
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। आज बुधबार नेप्से परिसूचक ९.६६ अंकले बढेर दुई हजार ७७६.२८ को विन्दुमा कायम भएको हो।
आज ३१७ कम्पनीको एक करोड ७३ हजार ८२२ कित्ता सेयर ४५ हजार ९४ पटक खरिद–बिक्री हुँदा रु. चार अर्ब ४८ करोड ४६ लाख १९ हजार ७४० बराबरको कारोबार भएको छ।
आजको कारोबारमा बैंकिङ र व्यापारबाहेक सबै समूहको उपसूचक हरियो देखिएको छ। बैंकिङ समूह ०.०३ र व्यापार समूह ०.४० प्रतिशतले घटेको हो। सबैभन्दा बढी होटेल तथा पर्यटन २.४४, लगानी १.४८ र उत्पादन तथा प्रशोधन १.३६ प्रतिशतले बढेको छ।
विकास बैंक ०.२९, वित्त ९.३४, जलविद्युत् ०.०८ र जीवन बिमा ०.२२ प्रतिशतले बढेको छ। त्यस्तै, लघुवित्त ०.२२, म्युचुअल फन्ड ०.५९, निर्जीबन बिमा समूह ०.५६ र अन्य समूह ०.३६ प्रतिशतले बढेको छ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने सिन्धु विकास बैंक लिमिटेडको सेयर मूल्य ८.०५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु. ४२ करोड ७५ लाख ६८ हजार ४७७ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी कुमारी इक्विटी फन्डको १० लाख १० हजार १७६ कित्ता सेयर किनबेच भएको छ। रासस