१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २८ बिहीबार
  • Friday, 18 April, 2025
कृष्ण रिजाल काठमाडाैं
२o८१ चैत २८ बिहीबार o६:४५:oo
Read Time : > 9 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आफैँले गठन गरेका आयोगले खर्च कटौती गर्न दिएका सुझाव कार्यान्वयन गर्दैन सरकार

सरकारले सार्वजनिक फजुल खर्च कटौती नगर्दा कर्मचारीलाई तलबभत्ता खुवाउनसमेत सकस, आर्थिक असन्तुलन बढ्दै जाँदा २५ चैतसम्ममा राजस्व आम्दानीभन्दा खर्च एक खर्ब ८१ अर्बले बढी

Read Time : > 9 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत २८ बिहीबार o६:४५:oo

नयाँ गाडी र फर्निचर खरिद नगर्नेदेखि परामर्श सेवा नलिनेसम्मका मापदण्ड बनाइन्छन्, कार्यान्वयन हुँदैनन् 

अर्थमन्त्री विष्णु पौडेलले ३ चैतमा संसद्लाई सम्बोधन गर्दै आर्थिक असन्तुलनको दुःख बिसाए– लक्ष्यअनुसार राजस्व उठ्न सकेको छैन, खर्च भने बढिरहँदा चालू खर्च धान्नसमेत धौ–धौ परेको छ । तर, यस्तो अवस्था आउन सक्ने अनुमान ६ वर्षअघि ०७४/७५ मै गरिएको थियो । सरकार आफैँले गठन गरेको सार्वजनिक खर्च पुनरावलोकन आयोगले फजुल खर्च कटौती गर्न दिएको सुझावलाई बेवास्ता गर्दा राजस्व संकलन र खर्चबिच सन्तुलन बिग्रिएको हो ।

तत्कालीन सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५ ले फजुल खर्च कटौती तथा मितव्ययिता अपनाउन सुझाव दिँदै त्यसो नगरिए भविष्यमा सार्वजनिक वित्त व्यवस्थापनमा समस्या आउने चेतावनी दिएको थियो । सरकारले ६ वर्षसम्म गोप्य राखेर बल्लतल्ल प्रतिवेदन सार्वजनिक त गर्‍यो, तर कार्यान्वयन भने गरेन । त्यसअघि पनि सरकारले यस्ता दुई आयोग बनाएको थियो, तर सुझाव भने पालना गरेको थिएन ।

सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०५७ र सरकारी बजेट व्यवस्थापन तथा खर्च प्रणाली पुनरावलोकन आयोग, २०६६ ले पनि अनावश्यक खर्च कटौती गर्न सुझाव दिएका थिए । तर, सरकार खर्च कटौतीमा गम्भीर नहुँदा कर्मचारीलाई तलबभत्ता खुवाउनै सकस परेको छ । सरकारको सञ्चित कोष एक खर्ब ८१ अर्बले घाटामा पुगेको छ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म आठ खर्ब ४१ अर्ब खर्च गरेको सरकारले राजस्व भने सात खर्ब २० अर्ब मात्रै उठाउन सकेको छ । अर्थात् सरकारको राजस्व आम्दानी र खर्चबिच एक खर्ब ८१ अर्ब १० करोडको अन्तर छ । 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ राजस्व बढाउन नसक्ने र वैदेशिक स्रोत परिचालन गर्न नसक्ने अहिलेको अवस्थाले आगामी वर्ष झनै कष्टकर हुन सक्ने बताउँछन् । ‘पछिल्ला वर्षहरूमा हाम्रो सञ्चित कोष निरन्तर नोक्सानमा रहेको देखिन्छ । आय र व्ययबिच ठुलो खाडल छ,’ उनले भने, ‘सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह नगर्दा राजस्व आम्दानी अपेक्षाअनुसार बढ्न सकेको छैन । सरकार पनि राजस्व वृद्धिमा बल गर्नुको साटो ऋण उठाएर खर्च गर्ने सजिलो बाटोमा रमाएको छ । यसले गर्दा वित्तीय असन्तुलन बढिरहेको छ । समयमै सुधार नगरे भविष्यमा अझ आर्थिक असन्तुलनको दलदलमा फस्ने जोखिम छ ।’

सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०५७ ले मन्त्रालय/विभागको संख्या घटाउन, क्षेत्रीय कार्यालयहरू खारेज गर्न, कर्मचारीको मौजुदा दरबन्दी कटौती गर्न, मन्त्रालयपिच्छे कानुन अधिकृत नराख्न, बेरुजु गर्नेलाई जिम्मेवार बनाउन, आयोजनाको अवधि नथप्न, पाँच वर्ष पदपूर्ति नगर्नलगायत सुझाव दिएको थियो । खर्च कटौतीका लागि महत्वपूर्ण रहेका यी कुनै पनि सुझाव कार्यान्वयन नै भएनन् । यो आयोगले दिएका मुख्य ६८ सुझावमा पाँचवटा पूर्ण र २८ आंशिक कार्यान्वयनमा आए । तर, खर्च कटौतीमा खास मानिएका ३५ सुझाव भने सरकारले कार्यान्वयनमै ल्याएन । 

त्यस्तै, सरकारी बजेट व्यवस्थापन तथा खर्च प्रणाली पुनरावलोकन आयोग, २०६६ ले दिएको मुख्य ९४ सुझावमा चारवटा मात्रै पूर्ण कार्यान्वयन भए । त्यस्तै, ५६ सुझाव आंशिक कार्यान्वयन भएकामा ३४ सुझाव कार्यान्वयन हुनै सकेनन् । वित्तीय अनुशासनसम्बन्धी छाता कानुन तर्जुमा गर्नुपर्ने, नतिजामा आधारित बजेट प्रणाली अवलम्बन गर्नुपर्ने, सबै दातृ निकायहरूलाई नेपाल सरकारको कोष प्रणालीमार्फत निकासा तथा खर्च गर्न लगाउने, आर्थिक वर्षको अन्तिम चौमासिकमा बजेट विनियोजन नभएको शीर्षक र उपशीर्षकमा रकमान्तर वा स्रोतान्तर नगर्ने, आर्थिक सहायताको दुरुपयोग रोक्ने, आयोजना प्रमुख एवं कर्मचारीको चाँडो–चाँडो सरुवा नगर्ने, आयोजना बैंक तयार गरी प्राथमिकताक्रम निर्धारण गर्नेलगायत खर्च कटौतीमा कोसेढुंगा साबित हुने अधिकांश सुझाव कार्यान्वयन नै भएनन् । 

सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५ ले त मन्त्रालय संख्या नै घटाएर १६ मा झार्न सुझाव मात्रै दिएको थिएन, विभागहरू पनि ३५ मा झार्न, कर्मचारी कटौती गर्न तथा बोर्ड र समितिहरू खारेज गर्न सुझाव दिएको थियो । त्यस्तै, संघ, प्रदेश र स्थानीय तहमा क्रमशः ३५, २० र ४० गरी ९५ हजारको कुल संख्यामा नबढ्ने गरी दरबन्दी पुनर्संरचना गर्न, केन्द्र, प्रदेश सरकार र स्थानीय तहमा रहेका हालका कार्यालय संख्यालाई पुनरावलोकन गरी ३५ सय मात्र राख्न, सवारीसाधन खरिदको मापदण्ड तोकी नयाँ कार्यालयबाहेक सबै कार्यालयमा तीन वर्ष सवारीसाधन खरिद नगर्न, आर्थिक वर्षको दोस्रो चौमासिक समाप्ति अर्थात् फागुन मसान्त नसकिँदै रकमान्तर, स्रोतान्तर थप निकाशालाई पूर्ण बन्देज लगाउन पनि आयोगले सुझाव दिएको थियो । तर, ६ वर्षसम्म गोप्य राखेर बल्लतल्ल प्रतिवेदन सार्वजनिक गरे पनि सुझाव कार्यान्वयनको समीक्षा हालसम्म गरिएको छैन । उक्त आयोगका अध्यक्ष डा. डिल्लीराज खनाल अधिकांश सुझाव कार्यान्वयनमा नआएको बताउँछन् । 

