१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ४ बिहीबार
  • Saturday, 19 April, 2025
छोरी (पूजा) मृत भेटिएपछि भावविह्वल आमा रामवतीदेवी, साथमा आफन्त ।
सौरभ यादव राजविराज
२o८२ बैशाख ४ बिहीबार o५:५५:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

साढे तीन वर्षअघि यौन दुर्व्यवहारमा परेकी दलित युवती मृत फेला

अदालतबाट दोषी ठहर भएका युवक दुई वर्षदेखि फरार थिए, युवतीको शंकास्पद मृत्युलगत्तै आमाले उजुरी दिएपछि गाउँबाटै पक्राउ

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८२ बैशाख ४ बिहीबार o५:५५:oo

साढे तीन वर्षअघि यौन दुर्व्यवहारमा परेकी सप्तरीको सुरुंगा नगरपालिका– ७, रामटोलकी दलित युवती पूजा राम मृत भेटिएकी छिन् । पूजाको शव मंगलबार घरदेखि पाँच सय मिटर पर तीनगछियाको पोखरीछेउमा फेला परेको हो । 

प्रहरीले १४ मंसिर ०७८ मा पूजामाथि भएको यौन दुर्व्यवहारमा दोषी ठहर भई फरार रहेका युवक जागेश्वर ठाकुरलाई गाउँबाटै पक्राउसमेत गरेको छ । छोरीको हत्या भएको भन्दै पूजाकी आमा रामवतीदेवीले बुधबार इलाका प्रहरी कार्यालय कडरबोनामा ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएपछि ठाकुर पक्राउ परेका हुन् । उनले त्यतिवेला पूजालाई घरनजिकैको बाँसघारीमा कपडाले मुख थुनेर बलात्कार प्रयास गरेका थिए । घटना हुँदा नाबालक रहेका ठाकुरलाई जबर्जस्ती करणी उद्योगमा २ चैत ०७९ मै सप्तरी जिल्ला अदालतले आठ महिना कैद र सात हजार रुपैयाँ जरिवानाको फैसला गरे पनि उनी बाल सुधारगृह नगई फरार भएका थिए । गाउँमा लुकिछिपी रहेका उनैले छोरीको हत्या गरेको भन्दै पूजाकी आमा रामवतीदेवीले जाहेरी दिएपछि मात्रै प्रहरीले पक्राउ गरेको हो । अदालतबाट सजाय तोकिएपछि फरार रहेका युवक चितवनमा बस्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार उनी एक साताअघि मात्र गाउँ फर्किएका थिए । 

सप्तरीका एसपी ढकेन्द्र खतिवडाले सोमबार राति भाइसँगै घरमा रहेकी पूजा एक्कासि हराएको देखिएको र मंगलबार बिहान शव भेटिएको बताए । ‘सोमबार रातिसम्म १२ वर्षीय भाइ विश्वजितसँग घरमा रहेकी पूजा भाइ सुतेपछि एक्कासि हराएको खुल्न आएको छ,’ खतिवडाले भने, ‘खोजी गर्ने क्रममा मंगलबार बिहान शव भेटिएको हो ।’ पूजा हराएको राति आमा रामवतीदेवी अष्टयाममा सहभागी हुन बाहिर गएकी थिइन् ।

शंकास्पद अवस्थामा शव फेला परेकाले प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुरको सहायताले अनुसन्धान अघि बढाएको एसपी खतिवडाले बताए । मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । 

आधा घण्टा चक्काजाम
घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै स्थानीयले बुधबार सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरेका छन् । युवतीको हत्या भएको र घटनामा संलग्नमाथि कारबाही हुनुपर्ने मागसहित स्थानीयले सुरुंगा नगरपालिका– ५, कुसहास्थित पूर्व–पश्चिम राजमार्गमा साँझ आधा घण्टा चक्काजाम गरेका हुन् । चक्काजाम गरेपछि पुगेको प्रहरी टोलीले घटनाको सूक्ष्म अनुसन्धान गर्दै दोषीलाई चाँडै नियन्त्रणमा लिने प्रतिबद्धता व्यक्त गरेपछि चक्काजाम खोलिएको थियो ।