
शिक्षकको प्रदर्शनका कारण पाल्पाका सामुदायिक विद्यालयमा भर्ना अभियान पूर्ण रूपमा प्रभावित बनेको छ । यहाँका शिक्षकहरू काठमाडौंकेन्द्रित प्रदर्शनमा सहभागी हुँदा जिल्लाका सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि निष्क्रियजस्तै बनेका हुन्। प्रदर्शनका कारण वार्षिक परीक्षाको नतिजा कार्यक्रम रोकिँदा भर्नासँगै पठनपाठन प्रभावित बनेपछि अभिभावक चिन्तित बनेका छन् । भर्ना अभियानको समयमा विद्यालयका शिक्षक प्रदर्शनमा सरिक हुँदा बालबालिकाको भविष्यमा नकारात्मक असर पर्ने चिन्ता बढेको अभिभावक नारायण रेग्मीले बताए ।
‘वार्षिक परीक्षाको नतिजा अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक भएको छैन, भर्ना कहिले खुल्ने हो हामी अन्याेलमा छौँ, निजी विद्यालयले धमाधम विद्यार्थी भर्ना चलाइरहेको देख्दा हाम्रो मन आत्तिएको छ,’ उनले भने, ‘सामुदायिक विद्यालयमा कहिलेबाट भर्ना सुरु भई कक्षा सञ्चालन हुने हो ? यो विषयमा हामी अभिभावक चिन्तित छौँ ।’
यहाँका सबैजसो सामुदायिक विद्यालयका शिक्षकहरू आलोपालो गरेर काठमाडौं शिक्षकको प्रदर्शनमा सहभागी हुन पुगेका छन् । नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति पाल्पाले पनि बुधबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सहभागी हुन सामुदायिक विद्यालयका शिक्षकलाई आह्वान गरेको छ ।
पाल्पास्थित विभिन्न संघसंगठनका शिक्षक संगठनको हस्ताक्षरसहित विज्ञप्ति निकालेर प्रदर्शनमा सहभागी हुन सम्पूर्ण शिक्षकलाई अनुरोध गरिएको हो । शिक्षक प्रदर्शनका कारण सामुदायिक विद्यालयको वार्षिक परीक्षाको नतिजा औपचारिक रूपमा सार्वजनिक नभएको रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए।
भर्ना अभियान प्रभावित भएसँगै यस वर्ष सामुदायिक विद्यालयमा विद्यार्थी संख्या अघिल्लो वर्षको तुलनामा नबढ्ने नगर शिक्षा अधिकृत काफ्लेको अनुमान छ । मंगलबारसम्म केही विद्यालयले आन्तरिक रूपमा विद्यालयको प्रशासनिक तथा शैक्षिक कार्य सञ्चालन गरे पनि बुधबारदेखि भने सबैजसो विद्यालय बन्द रहेको उनले जानकारी दिए ।
पछिल्ला वर्षमा निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा आकर्षिक भएका यहाँका विद्यार्थी तथा अभिभावकलाई अहिले चलिरहेको शिक्षक प्रदर्शनका कारण निराशा बनाएको काफ्लेको भनाइ छ । उनका अनुसार निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने तयारीमा रहेका यहाँका कतिपय विद्यार्थी विद्यालयको शैक्षिक गतिविधि रोकिँदा अन्याेलमा परेका छन् ।