‘सार्वजनिक खर्च व्यवस्थापन तथा कटौतीका लागि सरकारले पटक–पटक आयोग बनायो, तर सुझाव कार्यान्वयनमा अग्रसरता देखाएन । मेरो नेतृत्वमा ०७५ मा बनेको आयोगले दिएका सुझावसहितको प्रतिवेदन पनि दराजमा थन्क्याएर राख्यो,’ उनले भने, ‘सरकार आफैँले बनाएका खर्च कटौतीका मापदण्डसमेत कार्यान्वयन गर्न सकेको छैन । त्यसैले, सरकारलाई अहिले सार्वजनिक वित्त व्यवस्थापनमा समस्या भइरहेको छ ।’ 

आफू नेतृत्वको आयोगले खासगरी बजेट प्रणाली, खर्च प्रणाली र अनुगमनमा व्यापक सुधार गरेर सार्वजनिक खर्चलाई चुस्त, दुरुस्त र परिणाममुखी बनाउन सुझाव दिएको खनालले बताए । ‘मन्त्रालय र विभागहरूको संख्या घटाउन, बोर्ड र समितिहरू खारेज गर्न, कार्यालय र कर्मचारीको संख्या कटौती गर्न एवं नीतिगत तथा कानुनी सुधार गर्न सुझाव दिएका थियौँ । तर, एकाधबाहेक अधिकांश सुझाव कार्यान्वयन नै भएनन् । फजुल खर्च कटौती तथा मितव्ययिता नअपनाउने हो भने सरकारलाई भविष्यमा सार्वजनिक वित्त व्यवस्थापनमा समस्या आउँछ भनेर हामीले त्यतिवेलै सचेत गराएको हो,’ उनले भने, ‘नभन्दै अहिले सरकारलाई वित्त व्यवस्थापनमा समस्या परिरहेको छ । भविष्यमा यस्तो समस्या नहोस् भन्न अहिलेबाटै फजुल खर्च कटौती गर्नुपर्छ । सार्वजनिक वित्तलाई उत्पादनमुखी, परिणाममुखी र पारदर्शी नबनाउने हो भने भविष्यमा संकट आउँछ ।’ 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष श्रेष्ठ आर्थिक असन्तुलन निम्तिनुको एक प्रमुख कारण राजनीतिक दबाब र प्रभावमा अध्ययन तथा पूर्वतयारी नभएका कार्यक्रम र आयोजनामा बजेट राख्ने प्रवृत्तिलाई देखाउँछन् । ‘राजनीतिक दबाब र प्रभावमा अध्ययन तथा पूर्वतयारी नभएका कार्यक्रम र आयोजना बजेटमा राख्ने प्रवृत्ति बढेको छ । यसले एकातर्फ स्रोतमा चाप पारेको छ भने अर्कोतर्फ समयमा खर्च नहुने र प्रतिफल प्राप्त नभएको अवस्था छ । सरकार र गठबन्धन फेरिएपिच्छे कार्यक्रम र आयोजना थपघट गर्ने, एउटाले बनाएको बजेट कार्यान्वयन गर्नेवेला अर्को आइपुग्नेलगायत कारण पनि समस्या निम्तिएको छ,’ उनले भने, ‘पछिल्ला वर्षहरूमा हाम्रो सञ्चित कोष निरन्तर नोक्सानमा देखिन्छ ।

आय र व्ययबिच ठुलो खाडल छ । महालेखाले पनि प्रश्न उठाउँदै आएको छ । खासगरी सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसक्दा यस्तो भएको हो ।’ श्रेष्ठका अनुसार अर्थतन्त्र शिथिल भएको अहिलेकै अवस्थामा समेत २० खर्बभन्दा बढी राजस्व उठाउन सक्ने अध्ययनहरूले देखाएका छन् । तर, अनियमितता, मिलेमतो र राजनीतिक शक्तिका भारमा राजस्व चुहावट भइरहेको, भ्याट छली, भन्सार छली, चोरी–पैठारी विकराल बन्दै गएको उनले बताए ।

