१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १७:५९:oo
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

वैशाख २७ मा जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुँदै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५९:oo

आगामी वैशाख २७ गते जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको छ। कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा छैटौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको हो। खेलकुद पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको क्लबले विगत १७ वर्षदेखि जुम्लामा खेलकुद विकास, सामाजिक उत्थान र बालबालिकाको हितमा काम गर्दै आएको छ। 

क्लबका संरक्षक तथा अन्तर्राष्ट्रिय ओलम्पियन र गिनिज बुक अफ वर्ल्ड रेकर्ड धावक हरिबहादुर रोकायको नेतृत्वमा यो प्रतियोगिता हरेक वर्ष हुने गरेको छ। यस वर्ष अल्ट्रा म्याराथनमा केही फरक गरिएको क्लबका अध्यक्ष सरोज शाहीले बताए। उनले भने, 'अन्तर्राष्ट्रिय मापदण्डअनुसार दूरी ५१ किलोमिटर तोकिएको छ, जुन अघिल्ला वर्षहरूमा ४९ किलोमिटर रहेको थियो। दौडको रुट पनि परिवर्तन गरिएको छ, जसमा खालीदेखि न्याउरीघाटसम्मको नयाँ पदमार्ग निर्माण भइरहेको छ। जुम्लादेखि रारासम्मको पदयात्रा प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने क्लबले विश्वास लिएको छ । यस परियोजनाका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय जुम्लाबाट बजेट व्यवस्थापन भएको छ,' उनले भने, 'नयाँ रुट माथिल्लो मिलीचौरदेखि राराताल किनार, ठाकुर बाबाको मन्दिर हुँदै हुटुमा समापन हुने गरी तय गरिएको छ।'

नयाँ पदमार्गले भेडा, गाईजस्ता पशुचरन, घाँस दाउरा संकलन र दैनिक जीवन सहज बनाउन मद्दत गर्नेछ । साथै, दौडमा सहभागी खेलाडीहरूले तिरेको दर्ता शुल्कको १० प्रतिशत उच्च पर्वतीय प्रशिक्षण भवन निर्माणका लागि छुट्याइने निर्णय गरिएको छ, जुन क्लबका संरक्षक हरिबहादुर रोकायले प्रदान गरेको जग्गामा निर्माण हुने क्लबका अध्यक्ष शाहीले बताए।

जुम्ला-रारा अल्ट्रा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छ। इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र युटिएमबीबाट प्रमाणित प्रतियोगिता हो । दौड पूरा गर्ने सहभागीले आइटिआरएबाट ३ अंक र युटिएमबी अंक प्राप्त गर्नेछन्, जसले अन्तर्राष्ट्रिय ट्रेल रेसमा भाग लिन योग्यता गणना हुने क्लबका सचिव मधुराज न्यौपानेले बताए।

'यो वर्षको प्रतियोगिता एसिया ट्रेल मास्टर्सका लागि नेपालबाट दोस्रो तथा अन्तिम छनोट प्रतियोगिता पनि हो,' उनले भने, 'पहिलो छनोट मञ्जुश्री ट्रेल रेस काठमाडौंमा भइसकेको छ र विजयी खेलाडीहरू सेप्टेम्बरमा भियतनाममा हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।'

तीन विधामा दौड प्रतियोगिता

प्रतियोगितामा तीन विभिन्न विधा रहेको क्लबका सचिव न्यौपानेले बताए। जसमा ५१ किलोमिटर अल्ट्रा दौड, ५ किलोमिटर खुल्ला दौड (उद्योगी, व्यापारी, कर्मचारी) र १० किलोमिटर विद्यार्थी दौड (१९ वर्ष मुनी)। करिब १,००० सहभागीको लक्ष्य राखिएको यस दौडमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय धावकहरूको सहभागिता रहने छ । विगतमा बेलायत, नेदरल्याण्ड, भारत, इटाली र अमेरिकाबाट समेत धावकहरूले भाग लिएका थिए ।  दौड चन्दननाथ भैरवनाथको आँगन, खलंगा बजार, जुम्लाबाट शुरु भई मुगुको रारा तालको हुटुमा समापन हुने उनको भनाई छ । 
आर्कषक पुरुस्कार

