१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सेनिटरी प्याड खरिदमा ५२ लाख भ्रष्टाचार गरेको आरोपमा कलैयाका प्रमुख प्रशासकीयसहित पाँचविरुद्ध मुद्दा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३३:oo

सेनिटरी प्याड खरिदमा करिब ५२ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रहलाद प्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो। कर्मचारीसँग मिलेमतो गरेर लभ्रष्टाचारमा संलग्न भएको आरोपमा अख्तियारले सागरदेवी फर्मा हेटौंडा र त्यसका प्रोप्राइटर विमलेश शाहलाई पनि प्रतिवादी कायम गरेको छ।

आव ०७७/७८ र ०७८/७९ का लागि सेनिटरी प्याड खरिद गर्दा कर्मचारी र आपूर्तिकर्ता कम्पनी सागरदेवी फर्माले मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ। फर्मा र त्यसका प्रोप्राइटर शाहसँगको मिलोमतोमा आव ०७७/७८ मा सेनिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद नियमावली एवं सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि पालना नगरी उपमहानगरका कर्मचारीले अस्वभाविक मूल्य कायम गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

१९ मंसिर ०७७ को टिप्पणी निर्णयबाट सेनिटरी प्याडको प्रति प्याकेट मूल्य ७९.१ रुपैयाँ कायम गरिएको थियो । जुन मूल्य अस्वभाविक हो । टिप्पणी निर्णयबाट लागत इस्टिमेट स्वीकृत गराइएको थियो । यता फर्मा सञ्चालक शाहले राष्ट्रसेवकसँग मिलेमतो गरी एकै परिवारको नाममा रहेका तीन फरक फर्महरूको बोलपत्र पेश गरेको देखिएको छ । त्यसमा प्रति प्याकेट सेनिटरी प्याडको मूल्य ७८ रुपैयाँ कायम गरी उपमहानगरले ठेक्का दियो।
 
तर, पछिल्लो आवमा त्यही सेनिटरी प्याडको खरिद निकै कम दरमा भयो । ०७८/७९ मा सोही कम्पनीको सेनिटरी प्याड प्रति प्याकेट २४ रुपैयाँमा खरिद गरेको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। पछिल्लो वर्षको खरिद हेर्दा अघिल्लो वर्षभन्दा निकै कम दर पाएपछि अख्तियारले यसैको आधारमा मुद्दा दायर गरेको हो।

अघिल्लो वर्ष प्रतिप्याकेटमा ५४ रुपैयाँ बढीका दरले ९६ हजार २८० प्याकेटको जम्मा ५१ लाख ९९ हजार १२० रुपैयाँ बढी भुक्तानी भएको अख्तियारले जनाएको छ । पछिल्लो वर्षको तुलनामा बढी भुक्तानी देखिएको रकमलाई नै अख्तियारले भ्रष्टाचार कायम गरेको छ। यसमा संलग्न तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वर्णवालसहित अन्य कर्मचारी अधिकारी, ठाकुर र सर्राफविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो। हिनामिना भएको रकमलाई नै संयुक्त बिगो कायम गरेर उनीहरूलाई अख्तियारले प्रतिवादी कायम गरेको छ।

राष्ट्रसेवकसँगको मिलोमतोमा सेनिटरी प्याड खरिद गर्दा बढी भुक्तानी लिएको आरोपमा कसुर कायम गरेर अख्तियारले फर्मा र फर्माका प्रोप्राइटर शाहलाई पनि प्रतिवादी कायम गरेको छ। कसुरको नगद तथा अन्य गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई कार्य गरेको अख्तियारको आरोप छ। उनीविरुद्ध पनि ५१ लाख ९९ हजार १२० रुपैयाँ नै बिगो कायम गरेर अख्तियारले मुद्दा दायर गरेको छ।