पछिल्लो ०७५ को आयोगले सुझाव कार्यान्वयन भएको अवस्थामा अध्ययन गरिएको आवसहित १० वर्षमा प्रतिवर्ष औषत १०.५ प्रतिशतका दरले आर्थिक वृद्धिदर हासिल गर्न सकिने, सिमान्त पुँजीको प्रतिफल तत्कालीन समयको ५.२ः१ बाट क्रमशः घटेर ४.१ः१ मा झर्ने अनुमान गरेको थियो । त्यस्तै, कुल गार्हस्थ उत्पादनको तुलनामा सरकारी क्षेत्रको न्यून लगानी अनुपात ७.८ प्रतिशतबाट बढेर आव ०८४/८५ मा १६.५ प्रतिशत पुग्ने र कुल खर्चमा चालू खर्चको हिस्सा त्यतिबेलाको ६४–६५ प्रतिशतबाट ५७–५८ प्रतिशतमा झर्ने अनुमान पनि गरिएको थियो । 

समग्रमा पुँजीगत खर्चको तत्कालीन २५ प्रतिशतको हिस्सालाई ०८४/८५ मा पुग्दा करिब ३५.६ प्रतिशतमा पुर्‍याउन सकिने आयोगको प्रतिवेदनमा उल्लेख छ । कुल गार्हस्थ उत्पादनको तुलनामा आन्तरिक राजस्वको अनुपात क्रमशः वृद्ध हुँदै गई ०८४/८५ मा करिव ३४.५ प्रतिशतको हारहारीमा पुग्ने अनुमान आयोगको थियो । नयाँ गाडी र फर्निचर खरिद नगर्नेदेखि परामर्श सेवा नलिनेसम्मका मापदण्ड बन्छ, कार्यान्वयन भने हुँदैन सरकारले सार्वजनिक खर्चलाई मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउने भन्दै पटक–पटक मापदण्डसमेत बनाउने गरेको छ । तर, कार्यान्वयन भने नहुँदा देखाउनका लागि मात्रै मापदण्ड बनाइएको आरोप लाग्ने गरेको छ । 

पछिल्लोपटक गत २३ माघमा सरकारले ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०८१’ जारी गर्‍यो । तर, कार्यान्वयन गर्ने कर्मचारीलाई ‘उम्कने बाटो’ तथा तजबिजी दिएर मापदण्ड फितलो बनाइएको छ । सार्वजनिक खर्च कटौटीका लागि भन्दै नयाँ गाडी, फर्निचर तथा पत्रपत्रिका खरिदमा रोक लगाउनेदेखि परामर्श सेवा लिन नपाइनेसम्मका मापदण्ड बनाइएको भए पनि कार्यान्वयनमा आउने छाँटकाँट देखिएको छैन । 

यसअघि ०७८ कात्तिकमा पनि सरकारले यस्तै मापदण्ड जारी गरेको थियो । अर्थ मन्त्रालयले सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०७८ जारी गर्दै सरकारी निकायलाई नयाँ गाडी, फर्निचर किन्न तथा परामर्श सेवा लिन रोक लगाएको थियो । तर, कार्यान्वय भने भएन । कटौती गर्ने भनिएकै शीर्षकमा त्यसयता अर्बौँ खर्च भइरहेको सरकारी तथ्यांक छ । 

