Skip This
हेटौँडा अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम युवाहरूले मेटाए प्रतिष्ठानद्वारा कारबाहीको माग
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 16 April, 2025
Invalid date format १७:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडा अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम युवाहरूले मेटाए प्रतिष्ठानद्वारा कारबाहीको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३५:oo

हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्न माग गर्दै केही युवाहरूले अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम मेटाएका छन्। प्रतिष्ठान र हेटौँडा अस्पतालबिचको विवाद चलिरहेका वेला केही युवाहरूले अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम मेटाएका हुन्।

शनिबार दिउँसो हेटौँडा अस्पताल बचाऊँ तथा सुधार अभियान समितिले अस्पतालको बोर्ड मेटाएका हुन्। सरकारी अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न नहुने भन्दै अभियानमा संलग्न युवाहरूले अस्पतालको बोर्डबाट ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ शब्द रंग दलेर मेटाएका हुन्। अभियानमा संलग्न युवाहरूले हेटौँडा अस्पतालको नाम मात्र उल्लेख भएको नयाँ बोर्ड टाँसेका छन्। 

केही दिनअघि मात्र राखिएको हेटौँडा अस्पतालको उक्त बोर्डमा एकातर्फ निसान छाप र अर्कोतर्फ प्रतिष्ठानको लोगो समावेश गरिएको थियो। अस्पताल र प्रतिष्ठानको विवादको विषयमा सर्वोच्च अदालतमा दायर भएको मुद्दा विचाराधीन अवस्थामा रहेका वेला उक्त बोर्ड झुड्याएपछि अभियानका युवाहरूले विरोध गर्दै आएका थिए। अदालतको फैसलाअगावै अस्पतालले हेटौँडा अस्पताललाई प्रतिष्ठानसँग जोड्न नहुने उनीहरूको दाबी छ।

प्रतिष्ठानद्वारा कारबाहीको माग

यसैबिच, उक्त घटनापश्चात् प्रतिष्ठानले बोर्ड तोर्डफोर्डमा संलग्नलाई कारबाहीको माग गरेको छ। प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै बोर्ड तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरेको हो। 

हेटौँडा अस्पतालपरिसरको बोर्ड तोडफोडप्रति गम्भीर ध्यानाकर्षण भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको छ। प्रतिष्ठानका निमित्त उपकुलपति डा. दिनेशकुमार लम्साल र रजिस्टार भीमसागर गुरागाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा अवाञ्छित र आपत्तिजनक गतिविधिको घोर भर्त्सना गर्दै अस्पतालको बोर्डमा गरिएको तोडफोड कानुनविपरीत भएको उल्लेख गरिएको छ।

२०७६ साल आश्विन २ गते बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पताल सञ्चालनमा रहेको छ। अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्ने तथा सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रतिष्ठानको उद्देश्य रहेको छ।

प्रतिष्ठानका अनुसार हाल १०० भन्दा बढी विशेषज्ञ चिकित्सकहरूबाट दैनिक १ हजार ५०० भन्दा बढी बिरामीलाई सेवा प्रवाह भइरहेको छ। अस्पतालको बोर्ड तोडफोड गरेर अस्पताललाई पुनः रेफर सेन्टरको रूपमा फर्काउने उद्देश्य राख्ने स्वार्थ समूहलाई मात्र लाभ पुग्ने प्रतिष्ठानको दाबी छ 

‘स्वास्थ्य सेवा एक अत्यावश्यक सेवा हो। यस्ता गैरकानुनी कार्यले उपचाररत बिरामीहरू, स्वास्थ्यकर्मी तथा सेवाग्राहीहरूमा त्रास, अन्योल र असुरक्षा उत्पन्न भएको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाका दोषीहरूलाई तुरुन्त छानबिन गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गर्दछौँ।’