
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रक्षा नेपाललाई दैनिक उपभोग्य खाद्यान्न सामग्री र स्यानिटरी प्याड सहयोग प्रदान गरेकोे छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यौनशोषणमा परेका बालिका र महिला, विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाका लागि प्रशंसनीय कार्य गर्दै आएको संस्था रक्षा नेपाललाई बैंकले सो सामग्री सहयोग गरेको हो ।
दुई दशकदेखि विभिन्न हिंसामा परेका महिला, किशोरी तथा बालबालिकाको सुरक्षा र पुनर्स्थापनामा लागिपरेको संस्था रक्षा नेपालले उनीहरूलाई सीप, शिक्षा, काउन्सेलिङ, कानुनी सहयोग, आत्मरक्षा र आत्मजागरूकतामार्फत आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ । बैंकले एक समारोहबिच रक्षा नेपाललाई सामग्रीहरू हस्तान्तरण गरेको हो । बैंकको यो सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै उनीहरूले आगामी दिनमा पनि महिला र बालबालिकाको अधिकारका लागि कार्यहरू गर्दै जान हौसला मिलेको कुरा बताए । समाजमा उल्लेखनीय मानवीय कार्य गर्दै आएको संस्थालाई सहयोग गर्न पाउँदा संस्थाको सञ्चालनमा केही सहजता हुने विश्वास बैंकले लिएको छ ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ । विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ ।
साथै नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभर ६१ जिल्लामा फैलिएका आफ्ना दुई सयवटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।