चालू आर्थिक वर्षमा मात्रै सरकारले सेवा तथा परामर्श खर्चतर्फ १२ अर्ब ५३ करोड ४६ लाख, फर्निचरतर्फ एक अर्ब १९ करोड ८३ लाख, सवारीसाधन खरिदतर्फ एक अर्ब १३ करोड ८३ लाख र सवारीसाधन मर्मत तथा सञ्चालनतर्फ ६ अर्ब ८२ करोड ७१ लाख विनियोजन गरेको छ । गत आर्थिक वर्ष ०८०/८१ मा पनि सरकारले सेवा तथा परामर्श खर्चतर्फ ११ अर्ब ६ करोड सात लाख, फर्निचरतर्फ ९१ करोड २३ लाख, सवारीसाधन खरिदतर्फ १२ करोड ७० लाख, सवारीसाधन मर्मत तथा सञ्चालनतर्फ पाँच अर्ब ६८ करोड ९४ लाख खर्च हुने संशोधित अनुमान छ । उक्त वर्ष यी शीर्षकमा कति खर्च भयो भन्ने अन्तिम तथ्यांक आगामी बजेटमा आउँछ । ०७९/८० मा सरकारले सेवा तथा परामर्श खर्चतर्फ नौ अर्ब ४१ करोड एक लाख, फर्निचरतर्फ ९० करोड ७० लाख, सवारीसाधन खरिदतर्फ एक अर्ब ४९ करोड ३८ लाख, सवारीसाधन मर्मत तथा सञ्चालनतर्फ पाँच अर्ब ६६ करोड ४२ लाख खर्च गरेको थियो । यी शीर्षकमा बर्सेनि खर्च बढेको तथ्यांकले देखाउँछ ।

१८ वर्षमा तीन आयोग : कर्मचारीको दरबन्दी कटौतीदेखि मन्त्रालय संख्या घटाउनसम्मका सुझाव, तर टेरेन सरकारले

  • सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०५७ ले मन्त्रालय÷विभागको संख्या घटाउन, क्षेत्रीय कार्यालयहरू खारेज गर्न, कर्मचारीको मौजुदा दरबन्दी कटौती गर्न, मन्त्रालयपिच्छे कानुन अधिकृत नराख्न, बेरुजु गर्नेलाई जिम्मेवार बनाउन, आयोजनाको अवधि नथप्न, पाँच वर्ष पदपूर्ति नगर्नलगायत सुझाव दिएको थियो । खर्च कटौतीका लागि महŒवपूर्ण रहेका यी कुनै पनि सुझाव कार्यान्वयन नै भएनन् । यो आयोगले दिएका मुख्य ६८ सुझावमा पाँचवटा पूर्ण र २८ आंशिक कार्यान्वयनमा आए । तर, खर्च कटौतीमा खास मानिएका ३५ सुझाव भने सरकारले कार्यान्वयनमै ल्याएन । 
  • सरकारी बजेट व्यवस्थापन तथा खर्च प्रणाली पुनरावलोकन आयोग, २०६६ ले दिएको मुख्य ९४ सुझावमा चारवटा मात्रै पूर्ण कार्यान्वयन भए । त्यस्तै, ५६ सुझाव आंशिक कार्यान्वयन भएकामा ३४ सुझाव कार्यान्वयन हुनै सकेनन् । वित्तीय अनुशासनसम्बन्धी छाता कानुन तर्जुमा गर्नुपर्ने, नतिजामा आधारित बजेट प्रणाली अवलम्बन गर्नुपर्ने, सबै दातृ निकायहरूलाई नेपाल सरकारको कोष प्रणालीमार्फत निकासा तथा खर्च गर्न लगाउने, आर्थिक वर्षको अन्तिम चौमासिकमा बजेट विनियोजन नभएको शीर्षक र उपशीर्षकमा रकमान्तर वा स्रोतान्तर नगर्ने, आर्थिक सहायताको दुरुपयोग रोक्ने, आयोजना प्रमुख एवं कर्मचारीको चाँडो–चाँडो सरुवा नगर्ने, आयोजना बैंक तयार गरी प्राथमिकताक्रम निर्धारण गर्नेलगायत खर्च कटौतीमा कोसेढुंगा साबित हुने अधिकांश सुझाव कार्यान्वयन नै भएनन् । 
  • सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५ ले त मन्त्रालय संख्या नै घटाएर १६ मा झार्न सुझाव मात्रै दिएको थिएन, विभागहरू पनि ३५ मा झार्न, कर्मचारी कटौती गर्न तथा बोर्ड र समितिहरू खारेज गर्न सुझाव दिएको थियो । त्यस्तै, संघ, प्रदेश र स्थानीय तहमा क्रमशः ३५, २० र ४० गरी ९५ हजारको कुल संख्यामा नबढ्ने गरी दरबन्दी पुनर्संरचना गर्न, केन्द्र, प्रदेश सरकार र स्थानीय तहमा रहेका हालका कार्यालय संख्यालाई पुनरावलोकन गरी ३५ सय मात्र राख्न, सवारीसाधन खरिदको मापदण्ड तोकी नयाँ कार्यालयबाहेक सबै कार्यालयमा तीन वर्ष सवारीसाधन खरिद नगर्न, आर्थिक वर्षको दोस्रो चौमासिक समाप्ति अर्थात् फागुन मसान्त नसकिँदै रकमान्तर, स्रोतान्तर थप निकासालाई पूर्ण बन्देज लगाउन पनि आयोगले सुझाव दिएको थियो । तर, ६ वर्षसम्म गोप्य राखेर बल्लतल्ल प्रतिवेदन सार्वजनिक गरे पनि सुझाव कार्यान्वयनको समीक्षा हालसम्म गरिएको छैन ।

