१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
टेकराज थामी काठमाडाैं
Invalid date format o६:o६:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मिटरब्याजपीडितमाथि साहुको अत्याचार

ऋण चुक्ता गरे पनि जग्गा फिर्ता दिएनन्, न्याय माग्दामाग्दै श्रीमानकाे हत्या, साहु थुनामुक्त भएपछि ज्यान मार्ने धम्कीले गाउँ छाड्न बाध्य

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:o६:oo

कपाली तमसुकमा हस्ताक्षर गराएर मिटरब्याजमा ऋण लगाउने साहुकारबाट मधेशका विपन्नहरू कति पीडित छन् भन्ने एक उदाहरण हुन्, धनुषाको धनुषाधाम नगरपालिका– २ की ३२ वर्षीया श्यामकुमारी ठाकुर । १४ वर्षअघि लिएको तीन लाख ५० हजार ऋणको हरहिसाब चुक्ता गर्दा पनि साहुले बन्धकी राखेको जग्गा फिर्ता दिएनन्, न्याय माग्दामाग्दै उल्टै श्रीमान्को हत्या भयो । यति मात्रै होइन, श्रीमान्को हत्याका मुख्य योजनाकार साहुकार थुनामुक्त भएपछि ज्यान मार्ने धम्कीका कारण श्यामकुमारी दुई छोरीसहित गाउँ छाड्न बाध्य भएकी छिन् । 

श्यामकुमारीका अनुसार श्रीमान् योगेन्द्र ठाकुरले जग्गा खरिद गर्न १९ भदौ ०६८ मा धनुषाधाम– ३ का शिवाजी यादवसँग तीन लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए । साहु शिवाजीले उक्त ऋण दिएबापत योगेन्द्रलाई नौ लाखको कपाली तमसुकमा हस्ताक्षर गराएका थिए । ऋण चुक्ता नगरेसम्मका लागि खरिद गरिएको जग्गा पनि शिवाजीकै नाममा पास गरिएको थियो । दिनरात मिहिनेत गरेर योगेन्द्रले भाखा राखिएको मितिअगावै नौ लाख चुक्ता गरिदिए, तर जग्गा फिर्ता दिएनन् । यही विवाद बढ्दै जाँदा शिवाजीसहितको समूहले गत १४ साउनमा योगेन्द्रको हत्या नै गरे । मुख्य योजनाकार शिवाजी र धनुषाधाम– २, का रामपुकार मुखियालगायतलाई जिल्ला अदालत धनुषाले थुनामा राख्न आदेश दियो । तर, उच्च अदालत जनकपुरले गत ११ पुसमा शिवाजी र रामपुकारलाई थुनामुक्त गरेपछि श्यामकुमारी छोरीहरूसहित घर छाडेर अन्तै डेरा लिएर बस्न थालेकी छिन् । 

नयाँ पत्रिकाको सम्पर्कमा आएकी श्यामकुमारीले श्रीमान्को हत्याका मुख्य योजनाकार उच्च अदालतको आदेशमा साधारण तारेखमा छुटेपछि ज्यान मार्ने धम्की आएको र घर छाड्न बाध्य भएको गुनासो गरिन् । अहिले आफू र छोरीहरू घरदेखि ६ किलोमिटर टाढा अर्कै गाउँमा डेरा लिएर बसेको उनले बताइन् । ‘श्रीमान्को हत्यामा संलग्न मुख्य योजनाकार शिवाजी यादव हुन् । रामपुकार मुखिया पनि संलग्न थिए । उनीहरूलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकोमा उच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएपछि थुनामुक्त भए,’ उनले भनिन्, ‘उनीहरू छुटेलगत्तै मलाई पनि मार्ने धम्की दिइरहेका छन् । गाउँमा बस्न सक्ने अवस्था रहेन । अहिले घर छाडेर अर्कै गाउँमा डेरा लिएर दुई छोरीसहित बसेकी छु ।’ 

