
बारामा भएको टिपर र कार ठोक्किँदा मृत्यु भएका दुवैजनाको सनाखत भएको छ । उक्त दुर्घटनामा परी मृत्यु भएका कारचालकको सनाखत भएको हो ।
सनाखत भएका चालक सर्लाही बरहथवा नगरपालिका– ४ सुन्दरपुर चोहरवा बस्ने ५० वर्षीय जितनारायाणप्रसाद साह रहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुसवाहले जानकारी दिए। यस्तै, कारमा सवार सर्लाही बरहथवा नगरपालिका– १५ हजरियन बस्ने ४६ वर्षीय नारायणहरि शर्माको यसअघि नै सनाखत भएको थियो ।
बारामा टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको थियो । पूर्वपश्चिम लोकमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डमा पर्ने जितपुरसिमरा उपमहानगरपालिका– १६ भुइँपुलनजिकै टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो ३ बजे निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको टिपर र पथलैयाबाट निजगढ आउँदै गरेको बा.०१ ०२५ च ५०७६ नम्बरको कार एक–आपसमा ठोक्किएका थिए।
दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरूको उपचारका लागि निजगढ नगरपालिकास्थित प्रसूति अस्पताल लगिएको थियो, तर चेकजाँच गर्दा दुवैजनाको मृत्यु भइसकेको अस्पताल प्रशासनले जनाएको छ।
दुर्घटनापछि टिपरचालक फरार रहेका छन्। उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।