खर्च कटौती नगरे सार्वजनिक वित्त व्यवस्थापनमा संकट आउँछ
 डा. डिल्लीराज खनाल, अध्यक्ष,सार्वजनिक खर्च पुनरावलोकन आयोग

सार्वजनिक खर्च व्यवस्थापन तथा कटौतीका लागि सरकारले पटक–पटक आयोग बनायो, तर सुझाव कार्यान्वयनमा अग्रसरता देखाएन । मेरो नेतृत्वमा ०७५ मा बनेको आयोगले दिएका सुझावसहितको प्रतिवेदन पनि दराजमा थन्क्याएर राख्यो । सरकार आफैँले बनाएका खर्च कटौतीका मापदण्डसमेत कार्यान्वयन गर्न सकेको छैन । त्यसैले, सरकारलाई अहिले सार्वजनिक वित्त व्यवस्थापनमा समस्या भइरहेको छ । फजुल खर्च कटौती तथा मितव्ययिता नअपनाउने हो भने सरकारलाई भविष्यमा सार्वजनिक वित्त व्यवस्थापनमा समस्या आउँछ भनेर हामीले त्यतिवेलै सचेत गराएको हो । नभन्दै अहिले सरकारलाई समस्या परिरहेको छ । अब पनि खर्च कटौती नगरे भविष्यमा संकट आउँछ ।

समयमै सुधार नगरे आर्थिक असन्तुलनको दलदलमा फस्ने जोखिम छ
मीनबहादुर श्रेष्ठपूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग 

पछिल्ला वर्षहरूमा हाम्रो सञ्चित कोष निरन्तर नोक्सानमा रहेको देखिन्छ । आय र व्ययबिच ठुलो खाडल छ । सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह नगर्दा राजस्व आम्दानी अपेक्षाअनुसार बढ्न सकेको छैन । सरकार पनि राजस्व वृद्धिमा बल गर्नुको साटो ऋण उठाएर खर्च गर्ने सजिलो बाटोमा रमाएको छ । यसले गर्दा वित्तीय असन्तुलन बढिरहेको छ । समयमै सुधार नगरे भविष्यमा अझ आर्थिक असन्तुलनको दलदलमा फस्ने जोखिम छ ।

दुई दशकमा तीन आयोग, कुन आयोगका कस्ता सुझाव ?
सार्वजनिक खर्च 
पुनरावलोकन आयोग, २०७५

