
वैदेशिक रोजगारीबाट बिदामा स्वदेश फर्किएका एक युवकमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीबाटै दुर्व्यवहार भएको छ। गत आइतबार दुबईबाट फर्किएका धनुषाका सञ्जय ओझामाथि प्रहरीले लछारपछार गर्दै बुटले प्रहार गरेको हो।
प्रहरीसँग झगडा गरेको विषयमा लिएर यसरी प्रहरीले बल प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ भने प्रहरीको कार्यशैलीको तीव्र आलोचना भइरहेको छ। प्रहरीले भने उनलाई नियन्त्रणमा लिइएको, तर दुर्व्यवहार नभएको दाबी गरेको छ।
विमानस्थल प्रहरीका प्रवक्ता एसपी लालध्वज सुवेदीका अनुसार ट्रलीको विषयलाई लिएर विवाद भएको थियो। ओझाले आगमनतर्फको पार्किङसम्म ट्रली लिएर गएका थिए। एक कर्मचारीले त्यहाँसम्म लैजान पाइँदैन भनेपछि युवकले आफूलाई त्यस विषयमा जानकारी नभएको बताए। विवाद भएपछि प्रहरी त्यहाँ पुगेकोमा प्रहरीसँग पनि उनको विवाद भयो। त्यही क्रममा उनले भिडियो खिच्न थालेपछि विवाद चर्किएको थियो। त्यसपछि तीन प्रहरीले उनलाई नियन्त्रणमा लिएर वेटिङ रुममा लगेका थिए। जहाँ उनीमाथि मुक्का र लात्ती प्रहार भएको भिडियोमा देखिन्छ। केही समयपछि उनलाई प्रहरीले छाडिदिएका थिए।
एसपी सुवेदी ती युवकले प्रहरीलाई कुट्ने प्रयास गरेपछि नियन्त्रणमा लिइएको बताउँछन्। ‘उनले अध्यागमनदेखि नै उग्र व्यवहार देखाएका थिए,’ उनी भन्छन्, ‘पार्किङमा पनि प्रहरीमाथि नै कुट्ने प्रयास गरेपछि नियन्त्रणमा लिनुपरेको हो, नियन्त्रणमा लिएको भिडियो आयो, त्यसभन्दा पहिलेको नआएकाले घटना ठुलोजस्तो लागेको हो।’
वैदेशिक रोजगारीबाट स्वेदश फर्कँदा आफ्नै देशको विमानस्थलमा प्रहरीबाट दुर्व्यवहार हुँदा दुःख लागेको युवकले बताएका छन्। प्रहरीले नियन्त्रणमा लिएर आफूलाई कुटपिटसमेत गरेको उनको भनाइ छ।