
प्रधानमन्त्री केपी ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि तपोभूमि सम्मेलनको उद्घाटन गरेका छन्।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीतिनिर्मातालगायतको उपस्थिति रहेको छ। कार्यक्रम लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा भएको हो।
विश्वको प्राचीन संस्कृत भाषाको व्याकरणको उत्पत्ति भएको ऐतिहासिक स्थल पाणिनिलाई विश्वसामु चिनाउन पाणिनि तपोभूमि सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपाली कांग्रेसका नेताद्वय डा. चन्द्र भण्डारी र पुष्पा भुसाल, प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेलगायतको उपस्थिति छ।
अर्घाखाँचीको पणेना (हालको पाणिनि गाउँपालिका)मा सिद्धेश्वर दहनजिकै पाणिनि ऋषिले २८ दिनसम्म कठोर तपस्या गरेकाे किंवदन्ती छ। पहिले सागपात, पछि जल र अन्तमा वायु मात्र सेवन गरी गरेको तपस्याले महादेव प्रसन्न भई ताण्डव नृत्यका क्रममा डमरुको तालमा १४ माहेश्वर सूत्र प्रदान गरेको किंवदन्ती छ।
यसैबिच प्रधानमन्त्री ओलीले पाणिनि गाउँपालिका– १ स्थित पाणिनि तपोभूमिमा महर्षि पाणिनि मन्दिरको शिलान्यास गरेका छन्। उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालय, रुपन्देहीको लगानीमा निर्माण हुन लागेको मन्दिरको शिलान्यास गरिएको हो।
पाणिनिलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित २७ लाख ४५ हजार ७२६ रुपैयाँ लागतमा मन्दिर बनाउन लागिएको हो।