  • मन्त्रालय संख्या घटाएर १६ र विभागहरू ३५ मा झार्नुपर्ने, कर्मचारी कटौती गर्नुपर्ने, बोर्ड र समितिहरू खारेज गर्नुपर्ने । 
  • संघ, प्रदेश र स्थानीय तहमा क्रमशः ३५, २० र ४० गरी ९५ हजारको कुल संख्यामा नबढ्ने गरी दरबन्दी पुनर्संरचना गर्नुपर्ने, केन्द्र, प्रदेश सरकार र स्थानीय तहमा रहेका हालका कार्यालय संख्यालाई पुनरावलोकन गरी ३५ सय मात्र राख्नुपर्ने । 
  • सवारीसाधन खरिदको मापदण्ड तोकी नयाँ कार्यालयबाहेक सबै कार्यालयमा तीन वर्ष सवारीसाधन खरिद नगर्ने, आर्थिक वर्षको दोस्रो चौमासिक समाप्ति अर्थात् फागुन मसान्त नसकिँदै रकमान्तर, स्रोतान्तर थप निकासालाई पूर्ण बन्देज लगाउनुपर्ने । 
  • सवारीसाधन सुविधा पाउने पदाधिकारीहरूलाई एकपल्ट उपलब्ध गराएपछि १२ वर्षसम्म सोही साधन उपयोग गर्ने व्यवस्था गर्नुपर्ने । 
  • शाखा अधिकृतदेखि माथिका पदाधिकारीलाई ल्यापटप उपलब्ध गराउने, ल्यापटप दिएपछि डेक्सटप नदिने, एकपटक ल्यापटप उपलब्ध गराएपछि ६ वर्षसम्म नदिने । 
  • सबै प्रकारका अनुदानलाई क्षमता विकास, उत्पादनशीलता अभिवृद्धि, कल्याणकारी सेवामा वर्गीकरण गरी वितरणका ठोस आधारसहितको सरकारी अनुदान वितरण ऐन बनाई लागू गर्नुपर्ने । 
  • योगदानमा आधारित निवृत्तिभरण प्रणाली निजामती, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, विद्यालय र महाविद्यालयका शिक्षकहरूका लागि पनि लागू गर्नुपर्ने । 
  • सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत र प्रभावकारी बनाउन अनिवार्य । यसका लागि सामाजिक सुरक्षासम्बन्धी एकीकृत नीति तयार गरी सबै नेपालीले जीवन निर्वाहका लागि आवश्यक रकम पाउने सुनिश्चिततासहितको योजना लागू गर्नुपर्ने । 
  • अनुदानलक्षित वर्ग स्पष्ट गरी लाभान्वित वर्गको संख्या र सुरक्षा दायित्वको सीमा गणना गर्नुपर्ने । 
  • बजेटमा परियोजना समावेश गर्दा मासिक खरिद योजना र वास्तविक चौमासिक बजेट योजना पेस गर्नुपर्ने । 
  • चालू खर्चलाई कुल गार्हस्थ्य उत्पादनको निश्चित अनुपातमा राख्नुपर्ने, निश्चित विधि र मापदण्डका आधारमा समग्र चालू खर्च र खर्च वर्गीकरण प्रक्षेपणको थालनी र संस्थागत व्यवस्था गर्नुपर्ने । 
  • १५ जेठदेखि १ साउनसम्म कार्यालय, मानव संसाधनको तयारी, कागजात, सूचना प्रकाशनजस्ता आन्तरिक तयारी गर्नुपर्ने । 
  • आर्थिक वर्ष सुरु भएपछि तुरुन्त खरिद प्रक्रिया सुरु गरेर ७० दिनभित्र करार सम्झौता सम्पन्न गर्नुपर्ने । 
  • भौतिक पूर्वाधारको कार्य गर्ने निकायहरूले निर्माण कार्यको अभिलेख दैनिक रूपमा प्रमाणित गर्ने व्यवस्था गर्नुपर्ने । 
  • र्माण व्यवसायीले बिल पेस गरेको मितिले १५ दिनभित्रै भुक्तानी पाउने वा निजको खातामा रकम जम्मा हुने व्यवस्था गर्नुपर्ने । 
  • तोकिएको कार्यतालिकाअनुसार कार्यसम्पन्न नगर्ने, म्याद थपको मनासिव कारण नहुने, मूल्य समायोजनको आधारभूत प्रमाणविना भुक्तानी गर्नेदेखि कमजोरीका कारण दाबी गर्न रकम तिर्नुपर्ने अवस्था आएमा सिफारिस, प्रमाणित, स्वीकृत गर्ने तथा भुक्तानी गर्ने सबैबाट खर्च असुलउपर गर्ने प्रावधान आर्थिक कार्यविधि ऐन तथा सार्वजनिक खरिद ऐनमा गर्नुपर्ने । 
  • ०५२/५३ देखि नै बजेट वक्तव्यमार्फत घोषणा गरिएको, तर हालसम्म पनि कानुन नबनेको अवस्थामा ‘खर्च उत्तरदायी वा जवाफदेहिता’ कानुन तत्काल बनाई लागू गर्नुपर्ने । 
  • अनिवार्य दायित्वको रूपमा रहेको साँवा–ब्याज भुक्तानीलाई अर्को आवहरूमा सार्ने तथा निवृत्तिभरण कोषको व्यवस्था नगरी रकम छुट्याउने कार्य रोक्नुपर्ने । 

