
मुलुककै ठुला सामुदायिक विद्यालयहरूले नयाँ शैक्षिक सत्रका लागि भर्ना कार्यक्रम स्थगित गरेका छन्। शिक्षकहरू १४ दिनदेखि काठमाडौंमा आन्दोलनमा केन्द्रित भएपछि देशभरका ठुला सामुदायिक विद्यालयहरूले भर्नासहितका कार्यक्रम स्थगित गरेका हुन्।
बुटवलस्थित कालिका मानवज्ञान मावि, बुटवलकै नवीन औद्योगिक कदरबहादुर रिता मावि, कान्ति मावि, रुपन्देहीको मणिग्रामस्थित शान्ति नमुना माविले सूचना जारी गर्दै भर्नाका कार्यक्रम स्थगित गरेका छन्।
यी विद्यालयहरू देशभरमै धेरै विद्यार्थी रहेकामध्येका हुन्। कालिकामा करिब आठ हजार, शान्तिमा ६ हजार पाँच सय र कान्तिमा करिब ६ हजार तथा नवीनमा करिब पाँच हजार विद्यार्थी अध्ययनरत छन्। ठुला विद्यालयमा मात्रै नभएर नयाँ शैक्षिक सत्र शुभारम्भ गर्ने कार्यक्रममा अन्य सामुदायिक विद्यालय पनि अन्योलमा छ।
शिक्षकहरू आन्दोलनमा होमिएर भर्नासहितका कार्यक्रम प्रभावित भएकै वेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्न निर्देशन दिएका छन्। मुख्यमन्त्रीको सचिवालयका अनु्सार उनले शिक्षा सबैको मौलिक हक भएकाले एकजना पनि बालबालिका विद्यालयबाहिर नरहोस् भन्ने उद्देश्यले प्रदेशभर अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, अभिभावक, शिक्षक र सम्पूर्ण सरोकारवालाबिच समन्वय र सहकार्य आवश्यक रहेको उनले बताए।
मुख्यमन्त्री आचार्यले शैक्षिक प्रगतिलाई अझ सुदृढ बनाउँदै कुनै पनि बालबालिका विद्यालयबाहिर नहुने गरी अभियानलाई सफल बनाउन सबै पक्षको सक्रियता अपरिहार्य रहेको बताएका छन्।