
हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका– ३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन् । अदानचुली– ३ का आइते बुढाको गोठभित्र रहेका ७० बाख्रामध्ये २६ वटा बाढीपहिरो आउँदा पुरिएर मरेका हुन् ।
भेडीगोठभित्र पहिरो पस्नुका साथै गोठ भत्किँदा २६ बाख्रा मरेका पीडित किसान बुढाले बताए। गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको उनले जानकारी दिए । उनका अनुसार बाँकी बाख्रा हराइरहेकाले खोजी कार्य भइरहेको छ । एक्कासि आएको वर्षाले ठुलो क्षति गरेको बताउँदै बुढाले दुःखकष्ट र मिहिनेतका साथ पालिएका बाख्राको गोठभित्र पहिरो खसेको उल्लेख गरे ।
आज बिहान आएको वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्याएको छ । बिहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरासहित पसलमा राखिएका सामानमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
अविरल वर्षापछिको बाढीले अदानचुलीमा ११ पसल, एक घर र एक भेडीगोठमा क्षति पुर्याएको जनाउँदै ११ वटा पसल बगाएको सञ्चारकर्मी मोहनसिंह बुढाले बताए। वर्षासँगै आएको लेदोसहितको बाढीले अदानचुली– २ का अमृत बुढा, अदानचुली– १ का बुद्धि महतारालगायत व्यवसायीका पसलमा क्षति पुर्याएको उनीहरूले जानकारी दिए। यहाँका अधिकांशका घर तथा टहरामा पानी पसेर स्थानीय प्रभावित बनेका छन् ।