
परराष्ट्रमन्त्री डा. आरजु राणाले पछिल्लो समय वैदेशिक सहायता केही कमी भए तापनि निरुत्साहित हुन जरुरी नरहेको बताइन । नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारणसभामा बोल्दै उनले आन्तरिक तथा बाह्य लगानीका लागि उपयुक्त वातावरण बनाएर अगाडि बढ्ने बताइन् ।
मन्त्री राणाले आर्थिक विकास र प्रगतिको आकांक्षा निजी क्षेत्रको सहभागिता र सक्रियताबाट मात्र सम्भव भएको बताइन् । स्रोतको अभावको बाबजुद पनि आर्थिक विकासको आकांक्षा पूरा गर्न सरकार ठुला पूर्वाधार निर्माणमा केन्द्रित भएको उनको भनाइ थियो । ‘आर्थिक विकास र समृद्धिको बाधकका रूपमा देखिएको राजनीतिक अस्थिरतालाई चिर्न वर्तमान सरकार गठन भएको हो,’ उनले भनिन्, ‘सरकार गठनपश्चात्र निजी क्षेत्रलाई सहजीकरण गर्न विभिन्न नीतिगत तथा कानुनी जटिलता फुकाइएको छ ।’
निजी क्षेत्रको कार्यक्रममा आधा दर्जनभन्दा बढी मन्त्रीहरू सहभागी भएको औँल्याउँदै उनले भनिन्, ‘आजको उपस्थितिले देखाउँछ कि सरकार निजी क्षेत्र र अर्थतन्त्रप्रति कति सिरियस छ, निजी क्षेत्रलाई समृद्धिको यात्रामा प्रोत्साहित गरिरहेको पुष्टि गर्छ ।’
मन्त्री राणाले आर्थिक नीतिको सुधार एवं प्रगतिलाई तीव्र बनाउन सरकार संवेदनशील भएर अघि बढिरहेको बताइन् । देश राजनीतिक स्थिरता र विकासको बाटोमा अघि बढिरहेका वेला अस्थिरताको वातावरण कसैले पनि बनाउन नहुने उनको भनाइ थियो ।