
कर्णाली प्रदेशको तेस्रो ठुलो र मनोरम गिडीदह दालमा पर्यटक आकर्षण गर्न भ्रमण वर्ष घोषणा गरिएको छ । जुम्ला र मुगुमा अवस्थित रारा तालपछि जिल्लाको तेस्रो ठुलो गिडीदहको लम्बाइ १५ सय १० मिटर, चौडाइ तीन सय १० मिटर र गहिराइ ४२.८ मिटर रहेको छ । तातोपानी गाउँपालिका, ४ मा रहेको गिडीदह समुद्री सतहदेखि तीन हजार चार सय ८५ मिटर उचाइमा छ ।
तातोपानी, ४ का वडाध्यक्ष अमरबहादुर रोकायाले नौ सय पर्यटक भित्र्याउने लक्ष्य राखेर भ्रमण वर्ष कार्यान्वयन भइरहेको जानकारी दिए । ०८१ मा भने तीन सय पर्यटकले गिडीदह भ्रमण गरेको उनले बताए । ‘यो वर्ष पर्यटक आगमन तीन गुणाले बढाउने गरी पूर्वाधार पनि तयार गरेका छौँ,’ उनले भने ।
भूतप्रेत लाग्ने भ्रामक प्रचारका कारण तालनजिक जान स्थानीयसमेत डराउन थालेपछि तातोपानी गाउँपालिकाले ०७९ को असोज ४ देखि ६ सम्म पहिलोपटक गिडीदह सम्मेलन गरेको थियो । त्यसपछि भने गिडीदह घुम्नेको संख्या बढ्न थालेको वडाध्यक्ष रोकायाले बताए ।
नन्दप्रसाद चौलागाईं, अध्यक्ष, तातोपानी गाउँपालिका
कर्णाली प्रदेशको तेस्रो गहिरो तालमा मापन भएको गिडीदह भ्रमण वर्षलाई सफल पार्न स्थानीय तहले प्रचारप्रसारलाई जोड दिएको छ । पर्यटनको विकासले तातोपानीमा रोजगारी सिर्जना हुनुका साथै स्थानीय व्यवसाय फस्टाउने अपेक्षा छ ।
गिडीदह भ्रमण वर्ष घोषणा कार्यक्रममा पुगेका कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र शाहीले जुम्ला पर्यटन र फलफूल उत्पादनमा बलियो सम्भावना भए पनि प्रवद्र्धनको खाँचो रहेको औँल्याएका थिए । सबै पर्यटकीय क्षेत्रको विकासका लागि जिल्लाभरका स्थानीय तह एकजुट भएर लाग्नुपर्ने उनको सुझाव थियो ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले गिडीदह कर्णाली प्रदेशको तेस्रो गहिरो तालमा मापन भएको जानकारी दिए । गिडीदह भ्रमण वर्षलाई सफल पार्न स्थानीय तहले प्रचारप्रसारलाई जोड दिएको उनको भनाइ छ । ‘पर्यटनको विकासले तातोपानीमा रोजगारी सिर्जना हुनुका साथै स्थानीय व्यवसाय फस्टाउने र जुम्लाको आर्थिकस्तर माथि उठ्ने अपेक्षा छ,’ उनले भने ।
निकै नीलो र गहिरो ताल भ्रमण गर्न भूगोलविद् स्वर्गीय डा. हर्क गुरुङले ०३० मा प्रयास गरे पनि पदमार्गको अभावले उनी तालसम्म पुग्न सकेका थिएनन् । तालसम्म पुग्न चिसो मौसमको सामना गरी चार–पाँच दिनको उकालो पैदल यात्रा गर्नुपर्छ । रक्तचाप, दमलगायतका दीर्घरोगीलाई हाई अल्टिच्युड लाग्ने जोखिम हुने गरेको छ । हिउँदको ६ महिना हिउँ जम्ने भएकाले बर्खायाममा मात्रै तालको यात्रा गर्न सकिन्छ ।
गिडीदहआसपास कस्तूरी, रेडपान्डा, घोरल, थार, बाघ, भालु, रतुवाजस्ता जनावर र डाँफे, कालिज, फग्रास, ढुकुरजस्ता पक्षीसमेत अवलोकन गर्न पाइने गाउँपालिकाले जनाएको छ ।
पदमार्गदेखि धर्मशालासम्मका पूर्वाधार तयार हुँदै
गिडीदहको पहुँचमार्ग बनाउन सात लाख २५ हजार लगानीमा ६ किलोमिटर पदमार्ग र १० लाख लागतमा गिडीदह जाने २० किलोमिटर सडकको डिपिआर निर्माणको काम भइरहेको छ । त्यस्तै, १५ लाख लगानीमा गिडीदहमा धर्मशाला, खानेपानीको धारा शौचालय निर्माण गरिएको छ । बाटोमा पर्ने नदीमा झोलुंगे पुल निर्माणको काम भइरहेको छ । यस्तै, हाँकु र पाण्डेवडामा पक्की पुल निर्माणका लागि पहल भइरहेको छ । हाँकु त्रिवेणीदेखि फुलचउल्यासम्मको १३ किलोमिटर बाटो निर्माणका लागि डिपिआर गर्ने काम सकिएको छ । संघ, प्रदेश र स्थानीय तहबाट यस क्षेत्रको प्रवद्र्धन गर्न कुल एक करोड ६० लाख बजेट विनियोजन भएको तातोपानी, ४ का वडाध्यक्ष अम्मरबहादुर रोकायाले बताए ।