१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १२:o८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गैँडाको शून्य चोरी सिकार पाँच सय दिन कट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o८:oo

दुर्लभ एकसिँगे गैँडाको चोरी सिकार विगत ५१६ दिनदेखि रोकिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले गैँडा मरे पनि चोरीसिकारी हुन नपाएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार ०८० साल कात्तिक ३० गते निकुञ्जकै पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करले दुईवटा गैँडा मारेका थिए । त्यसको नौ दिनमा नौजना अभियुक्तलाई निकुञ्जले पक्राउ गरी सार्वजनिक गरेको थियो ।

यसयता सुरक्षा रणनीतिमा थप परिवर्तन गरी काम गरिरहेकाले चोरी सिकार हुन नपाएको उनले बताए । चालू आर्थिक वर्षको हालसम्म २४ गैँडा मृत भेटिएका छन् । यी सबै प्राकृतिक कारणले मरेका हुन् । सूचना अधिकारी थापामगरका अनुसार बाघ तथा गोहीको आक्रमणमा परेर, एक–आपसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर, बुढो भएर, भाले गैँडाले थिचेर ती गैँडा मरेका हुन् । निकुञ्ज आसपास बसोबास गर्ने जनता सचेत हुँदा चोरीसिकारीले गैँडा मार्न नपाएका हुन् ।

गत आर्थिक वर्षमा गैँडा २१ वटा मरेका थिए । मरेका गैँडामध्ये १८ वटा प्राकृतिक कारणले हो भने दुईवटा चोरीसिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए । मगरका अनुसार आर्थिक वर्ष ०७९/८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैँडा मरेका थिए । जसमध्ये २० वटा कालगतिले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी सिकारीले मारेका थिए ।
 
विगतमा एक हजार ७१ दिनसम्म चोरी सिकार शून्य भएपछि उत्सवका रूपमा मनाइएको थियो । यसपछिका वर्षहरूमा चोरी सिकार शून्य गर्ने, तर यसलाई उत्सवका रूपमा नमनाउने नीतिअनुरूप काम गरिएको थियो । संख्याका हिसाबले सबैभन्दा बढी गैँडा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेका छन् । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन गैँडा रहेको तथ्यांक छ । यस वर्ष गैँडा गणना गर्ने कार्यक्रम रहे पनि अन्तिम समयमा बजेट व्यवस्थापनमा समस्या भएपछि स्थगन गर्नुपरेको थियो । गणना गर्न नसके पनि अनुगमनलाई तीव्रता दिइएको छ ।