१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २८ बिहीबार
  • Friday, 18 April, 2025
२o८१ चैत २८ बिहीबार o७:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अर्घाखाँचीमा दुईदिने पाणिनि तपोभूमि सम्मेलन सुरु, नेपाललाई देवभूमिका रूपमा चिनाउन ऋषिहरूको ठुलो भूमिका छ : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २८ बिहीबार o७:oo:oo

अर्घाखाँचीमा बुधबारदेखि पाणिनि तपोभूमि सम्मेलन सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनि गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा दुईदिने सम्मेलन सुरु भएको हो । पाणिनि ऋषिले पाणिनिमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको इतिहास छ । विश्वको प्राचीन भाषा संस्कृत व्याकरणको उत्पत्ति र रचना भएको पाणिनि तपोभूमिको गरिमा र महत्वलाई उजागार गर्दै यहाँको विकासमा ध्यान केन्द्रित गर्न सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गरेका छन् । उनले नेपालको भूमि ध्यानभूमि, ज्ञानभूमि तथा देवभूमिका रूपमा रहेको र यसका लागि महर्षि पाणिनिसहितका ऋषिहरूको ठूलो भूमिका रहेको बताए । प्रधानमन्त्री ओलीले पाणिनिले मात्र नभई शिव, शृंगेश्वर ऋषि, पतञ्जली र अन्य महर्षिको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्रभूमिका रूपमा नेपाल रहेको बताए । उनले अब पाणिनि तपोभूमिको विकासका लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । 

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विकासप्रतिको तीव्र आकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । पाणिनि सम्मेलनले प्राचीन ज्ञानको संरक्षण र लुम्बिनी प्रदेशको पर्यटन विकासलाई नयाँ उचाइमा पुर्‍याएको र तपोभूमिको गौरवलाई विश्वसामु उजागर गर्नु सम्मेलनको उद्देश्य रहेको बताए ।कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारीले नेपालको विकासका लागि दूरदर्शी योजना अगाडि बढाउनुपर्ने बताए । कार्यक्रममा एमाले नेता प्रदीप ज्ञवाली, लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगर, पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेलगायतले यस क्षेत्रबारे चर्चा गरेका थिए । 

त्यस्तै, प्रधानमन्त्रीले महर्षि पाणिनि मन्दिरको शिलान्यास पनि गरेका छन् । मन्दिर उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालय, रुपन्देहीको लगानीमा बन्नेछ । पाणिनिलाई संस्कृत व्याकरणका पिता मानिँदै आएको छ र यस स्थललाई ध्यानभूमि, ज्ञानभूमि तथा देवभूमिका रूपमा प्रचारप्रसार गर्दै धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित २७ लाख ४५ हजार ७२६ रुपैयाँ लागतमा मन्दिर बन्न लागेको हो ।