१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format o७:३५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निजी विद्यालयको मिलेमतोमा दमक नगरपालिकाले तोक्यो चर्को शैक्षिक शुल्क

नगर प्रमुख रामकुमार थापा भन्छन्— निर्णय कार्यपालिकाले पारित गरेको छैन, तसर्थ यो निर्णय तत्काल कार्यान्वयन हुँदैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:३५:oo

निजी विद्यालयसँगको मिलेमतोमा दमक नगरपालिकाले चर्को शुल्क तोकेको छ । केही दिनअघि नगरपालिकाले निजी तथा संस्थागत विद्यालयको वर्गीकरण गर्दै शुल्क तोकेको हो ।नगरपालिकाले दमकका निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’मा वर्गीकरण गर्दै त्यहीअनुसार शुल्क तोकेको छ । जुन शुल्क विगतमा विद्यालयले लिइरहेको भन्दा ५० प्रतिशतले बढी हो । वर्गीकरणको ‘क’ श्रेणीमा रहेको सूर्योदय अंग्रेजी विद्यालयले गत शैक्षिक सत्रमा कक्षा ३ मा मासिक तीन हजार शुल्क तोकेको थियो । तर, नगरपालिकाले निर्धारण गरेको नयाँ शुल्कअनुसार अब विद्यालयले मासिक चार हजार चार सयसम्म लिन पाउनेछ । 

यस्तै, दमककै सिद्धार्थ अंग्रेजी विद्यालयले गत वर्ष कक्षा ७ मा मासिक तीन हजार पाँच सय रुपैयाँ शुल्क लिएको थियो । नगरपालिकाले निर्धारण गरेको नयाँ शुल्कअनुसार अब विद्यालयले कक्षा ७ मा मासिक पाँच हजार दुई सयसम्म असुल्न पाउनेछ । दमक नगरपालिकाले मासिक शुल्कमा मात्र होइन विद्यार्थी भर्ना, वार्षिक शुल्क, परीक्षा, कम्प्युटर, विशेष प्रशिक्षण, प्रमाणपत्र शुल्कलगायत शीर्षकमा यसअघि विद्यालयले लिइरहेको शुल्कभन्दा झन्डै ५० प्रतिशत बढी लिनसक्ने गरी शुल्क निर्धारण गरेको छ । 

दमक नगरपालिकाको शिक्षा समितिले बनाएको शुल्क निर्धारण समितिको सिफारिसमा कार्यपालिकाले अनुमोदन गरेर यो शुल्क लागू गरिएको थियो । शुल्क निर्धारण समितिमा निजी विद्यालय सञ्चालकका तर्फबाट तीनजना प्रतिनिधि थिए । उनीहरूको प्रभावमा परेर मिलेमतोमा चर्को शुल्क निर्धारण गरिएको स्रोतकोे दाबी छ । ‘नगरपालिकाले यो कसैको प्रभावमा परेर गरेको निर्णय होे । यसले अभिभावकलाई मर्कामा पारेको छ,’ सूर्योदय अंग्रेजी विद्यालयमा छोरा पढाउँदै गरेका दमकका महेश घिमिरे भन्छन्, ‘हिजो कम शुल्क लिने विद्यालयले पनि अब चर्को मूल्य लिनेछन् । यसको दोषी दमक नगरपालिका हुनेछ ।’

यद्यपि, सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि दमक नगरपालिकाले तत्काल यो निर्णय कार्यान्वयन नहुने भन्दै विज्ञप्ति जारी गरेको छ । नगर प्रमुख रामकुमार थापाले कार्यपालिका बैठकले पारित नगरेको भन्दै यसले वैधता नपाएको बताए । ‘कार्यपालिका बैठकले पारित गरेको छैन,’ उनले भने, ‘तसर्थ यसले वैधता पाएको छैन । यो निर्णय तत्काल कार्यान्वयन हुँदैन ।’

शिक्षा समिति संयोजक कुवेर भट्टराईले भने यसअघि बसेको कार्यपालिका बैठकले नगर शिक्षा समितिको शुल्क निर्धारण र विद्यालयको वर्गीकरणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको बताए । उनले निर्णय प्रमाणीकरण गर्न बाँकी रहेकाले आलोचना भएपछि मेयर थापाले निर्णय प्रमाणीकरण नगरी कार्यपालिकाले पास नगरेको बहाना बनाएको आरोप लगाए । ‘शुल्क निर्धारण गर्दा अधिकतम कतिसम्म लिने भनेर निर्धारण गरेका छौँ । यसअघि विद्यालयमा एकरूपता थिएन । शुल्कमा अधिकतम कति लिने भन्ने भए पनि शिक्षा ऐन र नियमावलीअनुसार नै हुन्छ,’ उनले भने, ‘गत वर्ष जुन विद्यालयले जति लिइरहेका छन् । त्यसको दश प्रतिशतभन्दा धेरै लिन नै पाउँदैनन् ।’

 सामुदायिक विद्यालयमा समेत छैन निःशुल्क शिक्षा
दमक नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा समेत निःशुल्क शिक्षा छैन । यहाँका सामुदायिक विद्यालयमा समेत सहयोगका बहानामा शुल्क लिइरहेका छन् । दमक नगरपालिकाले बनाएको शिक्षा ऐनमा माध्यमिक शिक्षा निःशुल्क हुने उल्लेख छ । तर, ऐनविपरीत सामुदायिक विद्यालयले आफूखुसी शुल्क असुल्दा पनि नगरपालिका मौन छ । २१ वटा सामुदायिक विद्यालयले कति शुल्क उठाउने भन्ने कुनै मापदण्ड छैन । विद्यालयले आफूखुसी शुल्क लिइरहेका छन् । गत वर्ष सुमना श्रेष्ठ शिक्षामन्त्री हुँदा उनले सबै स्थानीय तहलाई माध्यमिक तहसम्म भर्ना शुल्क, मासिक पढाइ शुल्क, पाठ्यक्रमलगायत कुनै पनि शीर्षकमा शुल्क नलिन परिपत्र गरेकी थिइन् । तर, दमक नगरपालिकाका सामुदायिक विद्यालयले अनेक बहानामा शुल्क लिँदै आएका छन् ।