१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ४ बिहीबार
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ४ बिहीबार ११:२८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ४ बिहीबार ११:२८:oo

बुद्धिस्ट मार्टजस्ता कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय बौद्ध तीर्थ पर्यटन प्रवर्द्धनमा प्रमुख स्थान दिलाउने विश्वास 

बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बिआइटिएम)को तेस्रो संस्करण १०–१२ जेठमा आयोजना हुने भएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले पत्रकार सम्मेलन गरेर बुद्धिस्ट–२०२५ को औपचारिक घोषणा गरेको हो । नेपाल पर्यटन बोर्ड र नाट्टाबिच आगामी बुद्धिस्ट ट्राभल मार्ट संयुक्त रूपमा आयोजना गर्ने सहमतिसहित २२ चेतमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । उक्त कार्यक्रममा पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनील शर्मा तथा मार्टकी संयोजक एवं नाट्टाकी वरिष्ठ उपाध्यक्ष जिस्वाँ तुलाधर श्रेष्ठले समन्वयकर्ता र प्रतिनिधिको रूपमा भूमिका निर्वाह गर्ने बताइएको छ ।

बुद्धिस्ट मार्ट १० देखि १२ जेठसम्म काठमाडौं र लुम्बिनी–भैरहवामा आयोजना गरिनेछ । कार्यक्रमको उद्घाटन समारोह र अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी जेठ १० र ११ गते काठमाडौंमा आयोजना हुनेछ भने १२ जेठमा लुम्बिनीमा बिटुबी सत्र, फार्म ट्रिप, नेटवर्किङ डिनर तथा समापन समारोह आयोजना गरिनेछ । कार्यक्रममा १५० भन्दा बढी अन्तर्राष्ट्रिय बौद्ध पर्यटनप्रति अभिरुचि राख्ने खरिदकर्ता तथा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विक्रेताको सहभागिता हुने अपेक्षा आयोजकको छ । 

सहभागी देशहरूमा भारत, चीन, भुटान, म्यानमार, थाइल्यान्ड, मलेसिया, श्रीलंकालगायतका प्रमुख बौद्ध राष्ट्र छन् । मार्टमा ११ सयभन्दा बढी आगन्तुकको उपस्थिति रहने अपेक्षा गरिएको छ, जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरू, बौद्धमार्गीलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदार र सञ्चारमाध्यमका प्रतिनिधिहरू रहनेछन् । 

सहभागीहरूले २८ वैशाखभित्र अनिवार्य दर्ता गर्नुपर्ने बताइएको छ । मार्टको आधिकारिक वेबसाइटमार्फत सहभागीहरूले सहज रूपमा दर्ता गर्न सक्नेछन् । पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले नेपालमा रहेका बौद्ध सम्पदाहरूले विश्वभरिका करोडौँ मानिसहरूसँग भावनात्मक सम्बन्ध राख्ने बताए । उनले भने, ‘बुद्धिस्ट मार्टजस्ता कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय बौद्ध तीर्थ पर्यटन क्षेत्रमा प्रमुख स्थान दिलाउने विश्वास लिएको छु । यसले दीर्घकालीन पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउनेछ ।’

नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले बुद्धिस्ट इन्टरनेसनल मार्ट नेपाललाई केवल बुद्धको जन्मस्थलको रूपमा मात्र होइन, बौद्ध धर्मको गहिरो सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक महत्व बोकेको देशको रूपमा चिनाउने अवसर भएको बताए । यसले निजी क्षेत्र र सरकारी निकायबिचको सहकार्यलाई बलियो बनाउने उनको भनाइ थियो । 

मार्टकी संयोजक तुलाधरले कार्यक्रमको प्रस्तुतीकरण दिँदै भनिन्, ‘हामीले मार्टलाई सहभागीहरूका लागि प्रभावशाली र फलदायी बनाउने गरी विभिन्न सत्र, बिटुबी बैठक, फार्म ट्रिप र सांस्कृतिक कार्यक्रम समावेश गरेका छौँ ।’