१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २६ मंगलबार
  • Friday, 18 April, 2025
२o८१ चैत २६ मंगलबार १५:५१:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

कमला पुलबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन कालो झन्डा प्रदर्शन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २६ मंगलबार १५:५१:oo

पूर्व–पश्चिम हुलाकी सडक खण्डमा अलपत्र अवस्थामा रहेको कमला पुलको अवस्थाबारे प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण गराउन सिराहा नगरपालिका– ६ बसबिट्टाका जनप्रतिनिधि र स्थानीय युवाहरूले कालो झन्डा प्रदर्शन गरेका छन्।

सिराहा– ६ का वडाध्यक्ष इन्द्रजित यादवको नेतृत्वमा स्थानीय युवाले कमला पुल पुनर्निर्माणको माग गर्दै मंगलबार दिउँसो कालो झन्डा प्रदर्शन गरेका हुन्। यादवले सत्तारूढ दल नेकपा एमालेका अध्यक्षसमेत रहेका  प्रधानमन्त्री ओलीले करिब ६ वर्षअघि गरेको प्रतिबद्धता स्मरण गराउँदै पुनर्निर्माणको काम छिटो सिध्याउन कालो झन्डा प्रदर्शन गरेको बताए।

‘हेलिकाेप्टर चढेर सिराहा आउने प्रधानमन्त्री ओलीले कालो झँडा त देख्दैनन्, तर उनका पार्टीका नेता–कार्यकर्ता कार्यक्रममा सहभागी हुन जाने भएकाले सांकेतिक विरोधस्वरूप दबाबका लागि कालो झन्डा देखाइएको हो,’ सिराहा– ६ बसबिट्टाका वडाध्यक्ष इन्द्रजित यादवले भने। प्रधानमन्त्री ओली मंगलबार दिउँसो एमालेको ११औँ जिल्ला अधिवेशन उद्घाटन गर्न सिारहा आएका छन्। 

गत फागुनको तेस्रो हप्ता तराई–मधेश जागरण अभियान हुलाकी सडक हुँदै धनुषा प्रवेश गर्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि स्थानीय युवाहरूले कमला पुल मन्त्री, सांसद र नेताहरूको भाषण गर्ने विषय मात्र बनेको गुनासो गरेका थिए। सत्ताबाहिर रहुन्जेल जोडतोडले कुरा गर्ने, तर सत्तामा पुगेपछि बिर्सिने नेताहरूको रवैयाले स्थानीय जनताले सास्ती भोगिरहेको गुनासो गर्दै उनीहरूले कमला पुलको पुनर्निर्माण सुस्त हुँदा स्थानीय नागरिकले सास्ती झेल्नुपरेको दुःखेसो गरेका थिए।

सिराहाको चन्द्र (प्राविधिक) माविमा १९ माघ ०७५ मा आयोजित सहिद हेमनारायण यादवको स्मृतिलाई सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले २ वैशाख ०७७ भित्र नै पुलको काम सम्पन्न हुने दाबी गर्दै भनेका थिए, ‘पुलसँगै हुलाकी सडक पनि युद्धस्तरमा बनाइनेछ, मुलुकको कार्यकारी प्रमुख र विभागीय मन्त्रीले कबाेल गरेपछि पुल र सडकका लागि भोको पेटमा अब अनशन बस्नुपर्दैन।’ 

बाँसको पुल र डुंगाकै भर
प्रधानमन्त्री ओलीले कबाेल गरेको करिब ६ वर्ष बित्दै गर्दा अझै पूर्वी धनुषा र सिराहासहित हुलाकी सडक हुँदै ओहोरदोहोर गर्नेहरू वर्षौँदेखि हिउँदमा बाँसको अस्थायी पुल र बर्खामा डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। सिराहा नगरपालिका– ६ बसबिट्टा र धनुषाको कमला नगरपालिका– ५ जोड्ने पुलको दक्षिणतर्फ बाँसमा मोटो प्लाई राखेर सञ्चालन गरिएको अस्थायी पुलबाट वारपार गर्न मोटरसाइकललाई २० रुपैयाँ शुल्क लगाइएको छ।

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर रञ्जितकुमार रायका अनुसार डिजाइन र निर्माण दुवै काम गर्दै आएको ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्सले आगामी बर्खा लाग्नुअघि काम सक्ने गरी पुनः निर्माण थालेको भने पनि काम सुस्त रहेको स्विकारे। बिल्डर्सलाई अन्तिमपटकका लागि ०८२ असारसम्मको म्याद थप गरिएको जानकारी दिँदै उनले भने, ‘भासिएको पायाको बिमा रकमबारे बिमा कम्पनी र निर्माण व्यवसायीबिचको मुद्दा छिनोफानो नहुँदा पनि समस्या भएको भन्ने सुनेको छु।’

उनका अनुसार कुल १२ वटा स्पान र १३ पिल्लर रहेको पुलको पूर्वपट्टि भासिएको पायाको डिजाइन परिवर्तनपछि तीनवटा पिल्लरको सट्टा एउटै पिल्लर बनाएर १२ वटा फलामको बिममा दुईवटा स्ल्याब राखिनेछ। तर, पश्चिमतर्फ भासिएको पायाको माटो परीक्षणपछि डिजाइन स्वीकृत भए पनि निर्माण व्यवसायीले काम थालेका छैनन्।  

कमला नदीमा ४६९.२ मिटर लामो पुल बनाउन ३१ जेठ ०६८ मा भएको सम्झौताअनुसार ३० मंसिर ०७१ सम्म निर्माण सम्पन्न गर्ने म्याद पटक–पटक थप हुँदै अन्तिम सम्झौताअनुसार ३० असार ०८० तोकिएको थियो। मूल्य अभिवृद्धि कर (भ्याट)सहित कुल २४ करोड ९० लाख ९७ हजार दुई सय रुपैयाँमा ठेक्का लिएको पप्पु लुम्बिनी जेभीले साढे तीन वर्षमा निर्माण गर्नुपर्ने पुल अलपत्र पारेसँगै पप्पु कालोसूचीमा परेकाे थियाे। त्यसपछि बाँकी काम लुम्बिनीले गर्दै आएको थियो। २४ वैशाख ०८० मा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र बिल्डर्सबिच ०८१ असार मसान्तसम्म भासिएको पुलको पुनर्निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो।