१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format o९:१९:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी यू–१९ विश्वकपको एसियन छनोट : अफगानिस्तानलाई हराउँदा मात्र नेपाल विश्वकपमा 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१९:oo

उमेर समूहमा नेपाली युवा खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा दमदार प्रदर्शन गरेका छन् । एसिया कपदेखि यू–१९ विश्वकपसम्म नेपालका युवा टोलीले अप्रत्याशित नतिजा निकालेको रेकर्ड छ । अझ यू–१९ विश्वकपमा नेपालले टेस्ट मान्यताप्राप्त राष्ट्रलाई हराएर सनसनी मच्चाएको छ । यही गर्विलो इतिहास बोकेको नेपाली यू–१९ टोलीले नवौँपटक विश्वकप खेल्ने सपनाका साथ अफगानिस्तानविरुद्ध शनिबार मूलपानी मैदानमा प्रतिस्पर्धा गर्दै छ । मूलपानीमा आइसिसी यू–१९ विश्वकपअन्तर्गत एसियन छनोट खेल आयोजना भइरहेको छ । छनोटको अन्तिम दिनमा नेपाल र अफगानिस्तानमध्ये एक टोली मात्र विश्वकपमा पुग्नेछ । 

अंकतालिकामा सहभागी अन्य तीन राष्ट्रको विश्वकप पुग्ने सम्भावना अन्तिम दुई खेलअगाडि नै समाप्त भएको थियो । अंकतालिकाको शीर्ष स्थानमा रहने राष्ट्र मात्र सन् २०२६ मा जिम्बावे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप पुग्नेछ । यही समीकरणमा नेपाल र अफगानिस्तान उभिएका छन् । नेपालको लक्ष्य नवौँपटक विश्वकप खेल्ने हुनेछ । अफगानिस्तान भने आफ्नो टेस्ट राष्ट्रको हैसियतको साख जोगाउँदै विश्वकपमा स्थान सुरक्षित गर्न चाहन्छ । गत संस्करणमा नेपालसँग पराजित भए पनि अफगानिस्तानले छनोटको बाटो अपनाउनुपरेको हो । अफगानिस्तानले पछिल्लोपटक व्यहोरेको हारको बदला लिने उद्देश्यका साथ नेपालविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

सन् २००० मा नेपालले पहिलोपटक यू–१९ विश्वकप खेलेको थियो । त्यसयता नेपालले आठपटक विश्वकपमा आफ्नो सहभागिता जनाइसकेको छ । नेपालले २००० देखि २००८ सम्म लगातार पाँचपटक विश्वकप खेलेको थियो । त्यसपछि सन् २०१२ र २०१६ को विश्वकपमा पनि नेपालले प्रतिस्पर्धा गरेको थियो । सन् २०२४ मा दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकपमा स्थान पक्का गर्न नेपालले आठ वर्ष लगायो । दक्षिण अफ्रिकी विश्वकपमा स्थान पक्का गर्न नेपालले अन्तिम खेलमा युएईलाई सात रनले हराएको थियो । 

यसपटक पनि नेपालले आफ्नो निर्णायक खेलमा अफगानिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने कप्तान नरेन भट्टले बताए । ‘हाम्रो लक्ष्य नै अफगानिस्तानलाई हराएर विश्वकपमा स्थान सुरक्षित गर्ने हो,’ हङकङलाई हराएपछि भट्टले भनेका थिए, ‘यद्यपि, अफगानिस्तान बलियो राष्ट्र हो, तर हामी निर्णायक भिडन्त खेल्न तयार छौँ ।’ 

रनरेटमा अफगानिस्तान अगाडि 
मूलपानी मैदानमा आयोजना भइरहेको छनोटमा नेपाल, अफगानिस्तानसँगै हङकङ, युएई र ओमान पनि सहभागी छन् । नेपाल र अफगानिस्तानबाहेक अन्य तीन राष्ट्रका विश्वकप खेल्ने सपना समाप्त भइसकेका छन् । अंकतालिकामा नेपाल र अफगानिस्तानले तीन खेलबाट समान ६ अंक जोडेका छन् । रनरेटमा अफगानिस्तान नेपालभन्दा बलियो अवस्थामा छ । शनिबार हुने प्रतिस्पर्धामा नेपाललाई एउटै मात्र डर भनेको वर्षा हो । दिउँसोदेखि वर्षाको सम्भावना छ । 

