
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारकै कारण १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगन भएको बताएका छन् । खेलकुद क्षेत्रसँग सम्बन्धित संघ–संस्था र प्रशिक्षकसँग शुक्रबार भएको छलफलमा मुख्यमन्त्री कँडेलले राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगन हुनुमा प्रदेश सरकारको कुनै संलग्नता नरहेको दाबी गरेका छन् । गत साता राष्ट्रिय खेलकुद परिषद्को १२२औँ बोर्ड बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले निर्धारित समयमा प्रतियोगिता नहुने निर्णय गरेका थिए ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी ३ देखि १० जेठसम्म हुनुपर्ने थियो । खेलकुद मन्त्रालयले तेस्रोपटक दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सारेको छ । खेलकुदमन्त्री चौधरीले यसअघि मंसिर र चैतमा हुने भनिएको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सारेका थिए । आयोजक कर्णाली प्रदेशले प्रतियोगिता आयोजना गर्न सबै तयारी पूरा गरेको र पूर्वाधार निर्माणमा दुई अर्ब खर्च भएको मुख्यमन्त्री कँडेलले जनाए । ‘प्रतियोगिता आयोजना गर्न हामी तयार छौँ, पूर्वाधार सबै बनिसकेका छन्, हाम्रो कारण नभएर संघीय सरकारले गर्दा नै प्रतियोगिताको मिति फेरि सारिएको हो,’ कँडेलले भने, ‘प्रतियोगिता गर्ने भन्ने, तर आवश्यक तयारीका सम्बन्धमा संघीय खेलकुद मन्त्रालय अलमल गरिरहेको छ ।’ पछिल्लो समय प्रतियोगिताका लागि सुर्खेतमा सचिवालय स्थापना भए पनि देखिने गरी काम नभएकामा मुख्यमन्त्री कँडेलले असन्तुष्टि जनाएका छन् ।
भएको छैन रंगशाला हस्तान्तरण
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुर्खेतमा मुख्य रंगशाला लगभग तयारी अवस्थामा छ । यसै रंगशालामा अधिकांश खेल हुनेछन् । ठेक्का पाएको कम्पनीले रंगशाला अहिलेसम्म आफूहरूलाई हस्तान्तरण नगरेको खुलासा मुख्यमन्त्री कँडेलले गरेका छन् । ‘निर्माण कम्पनीले कुनै वेला रंगशालाको काम १ प्रतिशत बाँकी रहेको र कुनै वेला सम्पन्न भयो भन्ने गरेको छ,’ उनले भने, ‘अहिलेसम्म हामीलाई निर्माण कम्पनीले रंगशाला हस्तान्तरण गरेको छैन, काम सम्पन्न भएर हस्तान्तरण भयो भने बाँकी रकम दिन प्रदेश सरकार तयार छ ।’ कँडेलले निर्माण व्यवसायीले कामभन्दा बढी बहानाबाजी गर्दै हिँडेको आरोप लगाएका छन् । यसैगरी, रिक्त रहेको प्रदेश खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिमा नियुक्तिबारे छलफल गरेर चाँडै टुंगोमा पुग्ने तयारी भएको मुख्यमन्त्री कँडेलले जानकारी दिए ।