
काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहीबार बिहानैदेखि सामान्य वर्षा भइरहेको छ । आज मध्याह्न, अपराह्न र राति पनि सामान्य रूपमा वर्षा हुने मौसमविद् डेभिड ढकालले बताए । वर्षासँगै काठमाडौं उपत्यकाको साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रूपमा हट्ने ढकालले बताए ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का वर्षा एवं हिमपात पनि हुन सक्नेछ ।
महाशाखाका अनुसार आज दिउँसो बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरू मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यसैगरी, आज राति सोही प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बझाङमा चट्याङ लागेर एकको मृत्यु
यसैगरी, बझाङमा चट्याङ लागेर एकजनाको निधन भएको छ । बुधबार साँझ बित्थडचिर गाउँपालिका– ३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए । जिल्लामा लगातार पानी र अझै चट्यानको जोखिम भएको हुँदा सबैलाई सतर्क रहन पनि उनले आग्रह गरे ।
जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध
यहाँको केदारस्यूँ गाउँपालिका– ९ को पौडी ढोड्याखेत बजारनजिकै जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बुधबार साँझको पानीपछि पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
यस्तै, बित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । सडक अवरुद्ध भएसँगै सञ्चालनका लागि जेसिबी पठाइएको प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले जानकारी दिए । रासस