हुने जोकोहीका लागि उपयुक्त पुस्तक हो । मलाई यो पुस्तकले धेरै पुस्तक लेख्ने क्रममा सहयोग पनि पुगेको छ । तिथिमितिसहित सही इतिहास पढ्न यो पुस्तक उपयोगी छ ।
लिच्छविकालका अभिलेख
धनवज्र बज्राचार्यले यो पुस्तक लेखेका हुन् । पुस्तकमा एक सय ९० वटा लिच्छविकालका अभिलेख संकलन गरेका छन् । काठमाडौं उपत्यकाबाहेक टिस्टुङ पालुङसम्म पुगेर अभिलेख संकलन गरिएको छ । लिच्छविकालको इतिहासलाई स्वर्णकालीन इतिहास पनि भनिन्छ । यो समय प्रमाणित इतिहास भएको समय पनि हो । जब किराँतहरू विस्थापित भएर पूर्वतिर लागे । त्यसपछि लिच्छविहरूले धेरै कुराको शिलालेख लेखाए । शिलापत्र लेखकले संकलन गरेका छन् । कसैले काठमाडौंमा किराँत काल दन्त्यकथा हो पनि भन्छन् । लिच्छविकालको अभिलेखअन्तर्गत वि.सं.६९० मा थानकोटमा भेटिएको सिङ लेखिएको शिलालेख पनि संकलन भएको छ । सिंङ भनेको तामाङ, लिम्बू, नेवारमा दाउरा वा काठ भन्ने बुझिन्छ । त्यसैले त्यतिवेला उपत्यकामा किराँत भएको दह्रो प्रमाण भेटिन्छ । यस्ता इतिहासबारे जानकारी लिन पुस्तक महत्वपूर्ण छ ।
गोरखाको इतिहास
यो पुस्तक इतिहासकार दिनेशराज पन्तले लेखेका हुन् । मैले यो पुस्तक भाग चारसम्मै अध्ययन गरेको छु । पुस्तकमा गोरखाका राज्य स्थापना गर्ने द्रव्य शाह हुन् । पुस्तकमा द्रव्य शाहदेखि नरभूपाल शाहको समयसम्म भएका विभिन्न क्रियाकलापबारे उल्लेख छ । राज्य विस्तार, कसरी युद्ध भयो ? कसरी युद्ध लडेसम्मका कुराहरू उल्लेख छ ।