
फ्याक्ट्स रिसर्च एन्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल)ले नेपालका विभिन्न क्षेत्रहरूको जानकारी र तथ्यांक संकलन गरी तयार पारेको १०औँ संस्करणको वार्षिक पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक गरेको छ। पुस्तकमा नेपालको प्रमुख क्षेत्रहरू तथा प्रवृत्तिको गहिरो अध्ययन र विश्लेषण गरी संकलन गरिएको तथ्यांकहरूले पाठकहरूलाई विभिन्न क्षेत्रगत विषयहरूमा गहिरो अन्तर्दृष्टि प्रदान गर्ने कम्पनीले जनाएको छ।
डेटा र इन्फोग्राफिककेन्द्रित यस पुस्तकमा क्षेत्रगत तथ्यांकको अन्तर्दृष्टि र विश्लेषण समावेश गरिएको छ। ‘पुस्तकमा नेपाल प्रोफाइल, प्रादेशिक प्रोफाइल, समष्टिगत आर्थिक परिदृश्य, प्रमुख आर्थिक क्षेत्रहरू, पूर्वाधार र सञ्चार, सामाजिक आयामहरू, सार्वजनिक सुरक्षालगायतका आठ खण्डहरू तथा ६४ उपखण्ड समेटिएका छन्,’ फ्याक्ट्स नेपालको विज्ञप्तिमा भनिएको छ, ‘यस संस्करणको पुस्तकमा नेपाल प्रोफाइल र प्रादेशिक प्रोफाइल खण्ड तथा वि.सं. २०७२ सालको भूकम्प र कोभिड– १९ महामारीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई छुट्टै खण्डमा विभिन्न क्षेत्रगत तथ्यांकबाट चित्रित गरिएको छ।’
सन् २०१२ मा स्थापना भएको संस्थाले स्थापनाकालदेखि नै सामाजिक सञ्जाल र छापा माध्यममार्फत आमजनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्यांकीय चित्रहरू प्रस्तुत गर्दै आएको छ ।
स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रूपमा रहेको कम्पनीले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरू पनि सञ्चालन गर्दै आएको छ। साथै, इन्फोग्राफिक्समार्फत राष्ट्रिय टेलिभिजन, समाचारपत्र, जर्नल र अनलाइन समाचार पोर्टलजस्ता विभिन्न मिडिया आउटलेटहरूसँग सहकार्य गरी तथ्यांक र तथ्यहरू सार्वजनिक गर्ने गर्दछ।