दर्ता शुल्क र पुरस्कार राशी पनि आकर्षक रहेको क्लवका सहसचिव धनराज सुनारले बताए । उनका अनुसार ५१ किलोमिटर अल्ट्रा दौडका लागि सार्क राष्ट्रका धावकहरूले १४,५०० र अन्य देशका धावकहरूले २०,००० रूपैयाँ तिर्नुपर्नेछ भने नेपाली र स्थानीय धावकहरूका लागि शुल्क ५,००० रूपैयाँ तोकिएको छ । कुल पुरस्कार राशी ५ लाख ९४ हजार रूपैयाँ रहेको छ, जसमा ५१ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटरका विजेताहरूलाई नगद, पदक र प्रमाणपत्र प्रदान गरिनेछ । 

५१ किलोमिटर प्रतियोगितामा प्रथम हुने महिला पुरुष दुवैतर्फ एक÷एक लाख रुपियाँ पुरस्कार राशी रहेको छ । यस्तै (महिला र पुरुष) दोस्रो स्थान हासिल गर्नलाई ७५ हजार, तृतिय ५० हजार, चौथो २० हजार र पाँचौँ स्थान हासिल गर्नेलाई पनि २० हजार रुपियाँ पुरस्कार प्रदान गरिने जनाएको छ । 

पाँच किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई (महिला र पुरुष) पाँच हजार, दोस्रो तीन हजार र तृतिय हुनेलाई तीन हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । विद्यालय स्तरीय १० किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई (महिला पुरुष) १० हजार, दोस्रो हुनेलाई ६ हजार र तृतिय हुनेलाई ४ हजार रुपियाँ पुरस्कार राशी रहेको छ । यस्तै पदक, मेडल र प्रमाण पत्रले पनि विजेता खेलाडीलाई सम्मान गरिने जनाएको छ ।   

प्रतियोगिताको सफलताका लागि कर्णाली खेलकुद क्लबले चारवटा चेकपोइन्ट, विभिन्न उपसमिति र रुटका गाउँबस्तीमा स्वागत समितिहरू गठन गरेको छ । सबै सहभागी र व्यवस्थापनमा खटिने कर्मचारीहरूको दुई लाख रूपैयाँ बराबरको दुर्घटना बिमा पनि गरिएको छ । कुल अनुमानित खर्च २५ लाख ७४ हजार रूपैयाँ रहेको छ । जसका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय जुम्ला, राष्ट्रिय खेलकूद विकास परिषद् र चन्दननाथ नगरपालिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

हामीले स्थानीय समुदाय, खेलाडी र पर्यटकहरूबीचको सम्बन्ध मजबुत बनाउन यो प्रतियोगिता आयोजना गरिरहेका छौँ । सबैको सहयोगले हामी यो सपना साकार पार्नेछौंँ। यो दौड केवल प्रतियोगिता होइन, कर्णालीको पहिचान र सम्भावनालाई विश्वसामु देखाउने अवसर हो । म आफ्नो अनुभव र नेतृत्वले यसलाई सफल बनाउन प्रतिबद्ध रहेको क्लवका संरक्षक तथा प्रशिक्षक रोकायाले बताए ।

जुम्ला रारा अल्ट्रा म्याराथनले हिमाली र पहाडी क्षेत्रमा आयोजना हुने विश्वस्तरका साहसिक खेलकुद प्रतियोगितामा नेपालको उच्च स्थानलाई कायम राख्ने क्लबका संरक्षक रोकायाको भनाइ छ । उनले भने, 'कर्णालीलाई ‘रोग र भोक’ भन्दा माथि उठाएर नयाँ परिचय दिन यो दौड महत्वपूर्ण कदम हो । सबै जिल्लावासी, स्थानीय पालिका, सुरक्षा निकाय, पत्रकार, विद्यालय, स्वास्थ्य क्षेत्र र खेलप्रेमीहरूलाई सहयोगका लागि अपिल गर्दछु ।'