
लुम्बिनी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ५ देखि १२ वैशाखसम्म हुने भएको छ । नेपालगन्ज रंगशालामा एक सातासम्म चल्ने महिला फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगितालाई भव्य बनाउन रंगशाला सरसफाइ, रङरोगन, खेलाडी आवास, यातायातलगायत काम पूरा भइसकेको आयोजकका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिएका छन् । प्रतियोगितामा सहभागी खेलाडीको आगमन सुरु भएको शाहले बताए ।
अहिलेसम्म त्रिभुवन आर्मी क्लब नेपालगन्ज पुगेको छ । नेपाल र भारतका गरी आठ टोलीले प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगितामा घरेलु टिम बाँके–११, नेपाल एपिएफ, नेपाल पुलिस, आर्मी, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलगुडी र रौतहट जिल्ला फुटबल संघले प्रतिस्पर्धा गर्नेछन् ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेताले पाँच लाख पाँच हजार र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछन् ।