 सरकारी बजेट व्यवस्थापन तथा खर्च प्रणाली पुनरावलोकन आयोग, २०६६ 

  • विकास कार्यक्रम तथा आयोजनामा सार्वजनिक खर्चको उपयोग सम्बन्धमा नतिजामूलक बजेट निर्माण गर्नुपर्ने । 
  • केन्द्रीयस्तर र जिल्लास्तरमा आयोजना छुट्याउन स्पष्ट आधार निर्धारण गरी कार्यान्वयन गर्नुपर्ने । 
  • आयोजना तथा कार्यक्रम सुरु भएको वर्ष र सम्पन्न हुने वर्ष उल्लेख गर्नुपर्ने । 
  • आयोजना बैंक तयार गरी प्राथमिकताक्रम निर्धारण गरी आयोजना छनोट गर्नुपर्ने ।
  • नियमित गर्नुपर्ने मर्मत–सम्भारका लागि बजेट विनियोजन गर्नुपर्ने । 
  • बजेट विनियोजन गर्दा सञ्चालन गर्ने निकायसँग बजेट खर्च गर्ने क्षमता हेर्नुपर्ने ।
  • सार्वजनिक खर्च व्यवस्थापन सम्बन्धमा वित्तीय अनुशासनसम्बन्धी छाता कानुन तर्जुमा गर्नुपर्ने ।
  • नतिजामा आधारित बजेट प्रणाली अवलम्बन गर्नुपर्ने । 
  • दातृ निकायहरूलाई सरकारको कोष प्रणालीमार्फत निकासा तथा खर्च गर्न लगाउने । 
  • आर्थिक वर्षको अन्तिम चौमासिकमा बजेट विनियोजन नभएको शीर्षक र उपशीर्षकमा रकमान्तर वा स्रोतान्तर नगर्ने ।
  • गैरसरकारी संस्थामार्फत भित्रिने रकमलाई नियमन गर्नुपर्ने । 
  • आर्थिक अनियमितता तथा बेरुजु फस्र्योटका लागि बेरुजु फस्र्योट समितिको कार्यक्षेत्रमा विस्तार, लेखा उत्तरदायी अधिकृतको जिम्मेवारी किटान गर्ने ।
  • आर्थिक सहायताको दुरुपयोग रोक्ने ।
  • राष्ट्रिय आवश्यकता तथा प्राथमिकता प्राप्त क्षेत्रमा मात्र वैदेशिक सहायता परिचालन गर्ने, समयमा शोधभर्ना हुनुपर्ने । 
  •  सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०५७ 
  • सांगठनिक सुधार सम्बन्धमा मन्त्रालय तथा विभागको संख्या घटाउने, क्षेत्रीय कार्यालयहरू खारेज गर्ने, एकीकृत सेवा प्रदान गर्ने, एउटै निर्माण कार्यालय राख्ने, दरबन्दी घटाउने । 
  • राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा बजेट विनियोजन गर्ने, विगत वर्षमा कम खर्च गरेका आयोजनालाई स्रोत ओगट्न नदिने । 
  • आयोजनाको अवधि नथप्ने ।
  • कर्मचारीको मौजुदा दरबन्दीमा कटौती गर्ने, कानुन अधिकृत मन्त्रालयपिच्छे नराख्ने, पाँच वर्ष पदपूर्ति नगर्ने । 
  • कार्यसम्पादनमा आधारित विनियोजन प्रणाली अवलम्बन गर्ने ।
  • बेरुजु कम गर्न संस्थागत र प्रक्रियागत व्यवस्था गरी बेरुजु गर्नेलाई जिम्मेवार बनाउने ।