
यसअघिको विवादलाई सल्टाएर सरकारी पहलमै कोशी प्रदेशमा १८ र १९ वैशाखमा लगानी सम्मेलन गर्ने निर्णय भएको छ । यसअघि निजी क्षेत्रको अगुवाइमा ११ देखि १३ माघमा लगानी सम्मेलन आयोजना गर्ने तयारी थियो, तर विराटनगरका ठुला औद्योगिक घरानाबिच विवाद उत्पन्न भएपछि सरकारी हस्तक्षेपमा रोकिएको थियो । निजी क्षेत्रले विवाद निरूपण गरेर अगुवाइ गर्न नसकेपछि सरकारी पहलमै लगानी सम्मेलन गर्नेको निर्णय भएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले जानकारी दिए । उनले यसपटक तय भएको मितिमै लगानी सम्मेलन हुने भएकाले तीव्र तयारी गर्न पनि निर्देशन दिए ।
‘१८ र १९ वैशाखका लागि तोकिएको सम्मेलन कुनै हालतमा पनि स्थगित हुँदैन । बरु भव्य रूपमा उद्घाटन हुनेछ’ सम्मेलनको अध्यक्षसमेत रहेका कार्कीले भने, ‘पहिलोपटक आयोजना हुन लागेको सम्मेलनलाई प्रदेशवासीले नै अपनत्व लिएर कार्यान्वयन गर्नुपर्छ ।’ सम्मेलनको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने उनले जानकारी दिए ।
विराटनगरमा आयोजना गर्न लागिएको सम्मेलनमा विभिन्न आठवटा क्षेत्रका एक खर्ब ७० अर्बबराबरका ५४ परियोजना सोकेसमा राखिने लगानी बोर्ड, कोशीका कार्यकारी निर्देशक सरोज कोइरालाले जानकारी दिए । कोइरालाले सम्पूर्ण तयारी पूरा गरेर सचिवालयसमेत गठन गरिसकेको जानकारी दिए ।
लगानी सम्मेलन आयोजक समिति सचिवालयका संयोजक पवनकुमार तिमिल्सेनाले दुईदिने सम्मेलनमा कृषि, पर्यटन, पूर्वाधार, उद्योग, ऊर्जा, स्वास्थ्यलगायतका आठ क्षेत्रमा लगानी भित्र्याउने गरी योजना छनोट भएको जानकारी दिए ।
कोशी प्रदेशका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले हालसालै संशोधन भएका आर्थिक ऐनबाट लगानीको वातावरण सिर्जना भएकाले सम्मेलनलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । ‘लगानी भित्र्याउने वतावरण बनाउन नयाँ भूपउपयोग नीति पनि ल्याउँछौँ र बाधा बनेका कानुन पनि चाँडै संशोधन प्रक्रियामा लैजानेछौँ,’ उनले भने ।
लगानी सम्मेलन भव्य बनाउनु सबैको दायित्व हो : हिक्मतकुमार कार्की, मुख्यमन्त्री, कोशी
वैशाख १८ र १९ मा आयोजना हुने लगानी सम्मेलन कुनै हालतमा पनि स्थगित हुँदैन । प्रधानमन्त्रीज्यूको मुख्य सहभागितामा सम्मेलन आयोजना हुनेछ । पहिलो पटक आयोजना हुन लागेको लगानी सम्मेलन सरकारको मात्रै नभएर सबै कोशी प्रदेशवासीको भएकाले भव्य रूपमा सफल बनाउनु सबैको दायित्व हो । लगानी सम्मेलनमा निजी क्षेत्रका मुख्य संस्थासमेत सहसंयोजक रहेका र एनआरएन तथा विदेशी लगानीकर्ताहरूलाई सहज रूपमा आकर्षित गर्न पनि निरन्तर संवाद भइरहेको छ । सम्मेलन सौहार्दपूर्ण वतावरणमा सम्पन्न हुने विश्वास छ ।
कृषि उत्पादनदेखि सहरमा व्यापारिक कम्प्लेक्स बनाउनेसम्मका परियोजना छनोट
झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, सोलुखुम्बु, संंखुवासभा, तेह्रथुम, इलाम, ताप्लेजुङ, पाँचथर, खोटाङलगायत जिल्लाबाट योजना सोकेसका लागि छनोट गरिएको छ । ‘पाँचतारे होटेल र रिसोर्ट निर्माण गर्नेदेखि कोदोको रक्सी ब्रान्डिङ गर्नेसम्मका योजना समावेश छन्’ तिमिल्सिनाले भने । त्यस्तै अलैन्ची, चिया, एभोकार्डो र किवीखेती, बेसार र छुर्पी उत्पादन, पर्यटकीय ताल निर्माण र सिमसार क्षेत्रको संरक्षण, केबलकार निर्माण, विज्ञान प्रविधि केन्द्र स्थापना, पदमार्ग सञ्चालन, पुरातात्विक क्षेत्रको संरक्षण, नयाँ पर्यटकीय क्षेत्र निर्माण, सहरमा व्यापारिक कम्प्लेक्स निर्माणलगायतका परियोजना समावेश छन् ।
निजी क्षेत्रका दुई संस्थाको विवादले स्थगित भएको थियो यसअघिको तयारी
उद्योग संगठन मोरङ र उद्योग परिसंघ, कोशीमा आबद्ध उद्योगीको विवादले यसअघि तय भएको ११ देखि १३ माघसम्मको सम्मेलन रोकिएको थियो । विराट एक्स्पोसँगै लगानी सम्मेलन गर्ने उद्योगीको एउटा समूहको प्रस्तावलाई अर्को समूहले विरोध गरेको थियो । त्यसपछि प्रदेश सरकारले हस्तक्षेप गरेर एक्स्पो मात्रै आयोजना गर्न दिएर लगानी सम्मेलन धकेलेको थियो । व्यवासायीको अगुवाइमा हुने लगानी सम्मेलनले राम्रो सन्देश नदिने भनेर चौतर्फी आलोचना भएपछि सरकारकै पहलमै सम्मेलन गर्ने निर्णय भएको हो ।