
भुटानको थिम्पुमा भएको फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिको पदक विजेता खेलाडीसहितको नेपाली टोलीलाई नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले र महासचिव मानबहादुर भण्डारीसहितका पदाधिकारीले स्वागत गरेका छन् ।
महासंघले त्रिभुवन विमानस्थलमा बुधबार स्वागत गरेका पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पनि बधाई दिएका छन् । महिला ५० केजी तौलसमूहमा आरती बम्जन, ५२ केजी तौलसमूहमा अस्मिता दुवाल र ५४ केजी तौलसमूहमा वर्षा श्रेष्ठले नेपाललाई स्वर्ण दिलाएका थिए ।
५१ केजी तौल समूहमा लक्ष्मण राईले स्वर्ण जितेका थिए । भुटान बक्सिङ संघको विशेष निमन्त्रणामा प्रतियोगिता सञ्चालनका लागि टेक्निकल डेलिगेट हेडका रूपमा नेपालबाट पहिलो अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल पुस्करराज पन्तलाई जिम्मेवारी दिइएको थियो ।