
होटेल संघ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन गरेको छ। महोत्सव आगामी वैशाख १ गतेसम्म चल्नेछ। पोखरामा आयोजना गर्न लागेको २०औँ फेवा नव वर्ष महोत्सव–२०८२ मा यहाँ आउने पर्यटकका लागि लक्षित गरी होटेलले आफ्नो दररेटमा २० प्रतिशत छुट गर्ने भएका छन्।
आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो। संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रूपमा रहने जानकारी दिए।
महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुति रहने उनले बताए। बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने जनाइएको छ। पोखराको खहरेचोकदेखि ड्यामसाइडबिचको तीन किलोमिटर सडकमा आयोजना गरिने सो महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहनेछन्।
महोत्सवका अवसरमा संघअन्तर्गतका सदस्य होटेलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्नेछन्। अहिले पोखराका होटेलमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेको र महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्ने संघका अध्यक्ष सुवेदीले जानकारी दिए।
प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमको प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहनेछन्। ब्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रूपमा रहेको छ। लोकदोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुनेछ। महोत्सवको प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिका रहेका छन्।