वर्षाका कारण खेल बिथोलिए यसको फाइदा अफगानिस्तानलाई हुनेछ । वर्षाले खेल रद्द हुँदा अफगानिस्तान र नेपालले एक–एक पाउनेछन् । यो नतिजामा अफगानिस्तानले अर्को वर्ष हुने विश्वकपमा स्थान पक्का गर्नेछ । नेपाल भने रनरेटकै कारण छनोट चरणबाट बाहिरिनेछ । पहिलो तथा दोस्रो इनिङ्स हुँदा वर्षा भए मात्र डिएल पद्धति प्रयोग हुन्छ । यदि पहिलो इनिङ्स वा खेलअगाडि वर्षाले खेल्नै अवस्था नआए डिएल पद्धति प्रयोग हुनेछैन । यो स्थितिमा नतिजाविहीन हुँदै दुवै टोलीले अंक बाँड्नेछन् । यसको फाइदामा अफगानिस्तान नै विश्वकपमा छनोट हुनेछ । नेपालको लक्ष्य नै अफगानिस्तानविरुद्ध पूरै ५० ओभर ब्याटिङ र बलिङ गरी नतिजा निकाल्ने हो । नेपाल र अफगानिस्तानले लिग चरणमा युएई, हङकङ र ओमानलाई सहजै हराएको थियो ।

फर्ममा नेपाली खेलाडी
यसपटक नेपालको बलियो पक्ष नै ब्याटिङ र बलिङ हो । यी दुवै क्षेत्रका खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । कप्तान नरेशसँगै साहिल पटेल पनि फर्ममा छन् । ब्याटिङमा नेपालले यी दुवै खेलाडीमाथि बढी विश्वास गरेको छ । बलिङ विभागमा स्पिनर युवराज खत्री उत्कृष्ट फर्ममा छन् । नेपालले पछिल्ला दुई खेलमा जित निकाल्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले दुई खेलमा गरी नौ विकेट हात पारे । यसैगरी, सन्तोष यादवले पनि युवराजलाई गतिलो साथ दिइरहेका छन् । उनले अहिलेसम्म ६ विकेट आफ्नो नाममा लेखाइसकेका छन् । सर्वाधिक विकेट लिने सूचीमा युवराज शीर्ष र सन्तोष दोस्रो स्थानमा छन् । 

मूलपानीमै भएको सिरिजमा अफगानिस्तानसँगको तीन खेलले नेपालले धेरै पक्ष सुधार गरेको कप्तान भट्टले बताए । ‘हामीले अफगानिस्तानसँग मूलपानी मैदानमै सिरिज खेल्दा धेरै पक्षमा सुधार गर्ने अवसर पाएका थियौँ,’ भट्टले भने, ‘सो सिरिजबाट अफगानिस्तानको बलियो र हाम्रो कमजोरी पक्ष केलाउने मौका पायौँ ।’ 

नेपालको यू–१९ टोलीका मुख्य प्रशिक्षक शक्ति गौचनले अफगानिस्तानसँग डराउनुपर्ने अवस्था नरहेको बताए । ‘अफगानिस्तान टेस्ट राष्ट्र हो, तर हामीले आफ्नो खेल खेल्यौँ भने जित निकाल्न सक्छौँ,’ गौचनले भने, ‘अभ्यास खेलबाट नेपालले अफगानिस्तानसँग राम्रो प्रतिस्पर्धा गर्ने सन्देश दिएको थियो, आज हुने निर्णायक खेलमा नेपालले चुनौती दिनेछ ।’

तथ्यांकमा अफगानिस्तान अगाडि
नेपाल र अफगानिस्तानबिचको क्रिकेटमा एउटा संयोग छ । जब–जब नेपालले महत्वपूर्ण प्रतियोगिता खेलिरहेको हुन्छ, त्यसमा मुख्य तगारो नै अफगानिस्तान बन्ने गर्छ । यो सिनियरदेखि उमेर समूहको नेपाली टोलीसम्म यथावत् नै रहेको छ । नेपालभन्दा धेरै पछि क्रिकेट सुरु गरेको अफगानिस्तानले नेपालको सफलताको यात्रामा बाधक बन्ने गरेको छ । यसपटक पनि यू–१९ विश्वकपको निर्णायक मोडमा अफगानिस्तान अगाडि छ । यी दुई राष्ट्रबिच अहिलेसम्म १९ खेल भएका छन् ।

सन् २००७ देखि नेपालले अफगानिस्तानविरुद्ध उमेर समूहमा प्रतिस्पर्धा गरेको हो । अफगानिस्तानले नेपालमाथि १२ खेलमा जित निकालेको छ । नेपालले अफगानिस्तानविरुद्ध केवल सात खेलमा मात्र सफलता चुमेको छ । पहिलोपटकको भेटमा नेपालले अफगानिस्तानमाथि जित निकालेको थियो । नेपालले २०११, ०१८ र ०२४ मा एकपटक जित हात पारेको थियो । गत वर्ष दुईपटकको भिडन्तमा नेपाल अफगानिस्तानमाथि हाबी रह्यो । सन् २०२५ मै मूलपानीमा भएका तीनवटा एकदिवसीय सिरिजमा नेपालले अफगानिस्तानलाई अन्तिम खेलमा हराएको थियो । 

यद्यपि, यो सिरिजलाई आइसिसीले मान्यता दिएको थिएन । नेपालले अफगानिस्तानविरुद्ध दुईवटा खेलमा महत्वपूर्ण जित निकालेको रेकर्ड छ । सन् २०२४ को एसिया कप तथा यसै वर्ष भएको विश्वकपमा अफगानिस्तानलाई हराएको थियो ।