
चीनले अमेरिकाले कर वृद्धि गर्नुको कुनै अर्थ नरहेको बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीनबाट आउने केही वस्तुमा अमेरिकाले लगाएको २४५ प्रतिशत कर अब आर्थिक रूपमा अर्थहीन भएको बताएका हुन्।
ह्वाइट हाउसले अप्रिल १५ मा आफ्नो वेबसाइटमा धारा २३२ को अनुसन्धानबारे एक तथ्य पत्र जारी गर्दै ‘चीनले आफ्नो प्रतिशोधात्मक कार्यको परिणामस्वरूप संयुक्त राज्य अमेरिकामा आयातमा २४५ प्रतिशतसम्म करको सामना गरिरहेको’ जनाएको छ।
एक प्रश्नको जवाफमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘संयुक्त राज्य अमेरिकाले चीनमाथि कर वृद्धि गर्नु एक संख्याको खेल बनेको छ, जसले आर्थिक रूपमा अब धेरै वास्तविक फरक पार्दैन। तर, अमेरिकाले कसरी अरूलाई जबर्जस्ती र धम्क्याउन करलाई हतियार बनाउँछ भन्ने देखाउँछ।’
‘चीन व्यापार युद्ध चाहँदैन, तर हामी उनीहरूसँग पनि डराएका छैनौँ,’ उनले भने, ‘आधारहीन अतिरिक्त कर र व्यापार युद्धले कुनै पनि मुलुक विजेता हुँदैनन्।’
अमेरिकाले कर वृद्धिको साथ संख्याको खेल खेल्दै गयो भने त्यसलाई बेवास्ता गर्ने उल्लेख गर्दै उनले भने, ‘तर, यदि अमेरिकाले चीनको अधिकार र हितमा वास्तविक क्षति पुर्याइरह्यो भने चीनले कडा प्रतिकार गर्नेछ र अन्त्यसम्म आफ्नो अडानमा अडिग रहनेछ।’