अदालतको आदेशमा अभियुक्तहरू छुटेर ज्यान लिने धम्की आएपछि उनी तल्लो तहबाट न्याय नमिल्ने निचोडमा पुगेकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाले भने ज्यान सुरक्षाको माग गरेर पीडितले उजुरी दिए सुरक्षा दिलाउने जनाएको छ । जिप्रका प्रवक्ता इन्स्पेक्टर बालकृष्ण प्रधानले श्यामकुमारीले उजुरी दिए÷नदिएको विषय यकिन भएकाले अध्ययनपछि मात्रै भन्न सक्ने बताए । ‘श्यामकुमारीले जिउज्यान सुरक्षाका लागि जिप्रकामा उजुरी दिए÷नदिएको स्थिति बुझ्न अध्ययन नै गर्नुपर्ने हुन्छ, अहिले यसै भन्न सकिनँ,’ उनले भने ।

श्यामकुमारीका ९ र १० वर्षका दुई छोरी छन् । कमाइ गर्ने कोही छैन । कोठाभित्रै लुकेर बस्नुपर्ने अवस्थामा रहेकी उनले दुवै छोरीलाई स्थानीय विद्यालयमा पढाइरहेकी छिन् । यसबिचमा न्याय खोज्दै पटक–पटक काठमाडौं धाएकी उनले गृहमन्त्री रमेश लेखकदेखि उपसभामुख इन्दिरा रानासम्मलाई भेटेको बताइन् । तर, अझै समस्या हल हुन नसकेको उनको गुनासो छ । 

‘जनकपुरमा मैले न्याय पाइनँ । न्याय खोज्दै काठमाडौंसम्म पुगेँ । गृहमन्त्री रमेश लेखकलाई भैँसेपाटीस्थित निवासमै गएर भेटेँ । उपसभामुख इन्दिरा रानासँग पनि पीडा सुनाएँ । तर, समस्या हल हुन सकेको छैन,’ उनले भनिन्, ‘ज्यान मार्ने धम्की आउन छाडेको छैन । दुई साना छोरी लिएर ज्यान जोगाउन अब म कहाँ जाऊँ?’ 

ऋण चुक्ता गर्दा पनि साहु शिवाजीले जग्गा फिर्ता नदिएपछि योगेन्द्रले वडा कार्यालयमा समस्या राखेका थिए । वडाले दुवै पक्षलाई राखेर वार्ता गराएको थियो । वडा कार्यालयमा जग्गा फिर्ता गर्न राजी नभएका शिवाजी बाहिर आएपछि फेरिए । शिवाजीले जग्गा फिर्ता नगरेपछि योगेन्द्रले उनीविरुद्ध गत ७ जेठमा जिल्ला प्रशासन कार्यालयमा शिवाजीविरुद्ध मिटरब्याज कसुरमा उजुरी दिए । कार्यालयले शिवाजीलाई पत्र नै काटेर छलफलमा आउन भन्यो । तर, उनी उपस्थित भएनन् । त्यसपछि कार्यालयले शिवाजीविरुद्धको उजुरी इलाका प्रहरी कार्यालय धनुषाधाम पठायो । इप्रकाले उनलाई कार्यालयमा उपस्थित गरायो । दलबलसहित आएका शिवाजीले योगेन्द्रलाई कुटपिट गरे र उल्टै योगेन्द्रविरुद्ध नै कुटपिटको जाहेरी दर्ता गराए । 

विवाद जिल्ला प्रहरी कार्यालय धनुषामा पुग्यो । जिल्ला प्रहरीले शिवाजीविरुद्ध पत्र काटेर छलफलमा बोलायो । तर, उनी उपस्थित भएनन् । केही सिप नलागेपछि जिप्रकाले शिवाजीविरुद्ध पत्र काट्यो । छलफलमा आउन निर्देशन दियो । तर, उनी कार्यालय आएनन् । केही सिप नलागेपछि जिप्रकाले शिवाजीविरुद्ध ठठी कसुरमा मुद्दा दर्ता गर्‍यो । त्यसपछि आक्रोशित शिवाजीले योगेन्द्रको ज्यानै लिने षड्यन्त्र रचे । १४ साउनमा दलबलसहित योगेन्द्रको फर्निचरमै गएर हत्या गरे । 

