
बुटवलमा बिहीबारदेखि राष्ट्रिय परिचयपत्र तथा गरिब घरपरिवार परिचयपत्र वितरण सुरु भएको छ । बिहीबार बुटवल उपमहानगरपालिका– ८ को वडा कार्यालयमा एक कार्यक्रमबिच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले वितरण कार्य शुभारम्भ गरे ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पाण्डेयले वडा नं. ८ का ज्येष्ठ नागरिक चुन्नप्रसाद पौडेललाई राष्ट्रिय परिचयपत्र वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
सो अवसरमा नगर प्रमुख पाण्डेयले जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट वितरण हुने राष्ट्रिय परिचयपत्र र गरिब परिचयपत्र जनताको सहजताका लागि स्थानीय तहका वडा कार्यालयमार्फत वितरण गर्न लागिएको भन्दै त्यसमा वडाध्यक्ष तथा जनप्रतिनिधिहरूले सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
वडाबाटै राष्ट्रिय परिचयपत्र तथा गरिब घरपरिवार परिचयपत्र वितरण गर्ने व्यवस्था हुँदा जनतालाई सहज हुने भन्दै नगर प्रमुख पाण्डेयले जनतालाई सहज रूपमा सेवा प्रवाह गर्नु जनप्रतिनिधिको जिम्मेवारी र दायित्व भएको उल्लेख गरे ।
परिचयपत्र वितरण गर्दा टोकन प्रणाली लागू गरी आफ्नो पालोमा बोलाउने र ज्येष्ठ नागरिक तथा असक्तहरूलाई प्राथमिकता दिन पनि नगर प्रमुख पाण्डेले आग्रह गरे ।
उपप्रमुख सावित्रादेवी अर्यालले जनताको सहजताका लागि स्थानीय तहमार्फत परिचयपत्र वितरण गर्ने व्यवस्था भएको भन्दै सहज रूपमा परिचयपत्र वितरण गर्ने कार्यमा जनप्रतिनिधिले सहजीकरण गर्नुपर्नेमा जोड दिइन् ।
बुटवल उपमहानगरपालिका– ८ का कार्यवाहक वडाध्यक्ष तुलबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा वडासचिव विष्णु श्रेष्ठले परिचयपत्र वितरणको तयारी र प्रक्रियाबारे अवगत गराएका थिए । त्यस्तै, बुटवलको वडा नम्बर ३ र ४ मा पनि बिहीबारदेखि परिचयपत्र वितरण कार्य सुरु भएको छ । तीनवटै वडामा प्रमुख पाण्डेय, उपप्रमुख अर्यालले सम्बन्धित वडाका ज्येष्ठ नागरिकहरूलाई परिचयपत्र प्रदान गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
पहिलो चरणमा बुटवलको वडा नम्बर २, ३, ४, ५, ७, ८ र ९ सम्मका ४६ हजार ९८० जनालाई राष्ट्रिय परिचयपत्र तथा एक हजार २६२ गरिब घरपरिवार परिचयपत्र वितरण गर्ने तयारी भएको बुटवल उपमहानगरपालिका पञ्जीकरण शाखाकी अधिकृत संगीता अर्यालले जानकारी दिइन् ।