१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format २२:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:२९:oo

१८ वर्ष पहिले बसाइँ सरेर गएका बराहपोखरी गाउँपालिका– ६ मौवाबोटेका वेदबहादुर खड्का पुनः परिवारसहित गाउँ फर्किएपछि गाउँपालिकाले रु. एक लाख प्रोत्साहन रकम प्रदान गरेको छ । 

उनी ०६३ सालमा सप्तरीको सप्तकोशी नगरपालिकाको बलार्दह बसाइँ सरेर गएका थिए । खड्का अहिले परिवारसहित पुनः आफ्नै गाउँ फर्किएका हुन् । 

गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बिहीबार खड्काको घरमै पुगेर प्रोत्साहन रकमको चेक हस्तान्तरण गरे । 

आफ्नो जन्मभूमिप्रतिको माया र छरछिमेकको सदभाव बिर्सन नसकेर पुनः आफ्नै गाउँ फर्किएको उनले बताए । उनले भने, ‘बसाइँ सरेर गए पनि यहाँको जग्गा बेचेको थिइनँ । बाँझिएको जमिन खनजोत सुरु गरेका छौँ ।’

गाउँ फर्किएलगत्तै घर निर्माण गरेका खड्काले आफ्नो परिवारलाई पुनः स्थापित गराउन गाउँपालिकाले ठुलो सहयोग गरेको बताए ।

गाउँपालिकाले हरेक वडामा पूर्वाधार निर्माण गरिरहेको छ । ‘अब सुविधाको खोजीमा कोही बसाइँ सरेर अन्यत्र जानुपर्दैन । यसअघि गएकालाई गाउँफर्क अभियान चलाएका छौँ,’ अध्यक्ष बञ्जराले भने । 

पछिल्लो समय सुविधाको खोजीमा बसाइँसराइ गर्नेहरूका कारण बर्सेनि जनंख्या घट्दै जान थालेपछि जिल्लाका अन्य स्थानीय तहले पनि ‘गाउँफर्क अभियान’ चलाएका छन् । 

पछिल्लो समय जिल्लाका १० वटै स्थानीय तहले  विकासमा फड्को मारे पनि त्यहाँका स्थानीयवासी भने सुविधाको खोजीमा सहर पस्ने क्रम तीव्र छ । 

शैक्षिक क्षेत्रको सुधारका लागि सामुदायिक विद्यालयमा ठुल्ठुला भवन निर्माण गरिएका छन् । बसाइँसराइका कारण विद्यार्थी अभाव हुँदा ती विद्यालय भवन प्रयोगविहीन हुने अवस्था छ ।