‘जग्गा खरिद गर्न हामीले शिवाजीसँग तीन लाख ५० हजार ऋण लिएका थियौँ । त्यसबापत नौ लाखको कपाली तमसुक बनाइएको थियो भने खरिद गरिएको जग्गा पनि उसकै नाममा पास गरेका थियौँ । हामीले दुईपटक गरी नौ लाख रुपैयाँ चुक्ता गर्‍यौँ । तर, उसले जग्गा फिर्ता गरेन,’ श्यामकुमारीले भनिन्, ‘पटक–पटक वार्ता भयो । प्रहरीमा उजुरी पर्‍यो । तर, पनि आलटाल गरिरह्यो । यही विषयमा शिवाजी हामीसँग रिसाएका थिए । उनले मेरो श्रीमान्कै ज्यान लिए । हामीमाथि ठुलो अपराध भएको छ ।’ 

यसरी भएको थियो योगेन्द्रको हत्या
धनुषाधाम– २ स्थित खरिद गरेको जग्गामा सानो फर्निचर चलाउँथे योगेन्द्र । उनको परिवार फर्निचरमै बस्थ्यो । १४ साउन ०८१ को दिउँसो ११:३० बजे योगेन्द्र फर्निचरमै थिए । श्रीमती श्यामकुमारी फर्किचरनजिकै कलमा नुहाउँदै थिइन् । यसैक्रममा छिमेकी नागेन्द्र मुखिया फर्निचरभित्र छिरे । मोबाइल निकालेर नुहाउँदै गरेकी श्यामकुमरीको भिडियो खिच्न थाले । योगेन्द्रले भिडियो नखिच्न आग्रह गरे । तर, नागेन्द्रले अटेर गरे । यो विषयमा दुईजनाबिच विवाद बढ्यो । नागेन्द्रले योगेन्द्रको छाती समाते । घिसारेर सडकसम्म ल्याए । बाहिर उनका सहयोगी सुरजी मुखियालगायतको टोली तयारी अवस्थामा थियो । उनीहरू फर्निचरभित्र छिरेर पेचकस, खुकुरी, रड, ड्रिल मेसिन, चिरपटजस्ता धारिला हतियार झिके । धमाधम योगेन्द्रमाथि प्रहार गर्न थाले । योगेन्द्रको टाउकोमा पटक–पटक प्रहार गरेका उनीहरूले पेचकस प्रयोग गरेर आँखासमेत निकालिदिए । सोही चोटका कारण योगेन्द्रको मृत्यु भयो । आक्रमण रोक्न अगाडि बढेकी श्यामकुमारीको टाउकोमा पनि प्रहार गरेका थिए । टाउकोमा ५६ टाँका लगाउने अवस्थाबाट उनी बल्लबल्ल बाँचिन् । 

श्यामकुमारीका अनुसार साहु शिवाजीको आफ्ना छिमेकी सुरजीसँग बाक्लो हिमचिम थियो । शिवाजीकै योजनामा सुरजीले छोरा नागेश्वर र भाइ रामपुकारको सहयोग लिएर आफ्ना श्रीमान्को हत्या गरेको उनको गुनासो छ । ‘साहु शिवाजी र हाम्रा छिमेकी सुरजीबिच बाक्लो हिमचिम थियो । शिवाजी उनको घर आउने–जाने गर्थे । उनीहरूकै योजना र संलग्नतामा मेरा श्रीमान्को हत्या भयो,’ श्यामकुमारीले भनिन् । 

घटनामा प्रत्यक्ष संलग्नमध्ये सुरजी, नागेन्द्र र अन्य दुई नाबालक पुर्पक्षका लागि थुनामा छन् । उनीहरूसँगै शिवाजी र रामपुकारलाई पनि जिल्ला अदालतले गत १० असोजमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध शिवाजी उच्च अदालत जनकपुर पुगेका थिए । उच्चले जिल्लाको आदेश उल्ट्यायो । जनकपुरले जिल्लाको आदेश उल्ट्याएर शिवाजी र रामपुकारलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।